स्पोर्टस् क्यासल फुटसल लिग च्याम्पियन



विजय नेपाली, पोखरा । 

राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको उपाधि घरेलु टोली स्पोट्र्स क्यासलले हात पारेको छ । क्यासलले शंखमूललाई फाइनलमा ४–२ गोल अन्तरले हराउँदै उपाधि घरमै राख्न सुरक्षित भएको हो ।

लिग च्याम्पियन क्यासलले नगद १० लाख रूपैयाँको साथमा ट्रफी हात पार्‍यो । उपविजेता शंखमूलले भने ५ लाख रूपैयाँ हात पा¥यो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा क्यासललाई जिताउन किशोर गुरुङ नायक बने । उनले फाइनलमा ह्याट्रिक गर्दै टोलीलाई जित दिलाए ।
खेलको विधागत पुरस्कारतर्फ क्यासल र शंखमूलले २/२ विधामा हक जमाए ।

खेलको उत्कृष्ट आला शंखमुलका मणि लामा घोषित भए । यस्तै, उत्कृष्ट गोलरक्षक पनि शंखमूलकै पोल्टामा पर्‍यो । टिम कप्तानसमेत रहेका गोलरक्षक अनिश श्रेष्ठ घोषित भए । क्यासलका प्रशिक्षक विष्णु गुरुङ उत्कृष्ट प्रशिक्षक घोषित भए । क्यासलकै सुमित उदीयमान खेलाडी घोषित भए । उत्कृष्ट फिक्सो भने फुटसल ५ धरानका विजय श्रेष्ठले हात पारे । उनीहरू सबैले समान २५–२५ हजार रुपैँयाको साथमा ट्रफी हात पारे ।

फुटसल हुनु सकारात्मक : प्रशिक्षक प्रकाश परियार (शंखमूल)

समग्रमा फुटसल यसरी हुनुमा धेरै नै सकारात्मक पक्ष हो । हामी क्लबहरूका लागि । यो शुरुआत पनि हो । यसमा कति त्रुटिहरू पनि थिए । रेफ्री, आयोजक र हामी क्लबहरूको तर्फबाट पनि । यो सबै कुरालाई सुधार गरेर जानु नै उत्तम उपाय हो ।

विगत ८ वर्षदेखि हामी फुटसलमा लागिपरेका थियौं । आजकै दिन आउँछ भनेर नै हामी लागिपरेका हौँ । आगामी दिनमा अझ राम्रो बनेर आउनेछौं । यो पहिलोपटकको अनुभव हो । हामीले अन्तर्राष्ट्रिय फुटसलको मान्यता अनुसार खेल खेल्यौं। म्याटमा खेल्दा कन्ट्रोल ब्यालेन्सदेखि लिएर फिटनेसका कुराहरू पनि धेरै चाहिने अनुभव गर्‍यौं ।

हामीले खेल्दै आएको भन्दा फरक छ । नियम सबै एउटै हुनुपर्ने हो । हामीले फुटबलकै नियममा खेल्यौं तर, फुटसलको नियम भने धेरै फरक हुँदो रहेछ । हामीले पनि सिक्ने अवसर पायौं ।

वास्तविक फुटसलको परिभाषा दियो : विष्णु गुरुङ, प्रशिक्षक स्पोट्र्स क्यासल

नेपालमा पहिलोपटक फुटसलको राष्ट्रिय लिग भयो । यो एकदमै अविस्मरणीय क्षण भयो । पहिलोपटक भएकाले कमीकमजोरी आफ्ना ठाउँमा छन् । तर, अहिले आउने नयाँ युवा खेलाडीलाई भने बाटो खोलिदिएको छ । यसको सकारात्मक पक्ष भनेको राष्ट्रिय फुटसल टिम राम्रो हुनु हो । पहिला सानो स्थानमा छनोट गरेका थियौं ।

आर्टिफिसियल ग्राउन्डमा अहिले भने हामीले रियल ग्राउन्डमा रियल रेफ्री र प्रपर वे मा खेलेका छौं, त्यसैले यो निकै उत्कृष्ट रह्यो । यसमा सुधार गर्नुपर्ने धेरै छन् । रेफ्रीदेखि लिएर खेलाडीलाई समेत बाहिर एक्सपोजर गर्नुपर्ने देखिन्छ । एन्फाले अब फुटसललाई नै भनेर पनि लाग्नुपर्ने देखिन्छ । पहिलादेखि नै फुटसल भनेर काठमाडौंमा मात्रै प्रख्यात थियो ।

मिनि फुटबलमा फुटसल भनेर खेलाइन्थ्यो । फुटसल भनेर गलत परिभाषा दिइएको थियो अहिलेको यो रियल फुटसल हो । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटसल भनेको यो हो भनेर एन्फाले देखाएको छ । यही कारणले वास्तविक फुटसल चिनियो ।

फुटसलमा अवसर पाए यसैमा लाग्छु : सुमित श्रेष्ठ (उदीयमान खेलाडी)

अहिले क्यासलका लागि खेलियो अब देशका लागि पनि खेल्न मन लागेको छ । यो ठूलो प्रतियोगिता खेलेको पहिलोपटक हो । हामीले पनि सक्दारहेछौँ भन्ने अनुभव भयो । काठमाडौंमा मात्रै नभई मोफसलमा पनि राम्रो छ भन्ने देखाइयो । फुटसलमा करियर भए यतै लाग्छु ।

काठमाडौंबाहिर पनि उत्कृष्ट खेलाडी छन् : अनिष श्रेष्ठ (कप्तान शंखमूल)

काठमाडौंबाहिर पनि मैले धेरै स्कोप देखें । हामी बाहिर खेल्न जाँदा पनि हामीलाई धेरैपटक हराएका थिए । धेरै खेलाडीसँग चिनजान भइसकेको छ । अब राष्ट्रिय टिम छनोटमा राम्रा खेलाडी आउने आशा गरेको छु । पहिलोपटक देशभरबाट खेलाडी छनोट हुँदैछ यो राम्रो हो । लिग सम्पन्न हुदाँ निकै खुसी लाग्यो । हामीले उपाधि नजिते पनि फुटसल खेल हुँदा एन्फाप्रति आभारी छु ।

प्रतिक्रिया दिनुहोस्