भक्तपुरलाई रग्बी उपाधि



नेपाल समाचारपत्र‚ काठमाडौंं ।

प्रदेश जिल्लास्तरीय सेभेन ए साइड बागमती सेभेन्स रग्बी प्रतियोगिताको उपाधि भक्तपुर रग्बी टोलीले जितेको छ ।

मध्यपुर थिमिमा भएको फाइनल खेलमा भक्तपुर रग्बीले नुवाकोट रग्बीलाई ५ का विरुद्ध १७ प्वाइन्टका साथ उपाधि जितेको हो । भक्तपुरले खेल अवधिभर ३ ट्राई गर्दा एकपटक कन्भर्सन गरेको थियो । एक ट्राई बराबर ५ अंक र एक कन्भर्ज बराबर २ अंकका हिसाबले ३ ट्राईको १५ र १ कन्भर्जको २ गरी १७ अंक ल्याएको हो ।

नुवाकोट रग्बीले भने एक ट्राई गरेको थियो । भक्तपुर रग्बीले नगद १५ हजार पुरस्कार प्राप्त गर्दा उप–विजेता भएको नुवाकोट रग्बीले १० हजारमा चित्त बुझायो । भक्तपुरका सविन महत उत्कृष्ट खेलाडी चुनिए । उनले नगद ५ हजार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत शनिबार महिलातफर्को उपाधि मकवानपुर रग्बी टोलीले जितेको छ । मकवानपुरले काठमाडौंं रग्बी टोलीलाई १ ट्राईले नै उपाधि जित्न पर्याप्त भयो । मकवानपुरले उपाधिसँगै नगद १० हजार प्राप्त गरेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिम तथा खेलाडीहरूलाई रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले पुरस्कार तथा मेडल र प्रमाणपत्र वितरण गरेका थिए । नेपाल रग्बी संघको आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा पुरुषतफर् ७ टोली र महिलातफर् ३ टोली सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्