दलमा दम्भ



राजनीतिका दललाई बाटो देखाउने भनेको सिद्धान्तले नै हो । विचार र सिद्धान्त अंगीकार गर्दै राजनीतिक दलहरूको जन्म हुने गरेको पनि छ । तर, पार्टी गठन हुँदा उठाइएका विचार र सिद्धान्त जब उनीहरू सत्तामा पुग्छन् तब त्यसको अस्तित्व बाँकी रहन्न । सत्ताको उन्माद र दम्भमा विचार र सिद्धान्तलाई नै तिलाञ्जलि दिने गरिन्छ । खासगरी दलका नेताहरूको दम्भका कारण दलहरू विभाजित भएका छन् ।
जसरी जग बलियो नहुँदा घर कमजोर हुन्छ, त्यसै गरी राजनीतिक दलहरूबीच देखिने विभाजन र विवादले राष्ट्रियता नै कमजोर हुनेगर्छ ।

देश र जनताको लागि राजनीति गरेको दाबी गर्दै आएका राजनीतिक दलहरूको आफ्नो स्वार्थ पूर्तिका लागि देश निर्माण गर्ने अभिभारा भने नारामा नै सीमित हुन पुगेको देखिन्छ । राजनीतिमा दूरदर्शी नेतृत्वले पहिचान गर्ने दीर्घकालीन योजनाबाटै देश अगाडि बढ्ने मार्ग प्रशस्त हुन्छ । नेपालको सन्दर्भमा पनि राजनीतिक दलहरूले परिवर्तनका लागि गरेको आन्दोलन सकारात्मक छ । राजनीतिक परिवर्तनमा नागरिकले ठूलो आशा र अपेक्षा गरेर राजनीतिक दलहरूलाई विश्वास गरेकै कारण आजको परिवर्तन सम्भव भएको हो । राजनीतिक नेतृत्वमा देश विकास गर्ने भिजन नहुँदा समृद्धिको कल्पनाले सार्थकता पाउन सक्दैन । कल्पना नै एउटा योजना हो भनेझैं राजनीतिक नेतृत्वले देख्ने सपनाबाट देश विकासको आधार तयार हुनेगर्छ । नेपालमा ५० भन्दा बढी राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भएका छन् । दर्ता भएकामध्ये आधा दर्जनभन्दा बढी दलहरू मात्र अस्तित्वमा रहेका छन् । निश्चित उद्देश्यसहित खोलिएका राजनीतिक दलहरू हमेसा सत्तामा पुगेपछि आन्तरिक विवादमा रुमलिने गरेका छन् । सत्ताका कारण शुरू हुने विवादले अन्ततः पार्टी विभाजन हुनेगरेको छ । पछिल्लो उदाहरणका रूपमा नेकपा एमाले र जनता समाजवादी पार्टीको विभाजनलाई लिन सकिन्छ । राजनीतिक विचार र सिद्धान्त नमिल्ने भएपछि दल एउटै रहन सक्दैन । विचार नमिलेका कारणले भन्दा पनि राजनीतिक दलका शीर्ष नेतृत्वमा देखिएको जुँगाको लडाइँका कारण दल विभाजित बन्ने गरेका छन् । विचार र सिद्धान्तलाई पाखा लगाउँदै आफ्नो व्यक्तिगत स्वार्थका कारण अन्ततः दलहरू विभाजित बन्ने गरेका छन् । देशभित्र ठूलो दल बनेल पनि टिक्न नसक्ने अभ्यास छ । जब ठूलो पार्टी बन्छ तब अनेक बहानाबाजीमा पार्टी विभाजित हुनपुग्छ । नेपाली कांग्रेस विभाजनबाट अलग हुन सकिरहेको छैन । नेपालमा कम्युनिस्टहरू झन् विभाजित हुने गरेका छन् ।

देशलाई अघि बढाउन सामूहिक चाहाना र भावना आवश्यक पर्ने भए पनि देश बनाउने अठोट गरेका राजनीतिक दलहरू एक–आपसमा आरोप–प्रत्यारोपमा अल्झिएका छन् । नेकपा एमाले र नेकपा एमाले समाजवादीलाई नै लिन सकिन्छ । दुवैले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त बनाएका छन्, समाजवादोन्मुख भएर शासन सञ्चालन गर्नेमा पनि उनीहरूमा समानता छ । तर पनि दल विभाजन भयो । यसको कारण खोज्दा एमाले अध्यक्ष केपी ओलीले कम्युनिस्ट पार्टीमा सामूहिक नेतृत्वको जुन अभ्यास हुन्छ त्यसलाई बिर्सनु र एक्लै निर्णय गर्नु प्रमुख कारण देखिन्छ । त्यसैले सिद्धान्तभन्दा पनि दलका नेताहरूको व्यवहार आज महत्वको विषय बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्