सुदूरपश्चिममा गौरा पर्व मनाइँदै



नेपाल समाचारपत्र, बैतडी ।

चार दिनसम्म मनाइने सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा शुक्रबारदेखि शुरु भइसकेको छ । गौरा पर्वअन्तर्गत दोस्रो दिन शनिबार ‘नानीगौरा’ मनाइएको छ ।

व्रतालु महिलाहरुले शुक्रबार भिजाएका बिरुडा (पाँच प्रकारका अन्न) लाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहीआएको छ । आजको दिनलाई स्थानीय भाषामा ‘नानीगौरा’ भन्ने चलन रहीआएको छ । सवाँ, अपामार्गलगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिएको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका गोल्मा भाटले बताउनुभयो ।

बिरुडा पञ्चमी तथा अघिल्लो दिन भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रहीआएको छ । बिरुडाका साथै बारीमा फलेका विभिन्न प्रकारका फलफूल पनि गौरादेवीमा चढाउने प्रचलन रहीआएको छ । शनिबार दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझपख मीठोमसिनो खानुका साथै बिरुडा र फलफूलसहित व्रतालु महिलाहरुले सगुनफाग गाएर गौरादेवीको पूजाआजा गर्ने गरेका छन् ।

पौराणिक कालमा भगवान् महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी महेश्वर प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयो ।

दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो । सप्तमीका दिन गौरालाई भित्र्याउने चलन छ । भोलि नै महिलाले धारणा गर्ने विशेष प्रकारका धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन धारण गर्ने चलन रहीआएको छ । तागाधारी पुरुषहरुले जनैधारण गरेजस्तै सुदूरपश्चिममा महिलाले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् ।

गौराको समयमा सामूहिकरूपमा देउडा, ठाडो खेल, ढुस्को, धमारीलगायतका सांस्कृतिक खेल खेलिने गर्दछन् । कोरोना भाइरसका कारण सामूहिकरूपमा जमघट नहुनुपर्ने भएकाले गौराको रौनक नभएको स्थानीयले बताएका छन् । स्थानीयप्रशासनले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले मेलापर्व तथा भीडभाड गर्न रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्