अवैध घरेलु मदिरा नष्ट



जाजरकोट, (नेस) ।

जाजरकोट प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । भेरी नगरपालिका–४ का विभिन्न बस्तीबाट बरामद गरेको अवैध घरेलु मदिरा, मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले भेरी नगरपालिका–४ गौरीखाली, बाँठाबारा, रानागाउँलगायतका बस्तीबाट ८ सय ५० लिटर मदिरा उत्पादन गर्ने कच्चा पदार्थ (जाँड), २ सय ५० लिटर अवैध घरेलु मदिरा, ६ सेट भाँडावर्तन, २५ किलोग्राम औषधि बरामद गरेको थियो । अवैधरूपमा उत्पादन गरेको घरेलु मदिरा बरामद गरी जनप्रतिनिधि, मालिका सामुदायिक सेवा, टोल सुधार समिति नागरिक समाजलगायत सरोकारवालाको रोहवरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले बताउनुभयो ।

समाजमा विकृति–विसंगति, जघन्य अपराध, गम्भीर प्रकृतिका घटनाको कारक तत्वका रूपमा रहेको अवैध घरेलु मदिरा भएकाले अभियानकै रूपम सञ्चालन गरेको छ । घरेलु मदिरा नियन्त्रणले शान्ति सुरक्षा, अपराध न्यूनीकरण हुने भएकाले अवैध घरेलु मदिरा नियन्त्रणको कार्यलाई अभियानका रूपमा सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताउनुभयो ।

नेपालको कानुनले बन्देज गरेका वस्तु उत्पादन तथा बिक्री–वितरण गर्दा समुदायमा विकृति–विसंगति, बलात्कार, चोरी, डकैती, लुटपाट जस्ता अपराधजन्य कार्य हुने भएकाले न्यूनीकरण गर्दै निर्मूल गरी सभ्य नागरिक निर्माण गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले बताउनुभयो । प्रहरीले अवैध घरेलु मदिरा नियन्त्रणको अभियान सञ्चालन गरेपछि समुदायमा झै–झगडा विकृति–विसंगति न्यूनीकरण हुँदै गएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्