जिल्लास्तरीय वार्षिक समीक्षा शुरु, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सम्मानित



मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले आईतबार देखि धुलिखेलमा जिल्ला स्थित पालिकाहरु तथा विषयगत कार्यालयहरुको बार्षिक समीक्षा आयोजना गरेको छ । जिल्ला स्तरीय समिक्षा गोष्ठीमा पुर्व मन्त्री एवं संघीय सांसद गोकुल बास्कोटाले जिल्लाको समृद्धीका लागि विकासको मार्गचित्र प्रस्ट भएकाले त्यसका लागि सबै पक्षले ध्यान दिनु पर्ने बताउनु भएको थियो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व मन्त्री बास्कोटाले जनप्रतिनिधि र कर्मचारी बीचको समन्वय हुन सकेन भने मुलुकले गति लिन नसक्ने बताउनु भयो । ‘समयमै स्थानीय निर्वाचन गरी जनताको घरदैलोमा रहेको सरकारलाई कृयाशिल बनाई राख्नु पर्छ’–पुर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘२०५९ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भएका बखत स्थानीय निकाय विघटन गराए जस्तै फेरी त्यहि अवस्था आउन नदिन गठवन्धनको ध्यानाकर्षण गराउँछु ।

देउवाबाट निर्वाचनको अपेक्षा त गरिएको छैन तर फागुन भित्रै स्थानीय तहको निर्वाचन गर्नु पर्ने कानुनी ब्यवस्था ख्याल गर्न अनुरोध गर्दछु ।’ पुर्व मन्त्री बास्कोटाले नेपालको संविधानमा स्थानीय तहमा संसदिय दल नहुने भए पनि अध्यादेश मार्फत संविधान र कानुन विपरित स्थानीय तहमा दल फुटाउने प्रयास गरिएको बताउनु भयो । केपी ओलीलाई प्रतिगमन ग¥यो भन्नेहरुले संविधान मिचेको विषयमा अग्रगमन भएको बताउनु शरम पचेको बताउनु भयो ।

काभ्रेपलाञ्चोक जिल्लाको विकासका सुचकांकहरु सुध्रदै गएकाले राष्ट्रिय लक्ष्यमा काभ्रेले जग बसाउने काम शुरु गरेको पुर्व मन्त्री बास्कोटाले बताउनु भयो । ‘जिल्लाको समृद्धका लागि पूर्वाधार विकासमा फड्को मारेको छ’–शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई तथा कनेक्टिभिटी, कृषि, पशुपालन क्षेत्रमा पनि उल्लेख्य प्रगति भएको छ ।’ कोभिड पछिको आर्थिक समृद्धीका बारेमा योजना बनाउनु पर्ने बताउँदै पुर्व मन्त्री बास्कोटाले नेपालमा शासन जननिर्वाचित प्रतिनिधिबाट नभई न्यायालयबाट संचालन भएको बताउनु भयो ।

समीक्षा कार्यक्रममा पहिलो दिन धुलिखेल, बनेपा, पनौती, मण्डनदेउपुर, नमोबुद्ध, पाँचखाल नगरपालिकाका प्रमुख प्रशासयिक अधिकृतहरुले आर्थिक वर्ष २०७७÷२०७८ मा भएका प्रगति तथा समस्याका बारेमा प्रस्तुती गरेका थिए । समीक्षा कार्यक्रममा बागतमी प्रदेश सभा सदस्य गोमा भुर्तेल, जिल्लाका सबै पालिकाहरुका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले जिल्ला समन्वय समितिमा कर्मचारी आउन नचाहने, स्थानीय तहले पनि समन्वय समितिलाई बुझाउनु पर्ने रोयल्टी नबुझाएको जस्ता विषयमा सहजिकरण हुन नसकेको बताउनु भयो ।
सोमबार हुने समीक्षा कार्यक्रममा गाउँपालिकाको प्रस्तुती रहने समन्वय अधिकारी केशव रिजालले बताउनु भयो । कार्यक्रममा उपप्रमुख मञ्जु गौतम लगायतले मन्तब्य राख्नु भएको थियो ।

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सम्मानित

जिल्ला समन्वय समिति काभ्रेले कोभिड महामारीमा उत्कृष्ट कार्य गरे बापत स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झा, धुलिखेल अस्पताल र बनेपाको शिर मेमोरियल अस्पताललाई सम्मान गरेको छ । डा. नरेन्द्रकुमार झाले निरन्तर नागरिकहरुका लागि कोभिड १९ रोकथाम, नियन्त्रण र ब्यवस्थापन सँगै खोपमा उत्कृष्ट सेवा प्रवाह गरिरहनु भएको छ भने धुलिखेल र बनेपाले उत्कृष्ट उपचार सेवा प्रदान गरेको छ ।

धुलिखेल अस्पतालका संस्थापक बरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोँजु, प्रशासयिक निर्देशक डा. रमेश माकजु, अस्पताल प्रशासक प्रधुम्न श्रेष्ठ, शिर मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डाक्टर हेक्टर गायरल सममानित हुनु भएको थियो । डा. झालाई यस अघि राष्ट्रपति पुरस्कार बाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्