पराजित इन्द्रको सम्मानमा इन्द्रजात्रा



सुनील महर्जन

देवताका राजा इन्द्रलाई चोर सावित गरी कान्तिपुरवासीले माग पूरा गर्न बाध्य पारेकोे दिनको सम्झनामा इन्द्रजात्रा मनाइन्छ। यसरी हेर्दा इन्द्रजात्रा पराजित इन्द्रको सम्मानमा आयोजित स्थानीय नागरिकको विजयको जात्रा हो।

जात्रामा बाजागाजा, पल्टन, धिमे आदिको सुमधुर स्वरका बीच हर्षोल्लास हुन्छ। रथयात्रा र पूजाआजा सम्पन्न गरिन्छ। यस अवसरमा विभिन्न मुकुण्डो नाचका टोलीहरू आफ्नो कला प्रदर्शन गर्दै हिँड्छन्। तीमध्ये लाखे, सवः भक्कू, महाकाली नाच, पुलुकिसी आदि लोकप्रिय छन्। यी नाच अरू बेला पनि विभिन्न चोकमा नचाइन्छ।

यःसि ठड्याउने, दबू प्याख ‘लाखे प्याख’, इन्द्रलाई बाँधेर राख्नेजस्ता उत्सव र गुठी पूजालगायत जात्राका आकर्षण हुन्। पाल्चामा बत्ती बाल्ने उपाकु वनेगु कार्यक्रम हुन्छ। भजन मण्डलीको छुट्टै कार्यक्रम हुन्छ। त्यसैले, यो एउटा उत्सव मात्र होइन, थुप्रै उत्सवको संयोजन हो भन्न सकिन्छ।

कुमारीको रथ पुगेपछि कसो गर्ने, लाखे नाच कतिखेर गर्ने, रक्सी कतिखेर बगाउनेलगायत क्रियाकलापका आ–आफ्ना साइत हुन्छन्। येंयाः पुन्ही नेवारहरूको छ्वयला (पोलेको मासु) र ऐला (रक्सी) को विशेष पर्व हो। यस दिन विभिन्न देवदेवीको मन्दिरमा समयबजी चढाउने गरिन्छ। बजी (चिउरा) र सियाबजी (फुरेको चिउरा) को रासमा कालो भटमास, सेतो बोडी, हाँसको उसिनेको फूल, माछा, अदुवाका टुक्रा, मासको बारा र साँधेको छ्वयला कलात्मक ढंगले सिंगारिएको हुन्छ।

झट्ट हेर्दा थुम्कोजस्तो देखिने त्यो बजीको साथमा माटाका ठूल्ठूला पाला (प्याला) हरूमा ऐला (रक्सी), थोँ (सेतो जाँड), ह्याउँ थोँ (रातो जाँड) आदि पेय पदार्थ पनि सजाइएको हुन्छ। घर–घरमा पनि यी सामग्री तयारै हुन्छन्। साँझको भोज भन्नु नै समयबजीको भोज हुन्छ, यँन्याः पुन्ही।

मानिसहरू मिलेर साँझतिर ‘मासुसमेत आउने गरी समय चिउरा पाऊँ’ भन्ने नेवारी भाकामा ‘ला छकु वय्क सम्यबजी’ भन्दै छरछिमेकका घर–घर चहार्ने चलन रहेको छ।

यी पर्व यहाँको संस्कृति, मानिस र स्थानहरूसँग जोडिएका हुन्छन्। किराँत, लिच्छवि र मल्लकालदेखि नै यो संस्कृति चल्दै आएको हो। त्यसमा पनि गुठी स्थापना पाँचौं शताब्दीबाट भएको थियो। यसले पनि सम्पदा तथा संस्कृति जगेर्नामा ठूलो भूमिका खेल्छ। गुठीले सामाजिक कार्य, चाडपर्व, भजन सञ्चालन गर्छ। गुठीकै कारण अमूर्त कला, संस्कृति एवं परम्परा जर्गेना हुँदै आएको छ। परम्परादेखि चलीआएको सम्पदा एवं संस्कृतिमा पृथ्वीनारायण शाहको काठमाडौं विजयले केही असर पारेको थियो।

येँयाको अवसरमा धेरैका मनमा कुमारी, भैरव र गणेशका रथ, आकाश भैरवको मुकुण्डो, नेवारी परिकारले सजिएका समयःबजीको थुप्रै, लाखे र पुलुकिसीका चर्तिकला, शोभा भकु र महाकाली देवीगणका नाच चित्रित हुन्छन्। टोल–टोलका खाँबामा बाँधिएका इन्द्र र उहाँको सम्मानमा बालिएका दियो र बीच बाटोमा हाथाद्योको घ्याम्पोबाट निस्कने जाँडको मजा यस जात्राका अन्य विशेषता हुन्। सम्पदा अध्येता पदमसुन्दर जोशीका अनुसार काठमाडौंका कहिले साँघुरिने र कहिले फुक्ने गल्लीहरूबाट गुड्ने रथ, लाखे र झ्यालिँचाका जोसिला हर्कतले यो पर्वलाई महोत्सवको रूप दिँदै आएको छ।

श्वेत भैरवको प्रसाद पाइपबाट मदिरा

झण्डै १५ फिट अग्लो विशाल आकृतिलाई वर्षभरि हनुमानढोकास्थित नौझ्याले घरमा बन्द गरिन्छ। येंया पुन्ही, अर्थात् इन्द्रजात्रामा भने बन्द घर सार्वजनिक प्रदर्शनमा आउँछ। घरभित्र हेर्दा देखिन्छन्– हाथु द्यः अर्थात् श्वेत भैरव।

इन्द्रजात्राको अवसरमा नौझ्याले घरका सबै झ्याल खोलेर श्वेत भैरवलाई प्रदर्शनमा ल्याइने गरिन्छ। द्वादशीको दिन लिङ्गो ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ। यसै दिनबाट जात्रा नसकिदासम्म श्वेत भैरव प्रदर्शन गरिन्छ। बेलुकी हाथ्व हायकेगु अर्थात श्वेत भैरवको प्रसाद स्वरूप जाँड–रक्सी खुवाउने काम हुन्छ।

आठ दिनसम्म चल्ने यो जात्रा अवधिभर जाँड–रक्सी खुवाइन्छ। भैरवको मुखमा पाइप लगाएर दिनको करिब ८० लिटर जाँड–रक्सी अनवरत रूपमा खुवाउने परम्परा छ।

खानेको पनि भीड हुने गर्दछ। त्योभन्दा चार दिनअघि जाँड बनाउन थालिएको हुन्छ। जाँड बनाउने तरिकालाई ‘प्वः हायगु’ भनिन्छ। यसमा मना (जाँड बनाउने सामान) र अनिवार्य रूपमा ताइचिनको चामल हाल्नुपर्छ। यस प्रक्रियाबाट तयार भएकोलाई ‘पोक’ भनिन्छ। इन्द्रजात्रामा सात दिन जाँड खुवाइन्छ भने एकदिन रक्सी। रथयात्राको पहिलो दिन (पूर्णिमा) मा कुमारी, भैरव र गणेशलाई प्रसाद स्वरूप रक्सी खुवाइन्छ। बाँकी दिन जाँड हुन्छ। एक दिन महिलाका लागि मात्र जाँड खान छुट्याइएको छ। माथिल्लो टोल (ठहने) मा रथ तानेको भोलिपल्ट महिलाले जाँड खाने चलन रहेको छ।

प्रतिक्रिया दिनुहोस्