कुलेखानीको कलश



आज घटस्थापना । नेपालीहरूको ठूलो चाड बडादशैं प्रारम्भ भएको दिन । यस चाडको प्रारम्भ जलले पूर्ण कलशको स्थापना र जमराको बीज रोपेर गरिन्छ । यसैबेला इन्द्रसरोवर पनि भनिने कलशरूपी कुलेखानी टन्न भरिएको समाचार बाहिर आएको छ । कुलेखानी जलाशय भरिँदा मुलुकमा लोडसेडिङ हुने सम्भावना कम हुनु स्वाभाविक छ । मुलुकको विद्युत् आपूर्तिमा ६०, ३२ र १४ मेघावाट क्षमताको कुलेखानी एक्लैले पुग्ने त होइन, तर पनि यसको योगदान महत्वपूर्ण छ । सफलता, प्रसन्नता र उज्याला पक्षहरूले नै वडादशैंलाई सफल बनाउने भएका कारण कुलेखानी जलाशयका लागि यस पटकको वर्षाले योगदान दिएको छ । यसअघि २०७२ सालमा भरिएको यस जलाशयमा मूल फुट्नेगरी यसबीच वर्षा भएको थिएन ।

कुलेखानी जलाशय भरिने थाहा नगरबाट बगेर आउने ठाडोखोला, चित्लाङ खोला, फाखेलको महालक्ष्मीलगायत जलाधार क्षेत्रका खोलानालाले सहयोग गर्दछन् । भारी वर्षाका कारण कुलेखानीको माथिल्लो क्षेत्रका खोलामा बाढी आएकाले कुलेखानीमा पानी जम्मा हुने क्रम तीव्र भएको हो । माथिल्लो क्षेत्रमा पानीको मूल नफुटी कुलेखानी भरिने अवस्था नरहेको विज्ञहरू बताउँछन् । मुलुककै ‘पावर ब्याकअप’ का रूपमा उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयले करिब ३ सय मिटर चौडा र ७ किलोमिटर लम्बाइको क्षेत्रफल ओगटेको छ । पानीको सतह बढेर आएपछि आइतबारदेखि छाल चल्दा पानी पर्खाल नाघेर बाहिर बगेको समाचार बाहिर आएको छ । जलाशय भरिएपछि जलाधार क्षेत्रका बासिन्दालाई सतर्क रहन जानकारी गराइएको थियो । जलाशय भरिएपछि पानी पर्खाल नाघेर कुलेखानी नदी हुँदै वागमती नदीमा मिसिन्छ । जलाशयमा ड्याममाथि बालुवाका बोरा राखेर थप ५० सेन्टिमिटर पानी संकलन गर्न सकिने भए पनि त्यसो गरिएको छैन । २०७२ वैशाखको भूकम्पले ड्यामका केही भाग चिरा परेकाले बढी भार थप्ने काम गर्नु ठीक नहुने ठहर नेपाल विद्युत् प्राधिकरणको छ । आयोजना हाल दैनिक करिब ५ घण्टा मात्र सञ्चालनमा आउने गरेको र सो समयमा बढीमा ९ सेन्टिमिटरसम्म पानी खपत हुनेगरेको अवस्था छ । २०७२ पुसमा कुलेखानीमा पानीको सतह १ हजार ५ सय २६ दशमलव ९७ मिटरमा सतह पुगेर स्थिर भएको थियो ।

मानवनिर्मित जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजनाका तीन परियोजनाबाट निस्किने कुल १ सय ६ मेगावाट विद्युत् मुलुकको लागि मेरुदण्ड हो । लामो समयदेखि राजनीतिक स्थायित्व र असल शासनको अभावका कारण निराशापूर्ण अवस्थामा रहेका नेपाली नागरिकले बडादशैंमा सुखद र सकारात्मक पक्षको खोजी गर्दै वातावरणलाई शुभकामनामय बनाउनु आवश्यक छ । यसका लागि घट्दो कोरोना कहर अर्को सन्दर्भ हुनसक्छ । कुलेखानी जलाशय भरिनुमा मानवीय भूमिका छैन । तर, कोरोना संक्रमण घटाउनमा हाम्रो योगदान प्रष्ट देख्न सकिन्छ । खासगरी, मानवीय योगदानका कारण भएका सकारात्मक पक्षको खोजी गरेर बडादशैं २०७८ मनाउन सके अझ बढी आत्मबलको विकास हुनेछ । आज विभिन्न खाले निराशाजन तरंगहरूलाई दबाएर उत्साहजनक किरणहरूले मानवीय चिन्तनको जलाशय भर्नु अत्यावश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्