मेलौलीका विद्यालय एक महिनामै बन्द



नेपाल समाचारपत्र, बैतडी ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै बैतडीको मेलौली नगरपालिकाका विद्यालय एक महिनामै बन्द भएका छन् । गएको साउन १० गतेदेखि भौतिकरूपमा विद्यालय सञ्चालन गरेको नगरपालिकाले अर्को सूचना नभएसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका केही व्यक्तिमा संक्रमण देखिएकाले संक्रमण नफैलियोस् भन्नका लागि विद्यालय बन्द गर्ने निर्णय भएको मेलौली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रकाश भट्टले जानकारी दिनुभयो । संक्रमणको जोखिम बढ्दै गएकाले अर्को सूचना नभएसम्मका लागि भौतिक उपस्थितिमै सञ्चालनमा रहेका विद्यालय बन्द गरिएका छन् । चाडपर्वको समय नजिकिए सँगै विदेशबाट घर फर्किने नागरिकको संख्या पनि बढ्दै गएकाले संक्रमणको जोखिम बढ्दै गएको नगरपालिकले जनाएको छ ।

यस्तै, नगरपालिकाले वैकल्पिक शिक्षणका उपायद्वारा शिक्षण सिकाइलाई अगाडि बढाउन आग्रह गरेको छ । अभिभावकहरुमा समेत कोरोना संक्रमण पुष्टि भएकाले विद्यार्थी सिकाइ सकजीकरण निर्देशिका–२०७७ अनुरूप वैकल्पिक तथा रचनात्मक विधिमार्फत कक्षा सञ्चालन गरिने जनाइएको छ ।

मेलौली नगरपालिकाले यसअघि गत साउनमा नगरक्षेत्रमा कोरोनाका सक्रिय संक्रमित संख्या शून्य रहेकाले विद्यालयहरु सञ्चालनमा ल्याएको थियो ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले पनि यसअघि सबै स्थानीय तहहरुलाई विद्यालय सञ्चालन नगर्न तथा सञ्चालनमा रहेका विद्यालय बन्द गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्