अर्थतन्त्रको आस



कोरोना महामारीका कारण अस्तव्यस्त बनेको नेपालको अर्थतन्त्र बिस्तारै चलायमान हुने बाटोमा लागेको छ । कोरोना संक्रमणका कारण बन्द भएका कलकारखाना चालू हुन थालेका छन् भने बाह्य तथा आन्तरिक पर्यटकहरूको आवागमन पनि बिस्तारै शुरू भएको छ । सरकारले खोप अभियानलाई तीव्र बनाएपछि विदेशी पर्यटकको आवागमन, नेपालबाट विदेश काम गर्न जाने कामदारको आप्रवाहसँगै नेपालको आर्थिक वृद्धिदर उकालो लाग्ने नेपालका आर्थिक विज्ञहरूले बताइरहेका बेला विश्व बैंकले पनि नेपालको आर्थिक वृद्धिदर सन् २०२१ मा १ दशमलव ८ प्रतिशत र सन् २०२२ मा ३ दशमलव ९ प्रतिशत पुग्ने आर्थिक भविष्यवाणी गरेको छ । नेपालका आर्थिक सूचकहरू बिस्तारै बढ्दो क्रममा रहेकाले पनि उक्त लक्ष्य हासिल गर्न नेपाललाई कुनै कठिनाई नहुने प्रक्षेपण गर्नुले नेपालको अर्थतन्त्र बिस्तारै उकालो लाग्न लागेको भान हुन्छ ।

सरकारले अहिले शुरू गरेको खोप अभियानलाई निरन्तरता दिनसके यसले हरेक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने निश्चित छ । मुलुकमा सरकार छ कि छैन भन्ने अवस्थालाई चिर्न सत्ताधारी दलहरूबीच एक मत हुन जरुरी छ । सत्ताका लागि जे पनि गर्न पछि नपर्ने नेपाली नेताहरूको स्वभावलाई लिएर भने बैंकले चिन्ता गरेको देखिन्छ । विश्व बैंकले दक्षिण एसियाली आर्थिक अवस्थाका बारेमा तयार पारेको प्रतिवेदन हेर्दा चुनौतीहरू भने यत्रतत्र देखिन्छन् । विश्व बैंकले प्रतिवेदन सार्वजनिक गर्दै चालू वर्षको तुलनामा आगामी वर्ष आर्थिक वृद्धिदर बढे पनि कोरोना संक्रमण हुनु अघिको अवस्थामा फर्कन भने नसक्ने ठोकुवा गर्नुले नेपाललगायत यस क्षेत्रका मुलुकमा धनी र गरिब बीचको दूरी अझै बढ्ने संकेत मिल्दछ । कोरोना संक्रमणका कारण दक्षिण एसियाका ४ करोड ८० लाखदेखि ५ करोड ९० लाखसम्म नागरिकहरू गरिबीको रेखामुनि पुगेको देखिन्छ । कतिपय मुलुकले कोरोना संक्रमणका कारण मानव जीवनमा पुगेको क्षतिलाई पूर्ति गर्न नसके पनि आर्थिक गतिविधिलाई भने पूर्व अवस्थामा फर्काउने अभियानमा लागेकाले त्यस्ता मुलुकबाट पाठ सिक्दै नेपालले पनि आर्थिक अवस्थालाई त्यही बाटोमा लाने प्रयास गर्नुपर्ने देखिन्छ । जरजर बन्दै गएको अर्थ व्यवस्थालाई समयमा नै सुधार नगर्ने हो भने नेपालले अझै कैयन वर्ष अभाव र पीडाको सामना गर्नुपर्ने भएकाले त्यसलाई राजनीतिक नेताहरूले सम्बोधन गर्नु पर्ने बेला आइसकेको छ ।

पछिल्लो समय बढिरहेको विश्व अर्थव्यवस्था सुधार, वस्तुको मागलगायतले यहाँको जनजीवन बिस्तारै सामान्य बन्दै गएको तर नेपाली अर्थतन्त्र भने आफ्नो आर्थिक पुनरोत्थानमा संवेदनशील देखिएको उल्लेख गर्दै विश्व बैकले सरकारको उत्साह बढाए पनि अवस्था त्यति सहज देखिन्न । पछिल्लो समय नेपालले आर्थिक पुनरोत्थानमा फड्को मारिरहेको उल्लेख गरिए पनि नेपालले दीर्घकालीन रूपमा चाल्नुपर्ने कदममा ध्यान दिनसकेको देखिन्न । यस विषयमा विश्व बैंकले चेतावनी दिँदै भनेको पनि छ, ‘समस्या उत्पन्न हुनसक्छ, बेलैमा सावधान होऊ !’ यस प्रकारको विश्व बैंकको चेतावनीले नेपालका शासकहरू संवेदनशील बन्न नसकेको पुष्टि हुन्छ । त्यसैले आर्थिक वृद्धिसँगै नेपालले विकासशील परियोजना निर्माणलाई अझै तीव्र गतिमा अघि बढाउने सोचका साथ अघि बढ्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्