गाँजाका ‘भरिया’ बन्दै गाउँका युवा, कारागारका कैदीलाई दशैं मान्न पालिकाको सहयोग 



न्युज अफ नेपाल, हेटौंडा  । 

क्षेत्रीय कारागारका रूपमा मकवानपुरको भीमफेदीमा रहेको कारागारका कैदी बन्दीलाई दशैं मनाउन मकवानपुरका सांसद र गाउँपालिकाले सहयोग गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता, पार्टी मकवानपुर सभापति तथा मकवानपुर २ (ख) का सांसद इन्द्रबहादुर बानियाँ र राक्सिराङ गाउँपालिकाले कारागारका कैदी बन्दीलाई दशैं मनाउन खसी र खाद्यान्न सहयोग गरेका हुन् ।

कारागारमा राक्सिराङ गाउँपालिकाका ४१ जना रहेकाले पालिकाले आफ्नै खर्चमा दशैंमा खाद्यान्नलगायत सामग्री बितरण गर्दै आएको छ । कारागारमा रहेकाहरुलाई प्रदेशसभा सदस्य बानियाँले व्यक्तिगत ६० हजार रुपियाँ प्रदान गर्नुभएको थियो । सामाजिक एवम् मानवीय भावनाका आधारमा कारागारमा रहेका कैदी बन्दीको दशैं सुखद बनाउन सहयोग गरिएको बानियाँले बताउनुभयो ।

जिउने आधार र विकल्प नभएर गाँजा खेती गर्नुपर्ने अवस्थाका व्यक्तिहरू जेलमा रहेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । गाउँपालिका सबैको अभिभावक भएकाले पालिकाका केही व्यक्ति कारागारमा रहँदा दशैं खल्लो नहोस् भनेर केही राहत दिइएको उहाँले बताउनुभयो ।

‘पालिकाका अधिकांश युवा वैदेशिक रोजगारीमा छन् । गाउँमा बाँकी युवाहरू पनि लागु औषधलगायत मुद्दामा कारागारमा परेपछि गाउँघर सुनसानजस्तै बनेको छ,’ अध्यक्ष मल्लले भन्नुभयो । ‘भरिया भएर जाने महिला वा पुरुषलाई ५÷१० वर्ष जेल सजाय हुँदा उनीहरुको घरव्यवहार बिग्रिसकेको हुन्छ । एक/दुई पैसाको आशमा भरिया बनेर गएकाहरु ९÷१० वर्षपछि घर फर्किन्छन् । ज्याला गरेर खानेहरुका बालबच्चाले शिक्षा पाउँदैनन्, भनेजस्तो संस्कार पाउँदैनन्, त्यसकारण समाजमा धेरै समस्या छ,’ मल्लले भन्नुभयो ।

भीमफेदी कारागारमा लागुऔषध मुद्दामा हेटौंडा उपमहानगरका ४४, राक्सिराङका ४१, कैलाशका १४, बकैयाका ३, भीमफेदीका ३, मनहरीका १६ र थाहा नगरपालिकाका २ जना गरी मकवानपुरका १ सय २३ जनाले जेल जीवन बिताइरहेका छन् । कारागारमा दशैं मनाउने तयारी गरिरहेका कैदीबन्दीमध्ये ६० प्रतिशत मकवानपुरका रहेको कारागार कार्यालयले जनाएको छ । तीमध्ये सबभन्दा बढी लागुऔषध गाँजा मुद्धाका छन् ।

पछिल्लो समयमा बृहत् बहसको रूपमा स्थापित हुँदै आएको नेपालमा गाँजाखेतीलाई कानुनी मान्यता दिनुपर्ने बहस स्थानीय तहसम्म आइपुगेको छ । नेपालको संघीय संसद र प्रदेशसभामा गाँजा सम्बन्धी विधेयक दर्ता भइसकेका छन् ।
संघीय संसदमा गाँजा सम्बन्धी लामो समयदेखि बहस गर्दै आउनुभएका मकवानपुर सांसद विरोध खतिवडा हाल स्वास्थ्य मन्त्री हुनुहुन्छ ।

उहाँको अग्रसरतामा विधेयक दर्ता भएको हो । बागमती प्रदेशसभामा गाँजा विधेयक प्रदेशका पूर्व भौतिक मन्त्री केशब स्थापितले दर्ता गर्नुभएको छ । संघ प्रदेशमा दुवैतर्फ निजी विधेयक दर्ता भएको हो । मन्त्री बन्नुअघिको एक भर्चुअल छलफलमा मन्त्री खतिवडाले गाँजाखेतीलाई वैधानिकता दिनुपर्ने बताउनुभएको थियो ।

