होटल संघ पोखराको अधिवेशन सम्पन्न, अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध 



न्युज अफ नेपाल, कास्की ।

पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । उनी होटल साकुराका सञ्चालक हुन् । यस अघि उनी संघको प्रथम उपाध्यक्ष थिए ।

संघको शुक्रवार पोखरामा सम्पन्न २० औँ अधिवेशन तथा ४० औँ साधारण सभाले आगामी दुई बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक मेहरमान श्रेष्ठले घोषणा गरे । संघको निवर्तमान अध्यक्षमा विकल तुलाचन रहेका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्षमा गणेशराज पहारी निर्वाचित भए ।

राजेन्द्र ढकाल महासचिव छानिँदा पार्वता पाण्डे सचिवमा निर्वाचित भइन् । कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल चयन भए भने सह कोषाध्यक्षमा वैभव पौडेल निर्वाचित भए । भरतराज शर्मा, अनिल श्रेष्ठ, पम्फा पहारी र कल्पना बराल अधिकारी सदस्यमा निर्वाचित भए । संघको १७ सदस्यीय कार्यसमितिमा चार सदस्य मनोनीत हुने वैधानिक व्यवस्था छ ।

स्टार र नन स्टार होटल तर्फबाट निर्वाचित छ–छ जना मध्येबाट नयाँ कार्यसमिति निर्वाचित गर्ने संघको प्रावधान छ । यो पटक स्टार तर्फबाट पाँच जनाको मात्र उम्मेदवारी परेकोमा थप एक जना मनोनीत हुनेछन् ।

यस अघि आयोजित बन्द सत्रमा संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्दै कोभिड १९ को कठिन अवस्थामा समेत संस्थाले पूर्वपश्चिम जाऊँ है पोखरा प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको स्मरण गराए । उक्त सत्र मा संघका महासचिव गणेशराज पहारी र कोषाध्यक्ष पार्वता पाण्डेले प्रस्तुत गरेका प्रतिवेदनहरू पारित गरिएका थिए ।

संघका अध्यक्ष विकल तुलाचन र निवर्तमान अध्यक्ष भरतराज पराजुलीले बन्द सत्र मा उठेका जिज्ञासाको उत्तर दिए । सो अवसरमा तुलाचनले आफ्नो कार्यकाल सफल पर्न सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, साधारण सदस्य, कर्मचारी र विभिन्न संघसंस्थाप्रति आभार प्रकट गरे ।

त्यसपछि आयोजित समापन शत्रको प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का रहेका थिए । सो अवसरमा कोभिड पछिको पर्यटन: सम्भावना र चुनौती विषयमा चर्चा गरिएको थियो । कार्यक्रममा पोखराको नयाँ विमानस्थल निर्माणमा महत्त्वपूर्ण योगदान पु-याएको भन्दै संघका सल्लाहकार विश्व शंकर पालिखेलाई सम्मान गरिएको थियो ।

उनी २०४७ देखि २०५२ सम्म संघको अध्यक्ष थिए । नेपाल पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका पालिखे संचार उद्यमी पनि हुन् । कार्यक्रममा होटल संघ नेपालका उपाध्यक्ष प्रवीणबहादुर पाण्डे, प्रदेश सभा सदस्य राजिव पहारी, संघका सल्लाहकार एवं पूर्व अध्यक्ष विश्व शंकर पालिखे, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराई, वडा अध्यक्ष जगत बहादुर पहारी लगायतले भनाई राखे । संघका महासचिव गणेशराज पहारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्