चितवन टाइगर्स ईपीएलको फाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं ।

चितवन टाइगर्स जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बुधबार त्रिवि मैदानमा भएको पहिलो क्वालिफायर खेलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई सहजै ९ विकेटले हराएको हो । चितवन ईपीएलमा पहिलोपटक फाइनलमा पुगेको हो । जितका लागि पोखरा राइनोजले मात्र ६७ रनको लक्ष्य दिएको थियो । जवाफमा चितवन टाइगर्सले १ विकेटको क्षतिमा ७ दशमलव ५ ओभरमा लक्ष्य भेटाएको थियो ।

चितवनका लागि ओपनर मोहम्मद शहजादले ४८ रन जोडे । नन्दन यादवको बलमा आउट भएपछि शहजाद २ रनले अर्धशतकमा पुग्न सकेनन् । उनले विस्फोटक ब्याटिङ गर्नेक्रममा २६ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै, अर्का ओपनर हासिम अन्सारी १४ रनमा र करिम जन्नत ४ रनमा नटआउट रहे ।

यसअघि, टस हारेर ब्याटिङ गरेको पोखराले निराशाजनक ब्याटिङ प्रस्तुत गरेको थियो । एकपछि अर्को विकेट गुम्दै जाँदा पोखरा १५ ओभरमै ६६ रनमा अलआउट भएको थियो । टोलीका लागि रिचार्ड लेभीले बनाएको १९ रन नै व्यक्तिगत उच्चतम रन थियो । अर्का ओपनर सुनील धमलाले १८ रनको योगदान दिए भने सुसन भारी १२ रनमा आउट भए । बाँकी ब्याटसम्यानले दोहारो अंकमा रन बनाउन सकेनन् ।
चितवनका बलरमा स्पिनर सागर ढकाल र साहब आलम पोखराका लागि निकै घातक बनेका थिए । यी दुई बलरले ४/४ विकेट बाँडेपछि पोखराका ब्याट्सम्यानले आत्मसमर्पण गर्नुबाहेक अर्को विकल्प रहेन । एक समय पोखरा ७ दशमलव ५ ओभरमा १ विकेटको क्षतिमा ४१ रन बनाएर राम्रो स्थितिमा थियो । सोमपाल कामीले रिचार्डको विकेट लिएर पहिलो झट्का दिएका थिए । यसपछि सागरले सुनीललाई आउट गरे । साहबले खतरनाक ब्याटसम्यान विनोद भण्डारीको विकेट लिएपछि पोखरा दबाबमा परेको थियो । विनोद पहिलो बलमै आउट भएर गोल्डेन डक भएका थिए ।

यसैगरी, साहबले साहनलाई व्यक्तिगत ३ रनमा र सागरले असेला गुणरत्नेलाई व्यक्तिगत १ रनमा आउट गरे । सागरले विवेक यादव (२ रन) लाई आउट गरेपछि पोखरा ४१/१ बाट ९.५ ओभरमा ४६/६ को दयनीय स्थितिमा पुगेको थियो । यसपछि ५२ रन हुँदा विक्रम सोबले पनि साथीहरूकै बाटो पछ्याए । ३ रन बनाएका विक्रमलाई सागरले आउट गरेका थिए । लोकश वाम ५ रन जोडेर करिम जन्नतको शिकार बने । साहबको बलिङमा आउट भएका नन्दन यादव शून्यमै पभेलियन फर्केका थिए ।

भैरहवाको जित

ईपीएलअन्तर्गत बुधबार भएको एलिमिनेटर खेलमा भैरहवा ग्लाडियटर्सले काठमाडौं किंग्स इलेभेनलाई १६ रनले पराजित गर्‍यो । योसँगै काठमाडौं किंग्सको ईपीएल यात्रा समाप्त भयो । उता भैरहवाले फाइनलमा पुग्न आज पोखरासँग खेल्दैछ ।

भैरहवाले पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानमा १ सय ८८ रनको बलियो योगफल बनाएको थियो । टोलीका लागि कप्तान शरद भेषवाकरले कप्तानी इनिङ खेले । उनले २० बलमा ७ चौका र ३ छक्का प्रहार गरेर ४९ रन बनाएका थिए । उनी अर्धशतक पुग्नबाट एक रनबाट चुकेका थिए । उनलाई काठमाडौंका कप्तान सन्दीप लामिछानेले आउट गरेका थिए । लामिछानेले २ विकेट लिएका थिए ।

जवाफमा काठमाडौंले निर्धारित २० ओभरसम्म खेले पनि ८ विकेट गुमाएर १ सय ७२ रनमै सीमित हुन पुगेको थियो । टोलीका लागि ओपनर अशान प्रियन्जनले सर्वाधिक ६८ रन जोडेका थिए । उनले ५ चौका र ४ छक्का प्रहार गरेका थिए । अन्यले खासै राम्रो ब्याटिङ गर्न नसक्दा काठमाडौंले भैरहवासामु जितको झण्डा फरफराउन सकेन ।

प्रतिक्रिया दिनुहोस्