गाँजा उत्पादनलाई खुला गरी सुरुमा औषधीजन्य उत्पादनका लागिमात्र बिक्रीबितरण गर्नसके मात्र पनि नेपालको आर्थिक वृद्धिमा निकै सकारात्मक प्रभाव पर्ने भन्दै उहाँले गाँजालाई वैधानिकता प्रदान गर्नुपर्ने माग गर्नभएको छ । उहाँले भन्नुभयो–गाँजालाई प्रतिवन्ध हुनुपर्छ भनेर उर्दी कस्ने अमेरिकासहितका युरोपका देशहरुले समेत गाँजा खेती गर्न लागिसके, हामी चाँही अझै कसैले केही भन्ने हो कि, डब्लुएचओले अनुदान रोक्ने हो कि, युरोपेली युनियनले अनुदान नदिने हो कि भन्ने डरमा छौं ।

नेपालमा गाँजा खेती प्रकृतिको वरदान रहेको भन्दै उहाँले यसले मकवानपुरसहित जिल्लाका विपन्न किसानको जीवन उकास्न सहज हुने बताउनुभयो । नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रमा समेत गाँजा उत्पादन हुने भन्दै उहाँले यस विषयलाई मार्केटिङ गर्नसके नेपालले आर्थिक उन्नति गर्न सक्ने दाबी गर्नुभयो ।

पूर्वगृह राज्यमन्त्रीसमेत रहनुभएका बानिँयाले लागुऔषध गाँजालाई लागुपदार्थका रूपमा ब्याख्या गर्न नहुने बताउनुभयो । बानियाँले भन्नुभयो–हाम्रो जस्तो विपन्न मुलुकका लागि यो उपलब्धिमूलक औषधी बनाउन सकिन्छ । ‘विपन्नवर्ग तथा सीमान्तकृतको बसोबास रहेको मकवानपुरका बिकट क्षेत्र राक्सिराङ, काँकडा, खैराङ, सरिखेत हुँदै कैलाश गाउँपालिकामा धेरै मात्रामा गाँजा खेती भए पनि उक्त क्षेत्रका मानिसहरु विशेषगरि भरियाका नाममा जेल जानुपर्ने, परिवारबाट छुट्टिएर बस्नुपरेको छ,’ उहाँले भन्नुभयो ।

बानियाँले गाँजाखेतीलाई कानुनी मान्यता दिएर विपन्नवर्गलाई आम्दानीको स्रोतमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।
मकवानपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले जिल्लामा गाँजाको विकल्पमा कार्यक्रम माग गर्दै गृह मन्त्रालयमा गरेको पत्राचारको हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

कानुनतः अवैध लागुऔषध गाँजाखेतीलाई प्रहरीले बलपूर्वक नष्ट गरिरहेका बेला मकवानपुरमा  प्रशासनलाई साक्षी राखेर वैधानिक तरिकाले गाँजा उत्पादनको तयारी गरिने बताइएको थियो । ९ वटा जडिबुटी सहकारी संस्थाआवद्ध जिल्ला जडीबुटी सहकारी संघले आफ्नो वृहत् योजनामा औषधि प्रयोजनका निम्ति आवश्यक परिमाण खुलाएर गाँजा खेती गरिने समावेश गरेको थियो ।

गाँजा उत्पादनका लागि नामी मानिएका स्थानमा खेती गरेर उत्पादन थाल्ने र गाँजाको प्रशोधन र प्याकिङ मेसिनसमेत आफैंले खरिद गर्ने लक्ष्य संघले लिएको थियो । संघले उत्पादन, प्रशोधन र प्याकिङ गरी स्वदेशका जडीबुटी औषधि उत्पादक कम्पनीलाई गाँजा बिक्री गर्ने लक्ष्य लिएको छ ।

मकवानपुरको पश्चिमी मनहरीदेखि आग्रासम्मका स्थानमा हाल गरिँदै आएको अवैध गाँजा खेती निरुत्साहनका लागि संघले उक्त क्षेत्रमा जडीबुटी खेती गर्ने दाबी गरेको थियो । जडीबुटी जस्ता प्राकृतिक सम्पदा संरक्षण, उत्पादन र समुचित प्रयोग गर्ने उद्धेश्य राखेर मकवानपुरमा जडीबुटी सम्बन्धी ९ सहकारी दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्