चाडबाडमा विपत्ति



बडादशैं २०७८ आज कोजाग्रत पूर्णिमासँगै सकिएको छ । तर, कोभिडको संक्रमण सकिएको छैन । करिब डेढ वर्षअघि शुरू भएको कोभिड–१९ को संक्रमण आजको मितिसम्म आइपुग्दा कहिले घट्ने र कहिले बढ्ने क्रम जारी छ । समग्रमा यस महामारीले राष्ट्रिय, सामाजिक तथा व्यक्तिगत जिन्दगीमा ठूलो असर पारेको छ । दशैंको बीचमा अप्रत्यासितरूपमा शुरू भएको झरी अर्को समस्या बनेर आयो । खास गरी बझाङ जिल्ला नराम्रोसँच प्रभावित हुन पुगेको छ । सेती नदीमा आएको बाढीले बस्ती डुबाएको समाचार छ ।

भौगोलिक विविधताको सुन्दर पक्ष हुँदाहुँदै पनि प्राकृतिक विपत्तिहरुको शिकार बनिरहनुपर्ने बाध्यताले वर्षायाममा प्रभावित हुनु त नेपालको नियति नै थियो, तर वर्षा ऋतुको हिलोमैलो पन्छाएर मनाइने दशैंमा पनि नेपालीले दैवी प्रकोपबाट मुक्ति पाएनन् । कोभिड महामारीले थलिएको नेपाली समाज उठ्न प्रयासरत रहँदारहँदै एकपछि अर्को विपत्ति थाप्लामाथि बज्रिरहने समस्यामा हामी अल्झिएका छौं । विपद्को यो दोहोरो मारमा आम नागरिक परिरहँदा स्वाभाविकरूपमा राज्यको भूमिका, जिम्मेवारी र कार्यहरु बढेका छन् । कोभिड प्रतिकार्यका लागि शुरुआती चरणबाट नै विभिन्न रूपमा लागिपर्दै आएको राज्यले प्राकृतिक विपद् व्यवस्थापनका क्षेत्रमा पुनः क्रियाशील हुनुपर्ने अवस्था सिर्जना भएको छ । हुन त, हरेक वर्ष राज्य प्राकृतिक विपत्तिविरुद्ध लागिपरेकै देखिन्छ, तर पनि महामारी र विपत्तिको चेपुवामा परेका आम नागरिकको उद्धार, राहत वितरण तथा आवश्यक सहयोगका लागि सामान्य अवस्थाको प्रयास मात्र पर्याप्त देखिन्न । वर्षायामको शुरुआतमै सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढी र त्यसले अत्यधिक क्षति पुर्‍याएको मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका विभिन्न स्थानहरुमा भएको विनाश हाम्रो मस्तिष्कबाट मेटिएको छैन । हिमाली र पहाडी जिल्लाहरुमा पहिरो तथा बाढीको विनाश बढ्दै जाँदा र तराईका कतिपय स्थान र बस्तीहरु डुबानमा पर्ने अवस्थाका कारण सिर्जना भएको घाउ नमेटिँदै आएको दशैंलाई कोभिडले थप घाइते बनाएको छ । प्राकृतिक तथा मानवसिर्जित विपत्तिहरु बढ्दै जानु तथा विभिन्न अध्ययन अनुसन्धानहरुले समेत प्राकृतिक विपत्तिको उच्च जोखिमयुक्त क्षेत्रका रुपमा नेपाल रहेको देखाउनुलाई हामीले गम्भीर रूपमा लिँदै राष्ट्रिय योजना र दृढता निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । अभिभावकीय तथा संरक्षकत्वको भूमिकाले मात्र नभई राज्यले विपद् प्रतिकार्य तथा महामारीविरुद्ध बढी सक्रिय हुनैपर्छ । नेपाली सेनालगायतका सुरक्षाकर्मीले विपद्का समयमा अत्यन्तै जोखिम मोलेर नागरिकलाई सघाएको देखिन्छ, जसको जति प्रशंसा गरे पनि थोरै हुन्छ ।

विपद् जोखिमको उच्च स्थानमा रहेको राष्ट्र र त्यसका नागरिकहरूलाई सुरक्षा प्रदान गर्नु राज्यको बहुआयामिक कार्यभार हो । यही आवश्यकता, औचित्य र सन्दर्भलाई ख्याल गर्दै कोभिडदेखि बाढी–पहिरोका विपद्मा पनि राज्य सक्रिय हुनैपर्छ । विपद् प्रतिकार्यका लागि नेपाली सेनामा ‘लक्षित बल’ स्थापनाको पहलकदमी लिइएको बुझिएको छ जसले अन्तरसरकारी निकायहरुबीच सहकार्य र समन्वयका क्षेत्रहरु पहिचान गरी एकीकृत ढंगले राहत तथा उद्धार कार्य गर्ने जनाइएको छ । खास गरी कोभिड संक्रमणकै बीच आएको दशैंपछि बिरामीको संख्या बढ्ने चिन्ता छ । मानिसहरु मास्क फालेर हिँडिरहेको देखिन्छ । यस्ता कार्यका लागि राज्य मात्र सजग भएर पुग्दैन, हरेक नागरिक जागरुक हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्