दिकदार जनता



राजनीतिक दलका नेताहरूको व्यवहारका कारण जनता दिकदार छन् । नेताहरूको ढोका–कोठासम्म पुगेर चाकडी गर्ने समर्थकको झुण्डलाई हेरेर दलका अगुवाहरूलाई लागिरहेको छ, भित्र–बाहिर हाम्रै माहोल छाएको छ । हामीभन्दा अर्को उत्तम नभएकाले जनतासँग हामीलाई छोडेर अन्त जाने विकल्प छैन । तर, यथार्थमा चाकडीमा जानुपरेकोमा भित्रभित्रै नागरिकहरू अपमानबोध गरिरहेका छन् । राणाकालीन व्यवस्था र पञ्चायतकालीन चलनमा जसरी नेता रिझाउने काम हुन्थ्यो, आज संघीय लोकतान्त्रिक गणतन्त्र कालमा पनि त्यही चलन, मात्र चाकडी खानेहरू फरक । त्यसैले गणतन्त्रवादी भनेर चिनिएका केही नेताहरू राजतन्त्रमा फर्किने हदसम्मको निर्णय गर्नथालेका छन् । व्यक्ति–व्यक्तिको चिन्तनमा यति ठूलो छलाङ आउँदा पनि दलका नेताहरू आफ्नो देवत्वकरणमा निरन्तर लागिरहेका छन् । मुलुकमा सुन्दर संविधान र राम्रा ऐनहरू आएका छन्, तर त्यसको निराशाजनक कार्यान्वयनका कारण जनता दिकदार छन् ।

सबै राजनीतिक दलका नेता उत्तिकै खराब छन् भन्ने होइन, बीसको उन्नाइस छन् । तर, पूर्णतः इमान्दार नेताको अभाव छ । कमिसन र चन्दा नलिई राजनीतिक नियुक्ति दिने नेता संघीय गणतान्त्रिक नेपालमा आजसम्म नभेटिनु दुर्भाग्यपूर्ण छ । यस व्यवस्थामा निर्वाचन प्रणाली नै महँगो भएका कारण साहु, उद्यमी, व्यवसायी र राजनीतिक नियुक्तिका प्रत्यासीसँग चन्दा लिन बाध्य छौं भन्ने अभिव्यक्ति नेताहरूबाट बारम्बार सार्वजनिक हुनेगर्दछ । तर, त्यसको समाधानका लागि संसद्मा ठोस प्रस्ताव लाने तत्परता कसैले देखाउन सकेको छैन । हुन त लोकतान्त्रिक व्यवस्थाप्रति वितृष्णा जगाउन सुनियोजित रूपमा दल र नेताप्रति आक्षेप लगाउने गलत प्रचारबाट सचेत बनौं भनेर नेताहरूले जनतालाई प्रशिक्षण दिनेगरेका छन् । तर, अहिंसावादी बनेर शान्तिको पाठ सिकाउने प्रशिक्षककै हात रगतले लतपतिएको देखिन्छ । संसदीय व्यवस्थाले नयाँ राजाहरू जन्मायो, नयाँ सामन्त सिर्जना गर्‍यो, राजा सच्चिएर आउँछन्, कम्युनिस्टहरूलाई सम्मान दिन्छन् भने हामी सहकार्य गर्न तयार छौं भन्दै प्रतिगमनका स्वरहरू राष्ट्रियस्तरकै नेताहरूबाट बाहिर आउन थालेका छन् । यस्ता स्वरहरूले राजनीतिक नेतृत्वको वर्तमान मानसिकता प्रष्ट पार्दछन् भने पार्टी कार्यकर्तामा सिर्जना भएको निराशा र आलस्य हेर्न गोदावरीमा शुक्रबारदेखि सञ्चालन भई आइतबार समाप्त भएको एमालेको विधान महाधिवेशन हेरेपुग्छ । आफूलाई कम्युनिस्ट भन्नेहरूले द्वन्द्वात्मक भौतिकवाद पोलेर खाइसके, आत्मालोचना गरेर सुधारका लागि तत्पर हुने मानसिकता नै छैन ।

यस प्रकारको निराशालाई विश्लेषण गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र असफलतातिर अघिबढेको आभास हुन्छ । कुनै मुलुकलाई नियन्त्रणमा लिनचाहने विस्तारवादी, साम्राज्यवादी वा उपनिवेशवादीहरू त्यस मुलुकको नागरिकमा यस्तै अवस्था सिर्जना भएको ताकमा हुन्छन् भनिन्छ । राजनीतिक दलका नेताहरूबीच अविश्वास, अर्काे पार्टीको नेता मात्र खराब तर आफू असल, दोष र कमजोरी अरुको मात्र तर आफू भने इमान्दार भन्दै प्रचारवाजी गर्ने, भाषणमा रमाउने प्रवृत्तिले नागरिकमा निराशा चुलिएको छ । तर कसैले निराशा व्यक्त गर्‍यो भने गणतन्त्रवादी नेताहरू ‘अब हामी सच्चिन्छौं’ भनेर प्रतिवद्धताका साथ प्रकट हुन चाहँदैनन् । यही नै आजको राजनीतिक गम्भीर स्खलन हो । यसलाई तत्कालै सच्याउन नसके मुलुकले अप्रिय परिणाम भोग्नुपर्ने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्