सहकारीको पुँजीलाई आधुनिक कृषि  र उत्पादनशील क्षेत्रमा परिचालन गरौँ : आर्थिक सल्लाहकार रायमाझी



न्युज अफ नेपाल, काठमाडौं ।

प्रणव बचत तथा ऋण सहकारी संस्थाको नवाैँ वार्षिक साधारण सभा मिति २०७८ साल असोज २३ गते शनिवार काठमाडाैमा  सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रमोद रोका क्षेत्रीको अध्यक्षतामा , प्रदेशसभा सांसद केशव पोखरेलको  प्रमुख आतिथ्यतामा  भएको कार्यक्रमको सञ्चालन सचिव अमृत लामिछानेले गर्नु भएको थियो ।

आयोजित साधारण सभालाई प्रदेश नं ३ का  प्रदेशसभा सांसद  केशव पोखरेलले दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो । सभाको समुद्घाटन गर्नुहुँदै सांसद पोखरेलले सहकारीसंस्थाहरु स्थानीय निकायहरूको मातहतमा गई सकेको बताउँदै चाँडो भन्दा चाँडो ऐन, कानुन बनाएर व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

पोखरेलले सहकारीहरूलाई सुशासनको बाटोमा अगाडी बढाउँदै उत्पादनमूलक कार्यक्रममा सहभागी गराउन जोड दिनुभयो ।नेपालमा सहकारी संस्थाहरूले समाजका विपन्न तह एवम् महिलाहरूको आयआर्जनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सांसद पोखरेलले बताउनुभयो   ।

साधारण सभामा सहकारी संस्थाका आर्थिक  सल्लाहकार एवम् अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष सुन्दर रायमाझीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।संस्थाका  सल्लाहकार रायमाझीले सहकारीका सदस्य, सञ्चालक र यसमा आबद्ध कर्मचारीहरूले सहकारीसंस्थालाई आफ्नै सम्झेर कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

रायमाझीले संस्थामा आवद्ध सेयर सदस्यहरूले वर्षको एक पटक साधारण सभामा उपस्थित भएर ताली पड्काउने मात्र नगरी संस्था कसरी सञ्चालन भइरहेको छ भन्नेमा चासो राखी आवश्यक सुझाव दिने तथा सहयोग गर्ने बानी बसाउनु पर्ने सुझाव दिनुभयो ।सहकारी नीति, विधि र प्रविधिबाट सञ्चालन गर्दै पुँजीलाई आधुनिक कृषि र उत्पादनमा लगानी गरेर स्वदेशमा नै रोजगारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

रायमाझीले केही सहकारीको बदमासीले अझै पनि सहकारी संस्थाको विश्वसनीयता माथि प्रश्न उठिरहेकोले सहकारी संस्थालाई जबाफदेहीताका साथ ,सहकारीको सिद्धान्त ,मूल्य मान्यता बमोजिम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीलाई सदस्य केन्द्रित बनाएर समाज रूपान्तरणका क्षेत्रमा सहकारीको योगदान बढाउनका लागि कानुनी संरचना, संस्था सञ्चालनका विधि, योजना निर्माण र सदस्यहरूको सन्तुष्टिका लागि सञ्चालकको ध्यान पुग्नु पर्नेमा रायमाझीको जोड थियो ।

साधारण सभामा संस्थाका अध्यक्ष प्रमोद रोका क्षेत्रीले सहकारीको मान्यता अनुसार आफ्नो सहकारी हिँडिरहेको बताउँदै यस संस्थाको कार्यालयमा सहकारीको मर्म मूल्य बमोजिम शिक्षा समिति ,महिला समिति ,युवा समिति सहित कर्मचारीहरूको सहकार्यमा संस्था अगाडि बढेको  जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्