निषेधाज्ञामा पनि विदेशी पर्यटकलाई उपल्लो मुस्ताङ घुम्ने अनुमति



दुर्गाप्रसाद शर्मा, पर्वत ।

निषेधाज्ञाको समयमा पनि हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा घुम्नका लागि विदेशी पर्यटकलाई अनुमति दिएको छ । मुस्ताङमा निषेधाज्ञाका कारण देखाउँदै नेपाली पर्यटकलाई सीमानाका घाँसाबाटै फर्काइने गरिएको भए पनि विदेशी पर्यटकलाई भने निषेधाज्ञा जारी रहेकै अवस्थामा मुस्ताङ प्रवेशको अनुमति दिइएको हो ।

निषेधाज्ञा उल्लंघन गर्दै साउन २६ गते अस्ट्रेलियन नागरिक (पुरुष) मुस्ताङ प्रवेश गरेका छन् । कास्कीको मर्दी हिमाल क्षेत्रको अनुमति मात्र लिएर आएका ती अस्ट्रेलियन नागरिकको साथमा मुस्ताङ घुम्नका लागि अनुमति नरहेको स्रोतले जनाएको छ । बिनाअनुमति आएका ती विदेशी पर्यटकलाई मुस्ताङ प्रवेशको अनुमति दिन स्थानीय प्रशासनसमक्ष साउन २६ गते वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले सिफारिस गरेको थियो । उपल्लो मुस्ताङको ऐतिहासिक तथा पुरातात्विक गुम्बा र छोर्तेनको अध्ययन अवलोकनलाई उपल्लो मुस्ताङ जाने अनुमति पाएका ती अस्ट्रेलियन नागरिक भदौको १७ गतेसम्म उपल्लो मुस्ताङमै रहने बताइएको छ ।

कोरोना जोखिमका बेला नेपाली पर्यटक नै मुस्ताङ आउँदा समस्या हुने अवस्थामा पालिकाकै सिफारिसमा स्थानीय प्रशासनले मुस्ताङ प्रवेश गर्ने अनुमति दिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जानकारी दिएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिफारिसमा उक्त विदेशीलाई उपल्लो मुस्ताङ भ्रमण गर्ने अनुमतिको सिफारिस स्थानीय प्रशासनलाई गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो ।

निषेधाज्ञा जारी गरिएको मुस्ताङमा दुई साताअघि मुस्ताङ प्रवेश गरेका अस्ट्रेलियन नागरिक पुरुषको साथमा एक महिला पथप्रदर्शकसमेत रहेकी छन् । उनीहरु पालिकाकै समन्वयमा वारागुङ मुक्तिक्षेत्र–२ झारकोटमा बसेका थिए । बिनापरमिट मुस्ताङ आएका ती विदेशी पर्यटकलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जरिवानासहित परमिट काटेको पाइएको छ । उपल्लो मुस्ताङको ऐतिहासिक धार्मिक, सांस्कृतिक सभ्यता र संरचनालगायतको अध्ययन अवलोकन गर्ने उद्देश्यले मुस्ताङ प्रवेश गरेका ती विदेशी पर्यटकले अध्यागमन विभागको अनुमति लिएका थिएनन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको स्वामित्वमा रहेको मुस्ताङ भ्रमण गर्न नेपाली पर्यटकले १ सय, सार्कका विदेशी पर्यटकले १ हजार र तेस्रो मुलुकका विदेशी पर्यटकले ३ हजार शुल्क तिरेर अनुमति लिनुपर्ने हुन्छ ।

कोरोना भाइरसको दोस्रो भेरियन्टसँगै हिमाली जिल्ला मुस्ताङमा गत वैशाखदेखि लगातार स्थानीय प्रशासनले पटक–पटक निषेधाज्ञा जारी गर्दै आएको छ । मुस्ताङमा कोरोना भाइरसको जोखिम कायम रहेको भन्दै पछिल्लो समय भदौ १५ गतेसम्मका लागि स्थानीय प्रशासनले निषेधाज्ञा लम्ब्याएको छ । निषेधाज्ञा जारी गरिएपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन शून्य छ । तर, जिल्लाभित्रका स्थानीयलाई भने स्थानीय तहको समन्वयमा जिल्ला प्रवेश गर्न अनुमति दिइएको छ । कोरोना कहरकै कारण गत वैशाखदेखि मुक्तिनाथ मन्दिर र कागबेनीमा पूजापाठमा पूर्णरूपमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्