मज्जा बनिरहेको खेललाई वर्षाले बनायो खल्लोे



नेपाल समाचारपत्र‚ काठमाडौंं । 

जतिबेला एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता शुरू भयो‚ त्यतिबेलादेखि नै वर्षाले प्रतियोगितालाई खल्लो बनाइदियो । वर्षाले गर्दा आधा दर्जन जति खेल हुन सकेनन् । सोमबार पनि वर्षाकै कारण एक रोमाञ्चक खेलको मज्जा निराशजनक बन्न पुग्यो । काठमाडौंं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल निकै प्रतिस्पर्धात्मकरूपमा अघि बढेको थियो ।

पहिले ब्याटिङ गरेको काठमाडौंंले १ सय ८३ रनको बलियो लक्ष्य पोखरासामु तेर्स्यायो । पोखराले जवाफी ब्याटिङमा ४ प्रमुख ब्याट्सम्यानबाट मात्र ३६ रन बनाएर गुमायो । यसपछि काठमाडौंंले सहजै खेल सकाउने संकेत गरेको थियो । तर‚ पोखराका ब्याटसम्यानले काठमाडौंंको त्यो नियतलाई विस्तारै निस्तेज पार्दै लगेका थिए । पोखराका लागि विवेक यादव र साहान आराचचिजले दबाबमा पनि शानदार ब्याटिङ गर्दा खेल रोमाञ्चक मोडमा पुगेको थियो ।

साहान र विवेकले पाँचौं विकेटका लागि ७७ रनको साझेदारी गर्दै १ सय १३ रनमा पुर्‍याए । काठमाडौँका कप्तान सन्दीप लामिछानेले यो साझेदारी तोडेका थिए । उनले साहानलाई आउट गरेर काठमाडौंंलाई खेलमा फर्काउन कोसिस गरेका थिए । साहानले ३ छक्का र २ चौकाको सहयोगमा ४३ रन जोडेका थिए । उनी आउट भए पनि विवेक र लोकश बमले स्कोर १ सय ४२ सम्म पुर्‍याए । १५ ओभरको खेल समाप्त हुँदा पोखराले जितको लागि ३० बलमा ४१ रन बनाउन आवश्यक थियो ।

यही बेला घनघोर वर्षा भएपछि रमाइलो खेलको अन्त्य हुन पुग्यो । यसपछि खेल हुन नसकेपछि डकवर्थ लेविस (डीएल) पद्धतिको आधार नतिजा निकालियो । जसमा पोखरा राइनोजले बाजी मारेर १४ रनको जित हात पारेको थियो । पोखराका विवेक ४१ रनमा र लोकश १८ रनमा नटआउट रहे । पोखराको जित सम्भव बन्न जितेन्द्र मुखियाको त्यो महँगो ओभर थियो । १५औं ओभरमा बलिङ गर्न आएका मुखियाले तीन चौकासहित १८ रन खर्चेका थिए ।

यो नतिजा काठमाडौंंका लागि निकै पीडादायक बन्यो । काठमाडौंंले प्लेअफमा पुग्न यो खेल जित्नै आवश्यक थियो । तर‚ वर्षाका कारण नतिजा पोखरातिर गएपछि काठमाडौंंले प्लेअफमा पुग्न अर्को खेल कुर्नुपर्ने भएको छ । आज काठमाडौँले भैरहवा ग्लाडियटर्ससँग खेल्दैछ । काठमाडौँको हारको कारण बलर मुखियाको एक ओभर नै कारक बन्यो । शुरुआतमा दुई विकेट लिएर नायक बनेका उनको ओभरमा २ चौका प्रहार भए भने एक बल वाइड र एक बल बाइ हुँदै चौकामा परिणत भएको थियो ।

जारी ईपीएलमा तीन टोलीले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । चितवन टाइगर्स‚ भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज प्लेअफमा पुगिसके । बाँकी एक टोली ललितपुर प्याट्रियटस र काठमाडौंं किंग्समध्ये एक भाग्यमानी बन्नेछ । ललितपुरको ५ खेलबाट ३ अंक रहे पनि प्लेअफमा पुग्ने सम्भावना छ । यदि काठमाडौं आज हुने खेलमा पनि हारेमा ललितपुरले प्लेअफ खेल्नेछ । काठमाडौंले प्लेअफमा पुग्न भैरहवालाई हराउनै पर्छ । काठमाडौंको ४ खेलबाट २ अंक मात्रै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्