रोनाल्डोको लक्ष्य प्रिमियर लिग जित्नु



लन्डन, (एजेन्सी) ।

म्यानचेस्टर युनाइटेडमा फर्केका क्रिस्टियानो रोनाल्डोले यस सिजनको प्रिमियर लिग जित्ने लक्ष्य भएको स्पष्ट पारेका छन् ।

पोर्चुगिज सुपरस्टारले टिम खेलाडीलाई उनले यस सिजनमा उपाधि जित्न चाहेको बताएका हुन् । ३६ वर्षीय रोनाल्डो यस समरमा युभेन्टसबाट १९.८ मिलियन पाउन्डमा म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका हुन् । उनी यसअघि २००३ देखि २००९ सम्म ओल्ड ट्राफोर्डबाट खेलिसकेका थिए । यो उनको ओल्ड ट्राफोर्डमा दोस्रो स्पेल हो ।

रोनाल्डो यसै साताको बिहीबार पहिलोपटक आफ्नो पुरानो क्लबमा देखा परेका हुन् । उनी पूर्व टिम साथी डेरेन फ्लेचरसँग कुरा गरिरहेको तस्वीर सार्वजनिक भएको थियो । द सनले रिपोर्ट गरेअनुसार रोनाल्डोले उनकै राष्ट्रका साथी खेलाडी ब्रुनो फर्नान्डेजलाई यस सिजनको प्रिमियर लिग जित्न चाहेको बताएका हुन् । साथै उनले अरू खेलाडीलाई यस वर्ष जित्न जरुरी रहेको बताइदिन फर्नान्डेजलाई भनेका थिए ।
रोनाल्डो आएदेखि म्यानचेस्टर युनाइटेड टिमले विश्वास गरेको छ कि यो उत्कृष्ट टिम हो र यस सिजनमा प्रिमियर लिग जित्न सक्नेछ ।

टिमका खेलाडी उनका बारे कुरा गरिरहेको र उनीसँग अभ्यास गर्न आतुर भइरहेको पनि द सनले उल्लेख गरेको छ । हाल रोनाल्डो ५ दिन क्वारेन्टिनमा बसिरहेका छन् । उनले ३ सय ३५ मिलियन फलोअरर्सले उनको इन्स्टाग्राममा होटलमा बसिरहेको फोटो सेयर गरेका थिए ।
म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग उपाधि नजितेको पनि धेरै भइसकेको छ । सर एलेक्स फेर्गुसनको युगपछि उक्त क्लबले उपाधि जितेको छैन । गत सिजनमा म्यानचेस्टर सिटीले उपाधि जित्दा म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा रहेको थियो । तर, पहिलो र दोस्रो टिमबीच १२ अंकको फरक थियो ।

मेनेजर ओल गनार सोल्साएरले यस समरमा रोनाल्डोसहित जाडोन सान्चो र राफाएल भरानेजस्ता उत्कृष्ट खेलाडी भित्र्याएका छन् । क्लबले यी तीन खेलाडी किन्न १ सय ३५ पाउन्ड खर्च गरेको छ । उनको अपेक्षा रोनाल्डोमाथि नै रहेको छ । गत सिजनमा सिरि ए मा रोनाल्डो शीर्ष गोलकर्तासमेत भएका थिए । तर, रोनाल्डोकै पूर्व टिम साथी गेरी नेभिल भने कि रोनाल्डो आए पनि टिमले यस सिजनमा लिग जित्नेछैन ।

प्रतिक्रिया दिनुहोस्