म्याग्दीका तीन गाउँ व्यावसायिक केरा खेतीमा



गलेश्वर ।

म्याग्दीका तीनवटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरि व्यावसायिक केरा खेती गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–२ खबरा, बगरफाँट र रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा धानखेत र बारीमा केरा खेती गरिएको हो ।

व्यावसायिकरुपमा गरिएको केराखेतीबाट यी तीन गाउँका किसानले अन्नबालीको तुलनमा पाँच गुणा बढी आम्दानी गर्दै आएका छन् । केरा बेचेर प्राप्त गरेको आम्दानीबाट गाउँमै आरसिसी घर ठडिएका छन् भने किसानका छोराछोरीले काठमाडौँ, पोखराजस्ता सहरमा बसेर शिक्षा आर्जन गरिरहेका छन् ।

बेनी नगरपालिका–२ खबराका किसान शोभित शर्माले केराखेती आफ्ना लागि आम्दानीको गतिलो माध्यम बनेको बताउनुभयो । उहाँले केरा बिक्री गरेर वार्षिक रु आठदेखि १० लाखसम्म कमाई हुँदै आएको जानकारी दिनुभयो । करिब १४ रोपनी क्षेत्रफलको जग्गामा उहाँले केराखेती गर्नुभएको छ ।

२०६५ सालदेखि व्यावसायिक कृषिमा होमिनुभएका शर्माले १३ वर्षको यो अवधिमा तरकारी र फलफूलबाट नै युरोप अमेरिकाको कमाई गाउँमा नै गर्दै आउनुभएको छ । केरा बेचेर भएको कमाईले उहाँले खबरामा भव्य आरसिसी घर बनाउनुभएको छ भने छोराछोरीलाई इन्जिनियरिङ र नर्सिङ पढाई रहनुभएको छ ।

त्यसैगरी रघुगङ्गा गाउँपालिका–२ रिसिन चौतारीका युवा रमेशबहादुर कटुवालले १२ रोपनी क्षेत्रफलको जग्गामा व्यावसायिक केरा खेती गर्नुभएको छ । आरम्भ कृषि तथा पशु फार्मबाट सुरु गरिएको व्यावसायिक केरा खेतीलाई मुख्य पेसासँगै एक हजार केराका बिरुवा लगाएको कटुवालले बताउनुभयो ।

उहाँले फर्ममा व्यावसायिक रुपमा बाइस नङ्गे, मालढुङ्गे, ध्रुसे, चिनी लगायतका प्रजातिका केराखेती गर्नुभएको हो । उत्पादन गरेको केरा बिक्रीका लागि सदरमुकाम बेनी, पर्यटकीयस्थल घोरेपानी, मल्लाजलगायतको क्षेत्रबाट व्यापारीहरु आउने गरेकाले बिक्रीका लागि कुनै समस्या नरहेको किसान कटुवालले बताउनुभयो । ४ वर्षदेखि सुरु गरेको केराखेतीबाट उहाँले वर्षमा रु तीन देखि चार लाख आम्दानी गर्दै आउनुभएको छ ।

“अन्नबालीलाई जस्तो धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि छिटो हुने भएकाले अनुकूल हावापानी र सडकसँगै बजार सुविधाले ४ वर्षदेखि केराखेती विस्तारमा लागेको छु”, उहाँले बताउनुभयो । शर्मा र कटुवालजस्तै तीन गाउँका दुई सयभन्दा बढी किसानले अन्यबालीभन्दा केराखेतीबाट तीन गुणा बढी आम्दानी गर्दै आउनुभएको छ ।

बेनी नगरपालिका–२ को खबराको नाम नै परिवर्तन गरेर ‘केरा गाउँ’ राखिएको छ भने बगरफाँटमा पनि लहलहै धान फल्ने खेतका गह्रामा रहरलाग्दो तरिकाले केराखेती गरिएको स्थानीय किसान दुर्गाबहादुर थापाले बताउनुभयो । खबरामा केरा बिक्री गरेर मात्रै वर्षमा रु डेढ करोडभन्दा बढी आम्दानी हुने त्यहाँका अगुवा किसान चन्द्रबहादुर कार्कीको भनाइ छ ।

खबरा, बगरफाँट र रिसिन चौतारीका प्रत्येक कृषकले केराखेती गरेका छन् । यहाँका किसानले एक सयदेखि तीन हजारसम्म केराका बिरुवा लगाएका छन् । खबरा, बगरफाँट र रिसिन चौतारीलाई वडाले केराको पकेट क्षेत्र घोषणा गरेको छ ।

किसानको आयआर्जन वृद्धि र जीवनस्तर सुधारका लागि रिसिन चौतारीलाई केरा खेतीको पकेट क्षेत्रका रुपमा विकास गरिएकोे रघुगङ्गा गाउँपालिका–२ भगवतीका वडाध्यक्ष रिम कटुवालले बताउनुभयो ।

“पछिल्लो समयमा सबै गाउँमा सडक सञ्जालले जोडिएको छ,” उहाँले भन्नुभयो, “मिहिनेत गरेर उत्पादन गरिएको केरा बिक्रीका लागि बजारको समस्या छैन ।” त्यसैगरी खबरा र बगरफाँटलाई पनि केराखेतीको पकेट क्षेत्र घोषणा गरिएको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्