मुगु अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा उपचार सेवा प्रभावित



वीर बहादुर बम, मुगु ।

जिेल्ला अस्पताल मुगुमा विशेषज्ञ डाक्टर नहुँदा बिरामीको जटिल उपचार सेवा प्रभावित भएको छ । अस्पतालमा काज सरुवा भई आएका एमडिजिपी चिकित्सक सिद्धार्थध्वज खाती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान फर्केपछि अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव भएको हो । उनी ३ भदौमा आफ्नो काजको म्याद थप्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गएका थिए । तर, प्रतिष्ठानले उनलाई फिर्ता नपठाउने मनसाय देखाएको छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा विभिन्न उपचार सेवा अवरुद्ध भएको, जटिल खालका बिरामीले सास्ती भोग्नुपरेको निमित्त जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक ज्ञानसिंह बुढाले बताए । विशेषज्ञ डाक्टर खाली भएसँगै मुगु अस्पतालबाट एक सातामा आठजना बिरामी बाहिरी जिल्लामा रिफर भएका छन् । अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा हर्निया, हाइड्रोसिल, जटिल सुत्केरी अप्रेसनलगायतका सेवा अवरुद्ध भएका छन् । जटिल प्रकृतिका बिरामीलाई कर्णाली प्रतिष्ठान जुम्ला, भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक अस्पताल सुर्खेत रिफर गर्नुपर्ने अवस्था आएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सक खाली भएपछि मंगलबार जिल्ला स्वास्थ्य सेवा कार्यालयले सर्वदलीय बैठक राखेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश तथा संघलाई विशेषज्ञ चिकित्सकको व्यवस्था गरिदिन आग्रह गर्ने निर्णय गरेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बुढाले जानकारी दिए । जिल्ला अस्पतालमा करिब एक दर्जन करार चिकित्सक कार्यरत भए पनि विशेषज्ञ चिकित्सक भने छैनन् । भौगोलिक विकटता, सेवासुविधाको अभावजस्ता कारण देखाएर मुगु अस्पतालमा विशेषज्ञ चिकित्सक बस्न नमान्दा जटिल प्रकारका बिरामीको उपचारमा समस्या आएको हो ।जिल्ला अस्पताल बाहिर हेर्न लाई राम्रो भय पनि आबस्कउपकरण सहितको बिशेषज्ञ डाक्टर नहुदा जिल्लाका जटिल खालका बिरामी सकिनसकि लाखै खर्च गरेर जिल्ला बाहिर उपचारमा जानू परेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्