मुगुमा मास्क बैंक स्थापना



मुगु, (नेस) ।

विकट हिमाली जिल्ला मुगुमा मास्क बैंक सञ्चालनमा ल्याइएको छ । लायन्स क्लब अफ मुगु राराको अगुवाइमा जिल्ला सदरमुकाम गमगढीमा कोरोना संक्रमणलाई लक्षित गर्दै मास्क बैंक सञ्चालनमा ल्याइएको हो ।

‘हुनेले दिउँ नहुनेले लिउँ’ भन्ने नाराका साथ स्थापना गरिएको मास्क बैंक सञ्चालनका लागि छायाँनाथ रारा नगरपालिका, जिल्ला स्वास्थ्य सेवा कार्यालय, छायाँनाथ सहकारी, मुगु उद्योग वाणिज्य संघ, एनआईसी एसिया बैंक, डिप्रोस लघुवित्त, महाकाली नमुना माध्यामिक विद्यालय, सिद्धार्थ नेसनल बोडिङ स्कुल, नेपाल पत्रकार महासंघ मुगु शाखा, हिरिसडेक मुगु तथा हाम्रो सानो प्रयास काठमाडौँले मास्क सहयोग गरेको लायन्स क्लब अफ रारा मुगुका चार्टर प्रेसिडेन्ट विनोदकुमार मल्लले बताउनुभयो ।

हामीले पहिलो चरणमा बजार क्षेत्रमा आउने सर्वसाधारणलाई लक्षित गर्दै बैंक सञ्चालन गरेको र सहयोगी दाताहरूको सहयोगको आधारमा जिल्लाका अन्य बजार क्षेत्रमा पनि बैंक स्थापना गरिने चार्टर प्रेसिडेन्ट मल्लको भनाइ छ ।

मास्क बैकको उद्घाटन गर्दै छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले सरकारको एक्लो प्रयासले मात्र करोना संक्रमण नियन्त्रण गर्न नसकिने भएकाले निजी तथा सामाजिक क्षेत्रको पनि सहयोग र संलग्नता राज्यलाई चाहिएको धारणा राख्नुभएको थियो ।
मुगुका जनता गरिबीको रेखामुनि रहेकाले १० रुपियाँ पर्ने मास्क किन्न सक्ने अवस्थामा सम्म रहेकाले मास्क बैंक स्थापना हुनु प्रशंसनीय कार्य भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्