धौनाखोलीमा प्रहरी पोस्ट स्थापना



बैतडी, (नेस) ।

बैतडीको पुर्चौडी नगरपालिका ३ र ४ को बीचमा पर्ने धौनाखोलीमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले उक्त प्रहरी चौकीको उद्घाटन गर्नुभएको थियो ।

प्रहरी चौकी स्थापनाले उक्त क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणमा आउने विश्वास गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्ने अधिकांशले नागरिक र प्रहरीबीच समधुर सम्बन्ध भए मात्र सुशासन कायम हुनुका साथै आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सकिने बताएका थिए ।

तत्कालललाई उक्त चौकीमा प्रहरी हवल्दारको नेतृत्वमा ६ जना प्रहरी रहने बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । यसका साथै स्थानीय तहसँग समन्वय गरी सुरक्षा अवस्थालाई मजबुद पार्न जनशक्ति बढीभन्दा बढी परिचालन गरिने छ ।

हाल जिल्लाभर २४ प्रहरी चौकी, दुई इलाका प्रहरी कार्यालय, सीमा प्रहरी चौकी एक र चार अस्थायी प्रहरी पोस्ट स्थापना भइसकेका छन् ।
उद्घाटन कार्यक्रममा प्रजिअ पाण्डेसहित, पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवर,बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रमेश पाल, सशस्त्र प्रहरीका प्रमुख गणेश शाह, हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर राना, जनप्रतिनिधि, स्थानीय बासिन्दालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्