अश्वारामा प्रहरी चौकीको माग



नेपाल समाचारपत्र, तुलसीपुर ।

असुरक्षाका कारण देखाउँदै तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका स्थानीयले प्रहरी चौंकीको माग गरेका छन् । गहतेखोला, तुलसीपुर–हापुरे सडकको रोटेपानी र बाघमारे सडकको भमकेखोला रातको समयमा असुरक्षित भएको भन्ने व्यापक जनगुनासो आएपछि अश्वारामा बसेको सरोकाकारवाला निकायको बैठकले यस्तो माग गर्ने निर्णय गरेको हो ।

पछिल्लो समयमा गाउँमा लागूऔषध दुव्र्यसनीमा लाग्ने युवा र बालबालिकाको संख्यामा वृद्धि, कुटपिट, लुटपाट, वन पैदावार चोरी निकासी र अवाञ्छित क्रियाकलाप बढ्न थालेपछि गाउँमा छलफल भएको थियो । लागूऔषध दुव्र्यसनीमा फसेकाहरुले नै रातबिरातको समयमा गहतेखोला, भमकेखोलालाई केन्द्रमा राखेर बस्ने र एक्लैदुक्लै हिँड्ने सर्वसाधरण नागरिकलाई लुटपाट र कुटपिट गर्ने गरेका घटनाहरु सार्वजनिक हुन थालेपछि लम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, जिल्ला प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय तुलसीपुर, स्थानीय सरकारका रूपमा रहेको तुलसीपुर उपमहानगरपालिकालगायतका निकायलाई प्रहरी चौकी स्थापनाका लागि अनुरोध गर्ने निर्णय गरेको मितेरी टोल विकास संस्थाका अध्यक्ष कृष्णबहादुर बस्नेतले बताउनुभयो ।

मितेरी टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अमृत सामाजिक उद्यमी सहरकारी संस्थाका अध्यक्ष टेकनाथ कुँवर, अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष शिवहरि भण्डारी, अश्वारा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुरमा बस्नेत, अश्वारा कृषि सहकारी संस्थाका अध्यक्ष शेषमणि शर्मा, रेडियो प्रकृति एफएमका स्टेसन म्यानेजर ओपेन्द्र बस्नेत, एकता टोल विकास संस्थाका अध्यक्ष यम प्रसाद सुवेदी, मायालु टोल विकास संस्थाका अध्यक्ष शान्तिलाल चौधरी, गौरी टोल विकास संस्थाका अध्यक्ष ताराबहादुर बस्नेत, समाजसेवी योगेन्द्र बहादुर शाह दीपक, नमुना टोल विकास संस्थाका अध्यक्ष हस्तबहादुर रसाइली, चेतना टोल विकास संस्थाका अध्यक्ष यमबहादुर विकलगायतले एकताबद्ध तवरले विकृति र विसंगतिका विरुद्ध लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्