काठमाडौं
क्यानडाको क्युबेकस्थित प्याले दे कङ्ग्रे द मोन्ट्रियलमा जारी दुई दिने अन्तर्राष्ट्रिय पर्यटन प्रदर्शनीमा क्यानडाली पर्यटकहरू नेपाल भ्रमणमा उत्सुकता देखाएका छन्। शनिबारदेखि शुरु भएको ३६औँ अन्तर्राष्ट्रिय पर्यटन तथा यात्रा प्रदर्शनी (एसआईटीभी) मा उनीहरूले नेपालको हिमाली पदयात्रा, साहसिक पर्यटन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र सम्पदाबारे उत्सुकता देखाएको प्रदर्शनीमा सहभागी नेपाली पर्यटन कम्पनी एभरेस्ट पायोनियर ट्रेक नेपाल प्रमुख कार्यकारी अधिकृत सहदेव श्रेष्ठले बताउनुभयो।एक्स्पो मिडिया इंकले आयोजना गरेको प्रदर्शनीमा विश्वका विभिन्न देशका पर्यटन गन्तव्य, ट्राभल कम्पनी, पर्यटन व्यवसायी तथा विज्ञहरूको सहभागिता छ। आयोजकका अनुसार प्रदर्शनीमा सयौँ प्रदर्शक र विभिन्न महादेशका पर्यटन क्षेत्रका विज्ञहरू सहभागी छन्।

श्रेष्ठका अनुसार एभरेस्ट पायोनियर ट्रेकले सन् २०१८ देखि क्यानडामा आयोजना हुने अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएको छ। यसपटक पनि छैंटौं पटक उक्त कम्पनीले क्यानडामा आयोजित प्रदर्शनीमा सहभागिता जनाएको हो। कम्पनीले यस्ता कार्यक्रममा आफ्नै लगानीमा सहभागिता जनाउँदै आएको जनाएको छ।
कम्पनीको दाबीअनुसार यस प्रदर्शनीमा नेपालको प्रतिनिधित्व गर्ने यो एकमात्र टुर अपरेटर हो। सरकारी निकायको औपचारिक सहभागिताभन्दा निजी क्षेत्रको पहलमा नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने प्रयासका रूपमा यसलाई हेरिएको छ। नेपालको पर्यटन बजार विस्तारका लागि क्यानडालगायतका मुलुकमा प्रत्यक्ष सम्पर्क र प्रचारप्रसार आवश्यक भइरहेका बेला निजी पर्यटन व्यवसायीको यस्तो सहभागिताले नयाँ सम्भावना खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया