राष्ट्रधनको सदुपयोग र वृद्ध नेताको बलियो दिन



  • रमेशकेशरी वैद्य

प्रायः व्यक्तिहरुको जीवन संघर्षमय हुन्छ । तैपनि उनीहरुले आफ्नो जीवनमा मेहनत गरी आखिर प्रायः कुरा हासिल गरेका हुन्छन् । फरक यत्ति हो कि जसले गलत तरिकाले सम्पत्ति कमाएको हुन्छ, त्यो क्षणिक हुन सक्छ भने आफ्नो रगत–पसिनाले कमाएका चीजहरु लामो समयसम्म रहिरहने हुन्छ । हामीले हाम्रो मुलुकलाई पनि यसै गरी उँभो लगाउनु जरुरी छ । जसले गर्दा हामीले विदेशीसँग लोकतन्त्र आएर पनि सधैँ हात फैलाउन नपरोस्, अन्यथा मगन्ते मानसिकताको अन्त्य कहिल्यै हुन सक्दैन । तर हाम्रो देशमा राजनीतिक अवस्थाले भनौं वा समय नै नआएकोले भनौं अथवा राष्ट्रधनको सही प्रयोेग नभएर हो, यहाँका मानिसले लोकतन्त्रको सही आनन्द लिन सकिराखेका छैनन् ।

एउटा सत्य कुरा के छ भने, हाम्रो मुलुकमा सरकार बन्छ अनि शुरु हुन्छ– अहं भावना । साथै शुरु हुन्छ– आफ्नो मान्छे, भिजनको कमी, अल्झने वातावरण, कार्यकर्ताको चिन्ता आदि । जब कि हाम्रो मुलुकमा सबथोक छ, विकासका लागि । तैपनि सधैँ देश द्रुत विकासमा जान नसक्नु अचम्मको कुरा हो । यसका मुख्य कारण सरकारहरुको लापरबाही, अल्छीपना, इच्छाशक्ति नहुनु नै हो । भनौं, भगवान्ले नै यिनीहरुको हातगोडा बाँधेर राखेका छन् । यदि यस्तो हो भने हामी भगवान्सँग प्रार्थना गर्छौं कि यिनीहरुलाई शक्ति देऊ । हामी सधैँ सरकारलाई मात्र दोष दिन्छौँ तर यो मुलुकमा प्रतिपक्षी पनि कम छैनन्, कारण जब देशमा सत्तापक्षको राज हुन्छ, तब प्रतिपक्षको जीउ चिलाउन शुरु हुन्छ । साथै डाहपना, झगडा, खुट्टा तान्ने आदि रोगले गर्दा सरकारलाई ढलाइछोड्छ । यसरी बाँदर फरमुलाको अन्त्य हुन्छ र प्रतिपक्ष सफल हुन्छ । जुन हामीले प्रत्यक्षरुपमा देखिराखेका छौं । यी कुसंस्कारहरु निरन्तररुपमा भइराख्नु नै धेरै नेता, शिक्षाको कमी, धैर्यताको कमी आदि हुन् । अब भने यस्तो कुसंस्कारको अन्त्य हुनु जरुरी छ । अन्यथा सधैँ पार्टीहरु आलु पार्टीजस्तो भइराख्ने हो भने मुलुकको द्र्रुत विकास कसरी हुन्छ र ? लोकतन्त्र आएको के औचित्य भयो र ?

हाम्रो मुलुकमा तीनवटा भाग छन्– हिमाल, पहाड र तराई । यी तिनै भागका प्रदेशहरुमा मुलुक हाँक्नेहरु कलह नगरी राम्रो सोच लिएर अघि बढ्ने हो भने यी सुन फल्ने ठाउँ हुन् । कारण हिमाल–पहाडमा जलविद्युत्, पर्यटन, फलपूmल तथा जडीबुटी व्यवसाय आदिले मात्र अर्बौं रकम हामीले आर्जन गर्न सक्छौं । यसको लागि सरकारले सोच्ने नै राजमार्ग र जलविद्युत्को द्रुत विकास गर्नु हो । जुन अझै अलपत्र परिराखेका छन् । यसको लागि राष्ट्रधन खन्याउनुस्, कार्यकर्तालाई म्यानपावरमा परिणत गर्नुस् र परेको खण्डमा विदेशीसँग ऋण सहयोग लिनुस् तर विवादित हुने हिसाबले होइन । यदि यस्तो सोच लिएर अघि बढ्ने हो भने देशको कायापलट हुन समय लाग्नेछैन ।

