चितवन टाइगर्स बन्यो ईपीएल च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं ।

चितवन टाइगर्सले पोखरा राइनोजलाई ४ विकेटले हराएर एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

चौथो संस्करणको ईपीएलमा उपाधि जितेर चितवन टाइगर्सले पहिलोपटक प्रतियोगिताको उपाधि चुमेको हो । योसँगै चितवन टाइगर्सले ५० लाख नगद हात पा¥यो भने पोखरा राइनोजले २५ लाख नगद हासिल गरेको छ । शनिबार त्रिवि मैदानमा भएको फाइनल खेलमा पोखरा राइनोजले मात्र १ सय १२ रनको लक्ष्य दियो । जवाफमा चितवन टाइगर्सले १५.५ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य भेटाएको हो ।

टोलीलाई च्याम्पियन बनाउन भीम सार्कीले सानदार ब्याटिङ गरे । भीमले मन लोभ्याउने ब्याटिङ गरेका थिए । भीमले २० रनमा तीन विकेट गुमेर संकटमा परेको बेला दुईवटा बलियो साझेदारी गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ६३ रनको योगदान दिए । उनी जितको लागि २ रन बाँकी हुँदा किशोर महतोको शिकार भएका थिए ।

तीन विकेट २० रनको लागि आउट भएपछि भीमले दिलीपको साथमा चौथो विकेटका लागि ५४ रनको बलियो साझेदारी गरेका थिए । दिलीप १८ रन बनाएर किशोर महतोको बलमा आउट भएका थिए । यसपछि, राजेश पुलामी (१४ रन) सँग उनले २३ रनको साझेदारी गरे । उनी आउट भएपछि आएका कप्तान सोमपाल कामीले विजयी चौका प्रहार गरेका थिए । ओपनर मोहम्मद शहजादले ११ रन, करिम जन्नत र हसिम अन्सारी शून्यमै पभेलियन फर्केका थिए । पोखराका बलरमा किशोर महतोले ४ विकेट र नन्दन यादवले २ विकेट हासिल गरेका थिए ।

यसअघि, पोखरा राइनोजले १७.३ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रनको कमजोर योगफल बनाएको थियो । ओपनर रिचार्ड लेभी र विपिन रावलले सानदार शुरुआत दिलाए । तर, उनीहरू आउट भएपछि पोखरा कमजोर बन्न पुगेको थियो । लेभी र विपिनले ३.३ ओभरमै पहिलो विकेटका लागि ३७ रन जोडेका थिए । लेभीलाई करिम जन्नतले आउट गरेका थिए । लेभीले ५ चौकाको सहायतामा २६ रन बनाए ।
तीन रन थप्दा पोखराले दोस्रो विकेट गुमायो । कमल ऐरीले रित गौतमलाई आउट गरेका थिए । रितले २ रन मात्रै बनाए । फेरि तीन रन जोड्दा पोखराले साहान आराचचिगेको रूपमा महत्वपूर्ण विकेट गुमायो । साहानलाई व्यक्तिगत २ रनमा सोमपाल कामीले पभेलियन फर्काएका थिए । त्यसपछि ओपनर विपिन पनि १७ रन जोडेर आउट भएपछि पोखरा निकै दबाबमा पुगेको थियो । विपिनलाई सागर ढकालले आउट गरेका थिए ।

त्यसपछि कप्तान विनोद भण्डारी र असेला गुणरत्नेले पाँचौं विकेटका लागि ३५ रनको साझेदारी गरेर राम्रो स्थितिमा पु¥याए । तर, पोखराका ब्याटसम्यानले यसको लाभ भने उठाउन सकेनन् । असेला आउट भए लगतै बाँकी ५ विकेट मात्र १७ रनमा गुमाएर पोखरा १ सय ११ रनमा अलआउट हुन बाध्य भयो । असेलाले ३४ रन र विनोदले २२ रनको योगदान दिएका थिए । चितवनका बलरमा कमल ऐरी ४ विकेट लिएर घातक बलर बने । यस्तै, करिम जन्नत र सिकुगे प्रसन्नले २÷२ विकेट लिँदा सागर ढकाल र सोमपाल कामीले एक–एक विकेट हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्