प्रमुख सेनानी नै खेल्न उत्रिए



नेपाल समाचारपत्र‚ बाँके ।

नेपालगञ्ज रंगशालामा नेपाली सेनाको भैरवप्रसाद गण भर्सेस युनाइटेड क्लबका बीचमा फुटबल खेल हुँदै थियो । नेपालगञ्ज–२०‚ राँझामा रहेको भैरवप्रसाद गणको गणपतिसहित ठूलो संख्या बाजा लिएर रंगशालामा आएका थिए ।

खेल शुरू भयो । आर्मीको बाजा र हुटिङ शुरू भयो । खजुरा बिगाउँका युवासम्मिलित युनाइटेड क्लबले आर्मीलाई टक्कर दिइरहेको थियो । दुवै पक्षले मध्यान्तरसम्म राम्रा अवसर खेर फाले । भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की रंगशालाको भीआईपी कक्षमा बसेर आफ्ना खेलाडीको हौसला बढाउँदै थिए । आर्मीका खेलाडीले बल अगाडि बढाएपछि बाजा र हुटिङ चर्किन्थ्यो । रंगशालामा गुञ्जायमान हुन्थ्यो ।

खेलको ५६ मिनेटमा आर्मीका खेमराज शर्माले गोल गरे । आर्मीले अग्रता लिएसँगै गणपति प्रमुख सेनानी जनमत कार्की जर्सी लगाउन अगाडि बढे । लाग्थ्यो‚ उनी एक गोल गरेपछि मैदान प्रवेश गर्ने रणनीतिमा थिए ।

जनमत नै १० नम्बर जर्सी लगाएर मैदानमा प्रवेश गरेपछि आर्मीका खेलाडीको अझ हौसला बढ्यो । संगम चौधरीले ६१ मिनेटमा गोल गरे । ६८ मिनेटमा पुन: खेमराज शर्माले दोस्रो गोल गरेपछि आर्मी ३–० गोलले विजयी भयो ।

एक दशक नै त्रिभुवन क्लबबाट आर्मीको कप्तानी गरेका प्रमुख सेनानी कार्कीले फुटबल क्रेजले गर्दा नेपालगञ्ज रंगशालाको मुहार फेरिएको छ । दुई वर्षदेखि सरसफाइ नभएर झाडी भएको रंगशालालाई कार्कीले सेना लगाएर सरसफाइ गरिदिए । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति‚ नेपालगञ्जलाई व्यक्तिगतरूपमा घाँस काट्ने मेसिन उपलब्ध गराए ।

कार्कीको अग्रसरतामा रंगशालाको मैदान फुटबल खेल्नलायक भयो । अनि‚ आठौं राष्ट्रिय प्रतियोगितापछि पहिलोपटक नेपालगञ्ज रंगशालामा अहिले क्लबस्तरीय फुटबल प्रतियोगिता भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्