पाँच दलको भविष्य



कम्तीमा आगामी संसदीय निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने दाबी माधवकुमार नेपाल लगायतका नेताहरूले गरे पनि व्यवहार हेर्दा यो आजकै मितिमा गतिहीन, अस्वाभाविक र अव्यावहारिक प्रमाणित भइसकेको छ । सरकार गठन भएको अढाइ महिना बितिसक्दा पनि सो गठबन्धनका प्रधानमन्त्री शेरबहादुरले यसलाई पूर्णता दिन नसकेपछि गठबन्धनको व्यावहारिक स्वरूप कति कमजोर रहेछ, प्रष्ट भइसकेको छ । गठबन्धनमा अहिले कुन दलले कति मन्त्रालय पाउने भन्नेमा चर्को तनाब छ । अरू दलको कुरा परै राखौं, सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्रै अहिले मन्त्रालयको बागबन्डालाई लिएर चर्को बहस शुरू भएको छ ।

कांग्रेसको संस्थापन पक्ष र विद्रोही पक्षबीच मन्त्रालय बाँडफाँडको विषयलाई लिएर चर्काचर्की मात्र भएको छैन, प्रधानमन्त्रीस्वयम् संसदीय दलको बैठक बहिष्कार गरेर हिड्नुपर्ने अवस्था सिर्जना भएको छ । यसले के देखाउँछ भने एउटै दलभित्र पनि कसको मान्छेले बढी मन्त्री पाउने भन्ने लडाइँ नै चलेको देखिन्छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा सल्लाह नै नगरी मन्त्री नियुक्त गरेर प्रधानमन्त्रीले अधिनायकवादी शैली अपनाएको भन्दै तीव्र आलोचना गर्नुभएको छ । सोही आलोचनापछि देउवाले आफ्नै पार्टीको बैठक बहिष्कार गरेर हिड्नुपर्ने अवस्था सिर्जना भएको हो । यस अवस्थाको सरकारबाट जनताले अपेक्षा गर्ने ठाउँ नदेख्नु अस्वाभाविक होइन । मुलुकको आवश्यकता के हो जनताले के खोजेका छन् भन्नेतिर सरकारको ध्यान जान नसक्नुले पनि सरकारको चरित्र उदाङ्गो बनाइदिएको छ । मुलुकमा विभिन्नखाले समस्या ज्यँुका त्युँ छन्, तर सरकार र पार्टीहरू कुर्सीको वरिपरि मात्र घुमिरहेका देखिन्छन् । नेताहरू मुलुकलाई तत्कालै कायापलट गर्ने भन्दै चर्का भाषण गर्न पछि पर्दैनन् तर कुनै पनि कामले गति लिएको देखिँदैन । भनाइ र गराइमा एकरूपता नहुँदा नेताको विश्वसनियतामाथि प्रश्न उठेको छ तर नेताहरूलाई यस्ता विषयवस्तुले छुनेगरेको छैन । अहिले सत्तारूढ दलभित्र देखिएको चरम पदलोलुपताले उनीहरूको चरित्रमाथि आरोपै आरोपले भरिएको छ । हरेक ठाउँमा आफूले पाउने भाग कति हो भनेर प्रश्न गर्दै हिड्ने नेताहरूको चरित्रले मुलुकलाई अधोगतितर्फ धकेलिरहेको छ । मुलुकभर बनेका भौतिक संरचनाको उचित संरक्षण हुन सकेको देखिँदैन । सडकहरूको अवस्था बेहाल छ । राजधानीको फोहोर एक महिनासम्म सडकमा नै थुप्रिएर बस्दासमेत त्यसको दीर्घकालीन व्यवस्थापन हुन सकेको देखिँदैन ।

नेपाली राजनीतिमा विधान मिच्ने, अधिनायकवाद लागु गर्ने र एकले अर्कालार्ई दोष लगाएर उम्कने परम्पराले निरन्तरता पाउँदै गएको छ । मुलुकलाई अल्पविकसितबाट विकसित चरणमा उकाल्ने प्रण गरेका नेताहरूको ताल हेर्दा विकसित मुलुकको परिकल्पना सपनामा परिणत हुने खतरा बढ्दै गएको देखिन्छ । त्यसैले, राज्य सञ्चालन गर्नेहरूले तेरो–मेरो नभनी मुलुकको उन्नतिका लागि व्यक्तिगत स्वार्थ र मोहलाई त्याग गर्नुपर्ने बेला आइसकेको छ । एउटै व्यक्तिले पटक–पटक सत्ताको बागडोर समाल्दा नागरिकमा दिक्दारी छाएको छ । यस मुलुकको उन्नति हुन्न भन्ने एक किसिमको निराशाले व्यापक रूप लिएको छ । निराशा र अवसरविहीनताकै कारण युवा पुस्ता विदेश पलायन भएको छ । तर, अब निराशाको यो अवस्था अति भएको होइन र ?

प्रतिक्रिया दिनुहोस्