जनभावनाअनुसार काम गर्नेछु: मन्त्री झाँक्री



पाल्पा ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीका साथ निभाउन प्रयास गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले संविधानको रक्षा गर्दै जनताको भावना र चाहनाअनुसार जिम्मेवारीपूर्वक काम गरेर देखाउने बताउनुभयो ।

वर्तमान सरकारले देशमा भइरहेको भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्ने उहाँको भनाइ थियो । अध्यायदेशबाट आएको बजेटलाई नै परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याएको उल्लेख गर्दै मन्त्री झाँक्रीले स्थानीय सरकारसँग समन्वय गरेर मन्त्रालयको कामलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाउनुभयो ।

नेकपा एकीकृत समाजवादी की नेत्रीसमेत रहनुभएकी मन्त्री झाँक्रीले युवाहरुको सहभागितामा देशैभरि पार्टी विस्तारको अभियान चलिरहेको जानकारी दिँदै अघि बढ्नकै लागि राजनीतिक गठबन्धन भइहेको र पार्टी–पार्टीबीचको गठबन्धनले निरन्तरता पाइरहने बताउनुभयो ।

आफू तीन दिन मात्रै मन्त्रालय गएको र मन्त्रालयका विषयमा थप जानकारी लिन नपाएको उहाँको भनाइ थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक अवसर गुमाएको बताउँदै आफ्नै बहुमतको सरकार हुँदासमेत ओलीले सुशासनभन्दा कुशासन दिने काम गरेको मन्त्री झाँक्रीले आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्