डेंगु रोगले वडा सदस्यको निधन



रामपुर, पाल्पा ।

रम्भा गाउँपालिका–१ का वडा सदस्य हुमबहादुर सिंजालीको निधन भएको छ । डेंगुका कारण उपचारका क्रममा ५७ वर्षीय सिंजालीको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि मिसन अस्पताल तानसेनमा उपचाररत सिंजालीलाई मङ्गलबार अस्पतालले डेंगु रोग लागेको जानकारी दिएपछि थप उपचारका लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगिएको थियो ।

उपचारका क्रममा मङ्गलबार साँझ निधन भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । सिंजालीको आज कालीगण्डकीस्थित करौदी खोलाघाटमा दाहसंस्कार गरिएको छ ।

वडा सदस्य सिंजालीको निधनमा दुख व्यक्त गर्दै गाउँपालिकाले आज पालिका कार्यालय तथा वडा कार्यालयमा शोक बिदा दिएको छ । सिंजाली गत स्थानीय तहको चुनावमा नेकपा ९एमाले०बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्