अब तराई क्षेत्रको कुरा गर्ने हो भने, यो क्षेत्र कृषि तथा उद्योग विकासको हिसाबले सुयोग्य स्थान हो । कारण धेरै समथल भूमि हो तराई । कृषिजन्य बीउ तथा उद्योगका लागि कच्चा पदार्थ आयातजस्ता कुराहरु सुलभ हुनुका कारणले गर्दा यो ठाउँबाट पनि पर्याप्त आम्दानी गर्न सकिन्छ । यसका लागि तराईका प्रदेश सरकारहरु नै फूर्तिलो हुन जरुरी देखिन्छ । वास्तवमा हाम्रो देशमा राम्रा–राम्रा नेताहरु पनि नभएका होइनन्, साथै राम्रा पढेलेखेका बुद्धिजिवीहरु पनि थुप्रै छन् तर केही खराब संस्कारले गर्दा मुलुक गलत दिशातर्फ गइराखेको छ । मतलब जति मुलुक द्रुत विकासमा जानुपर्ने हो, त्यो भइराखेको छैन । ऋणभार, सरकार पूरा नटिक्नु, बेरोजगार समस्या आदि नै यो देशको ठूलो समस्या हो । तर देश चलाउनेहरु मजबुत हुने हो भने यो समस्या खासै ठूलो समस्या होइन, खाली यिनीहरु देशको लागि परिवर्तन हुनुप¥यो । भनाइको मतलब नेताहरु सधैँ कलहमा अल्झिरहनु भएन ।

यो देशमा विडम्बनाको कुरा के छ भने, यहाँका नेताहरु ठूला सोच राख्छन्, पूर्वाधारका कुराहरु गर्छन् तर काम उति हुन सकिराखेको छैन । प्राइभेट सेक्टरबाट मात्र अलि विकास भएको देखिन्छ । अहिले देशमा संघ, प्रदेश र स्थानीय तहमा सरकारी कर्मचारीहरुले काम गरेर देखाउनु जरुरी छ । यी क्षेत्रहरुमा मुख्यमन्त्री, मन्त्री, सचिव आदिको योगदानको खाँचो छ । अरु केही नभए पनि शिक्षा, स्वास्थ्य, गरिबी निवारण तथा राजमार्गमा यिनीहरुको योगदानको खाँचो छ ।

अहिले मुलुकमा केही विकास भएको छैन भन्न पनि मिल्दैन । यसमा हेर्ने दृष्टि मात्र फरक हुन सक्छ, जसमा कसैले सकारात्मक सोच राखिराखेको हुन्छ भने कसैले नकारात्मक सोच राखेको हुन्छ । देशमा जुनसुकै सरकारले राज गरे पनि जब सरकारले सानोतिनो काममा ध्यान दिँदै जान्छ र गर्छ, त्यो सरकार अवश्य पनि हिरो हुन्छ । महँगी, बाटोघाटो, फोहोर, वधशाला, नैतिक शिक्षा, ओभर ब्रिज, फ्री पार्क, शौचालय, लाथलिङ्ग पशुहरु, खराब रक्सी, गुट्खा, फुटपाथ, तरकारी बजार आदिको समस्यामा ध्यान दिएर समाधान गर्न सक्नुपर्दछ । तर दुःख लाग्दो कुरा, सरकारहरुमा यस्ता समस्याको समाधान गर्ने क्षमता नै भएन ।

यदि सरकारमा बसेर देश चलाउनेहरु राजनीतिक माहोलमा आफ्नो मान्छे र कलहमा मात्र अल्झेर बस्ने हो भने यो क्षेत्रमा आउनुुको कुनै औचित्य छैन । तर यिनीहरुलाई जति सुनाए पनि बैरो भालुलाई पुराण सुनाएजस्तो भएको छ । हुन त हाम्रो लेख्ने बानी र यिनीहरुलाई सुझाव दिने हाम्रो कर्तव्य हो । गलत काम गरेर पैसा र सम्पत्ति मात्र आर्जन गर्ने हो भने न आफ्नो भविष्य राम्रो हुन्छ, न त आउने पुस्ताको ? सधैँ भ्रममा नपर्नुस् र घमण्ड पनि नगर्नुस् कि मेरा सन्तान त विदेशमा छन्, केही फरक पर्नेवाला छैन भनेर । लोकतन्त्र ल्याउने नेताहरुले यो मनमा राख्नुपर्छ कि हामीले मुलुकको लागि जति गर्नुपर्ने गरिसक्यौं, तैपनि सर्वसाधारणका लागि हामी दलहरु अझ परिवर्तन हुनु जरुरी छ, अन्यथा हामी सधैँ फोहोर ढलजस्तो भएर बस्नुपर्ने हुन्छ ।

अन्त्यमा, एउटै कुरामा मात्र फोकस गर्ने भने पनि धेरै राम्रो हुन्छ, त्यो हो मुलुकमा राम्रो मानिस, रकम भएका लगानीकर्ता, सीप भएका व्यक्ति आदिलाई जुनसुकै सरकार आए पनि सक्दो सहयोग गरेर हौसला दिनु । यसबाहेक हरकोहीले खाली नेताको पछि लाग्न छोडेर यस्ता व्यक्तिहरुलाई साथ दिनुपर्छ । यदि यस्तो संस्कार कायम गर्ने र सबै पक्ष परिवर्तन हुने हो भने यो देशमा दु्रत विकास हुनुका साथै कसैले कसैलाई दोष दिने अवसर नै आउने थिएन ।

प्रतिक्रिया दिनुहोस्