अरूले तीन फिल्मबाट लिने पारिश्रमिक म एउटैबाट लिन्छु : हिमाल केसी



पाली फिल्मको द्वन्द्व निर्देशनको कुरा गर्ने हो भने हिमाल केसीको नाम अग्रस्थानमा आउँछ। हिरो बन्ने सपना बोकेर फिल्म क्षेत्रमा प्रवेश गरी फाइटर ब्वाई हुँदै द्वन्द्व निर्देशक र फिल्म निर्देशकसम्मको परिचय बनाएका हिमालले हालसम्म एक सय २० नेपाली फिल्मको द्वन्द्व निर्देशन गरिसकेका छन् भने ४० को हाराहारीमा भोजपुरी फिल्ममा काम गरेका छन्। द्वन्द्व निर्देशनको क्षेत्रमा फरक प्रयोग र शैली अपनाएर छुट्टै छाप छोड्न सफल हिमालले प्रेमकथामा आधारित फिल्म पिँजडा ब्याक अगेन निर्देशन गरेका छन्। फिल्म निर्देशनमा पनि सफलता कमाएका हिमाल तीन दशक बढी समयदेखि फिल्म क्षेत्रमा सक्रिय छन्। उनले नेपालमा हुने विभिन्न फिल्म अवार्डमा वर्षेनी द्वन्द्व विधाको अधिकाशं अवार्ड चुम्दै आएका छन्। नेपाल समाचारपत्रको सह—प्रकाशन सिने मासिक कामनाको आयोजनामा हुँदै आएको सिजी कामना फिल्म अवार्डसमा त द्वन्द्व विधाको अवार्डमा ह्याट्रिक नै गरेका छन्। उनै द्वन्द्व निर्देशक केसीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

  • रश्मी थापा

हाल के गर्दै हुनुहुन्छ ?

अहिले फिल्म गोर्खा वारियरको काम भइरहेको छ, त्यसैमा व्यस्त छु। मिलन चाम्सको यो फिल्म गोर्खालीको बहादुरीमा आधारित छ। विभिन्न सिरिजमा निर्माण हुने फिल्ममा वारको कथा र गोर्खालीको बहादुरीको गाथामा छ। त्यो वारलाई सशक्त ढंगले प्रस्तुत गर्न लागि परेकोे छु।

कोभिडका कारण द्वन्द्व कलाकार र द्वन्द्व निर्देशकको स्थिति कस्तो छ ?

अहिले हाम्रो क्षेत्र मात्र होइन, हरेक क्षेत्रमा कोभिडको असर छ। फिल्मका काम रोकिएका कारण द्वन्द्व कलाकारितामा मात्र निर्भर हुने कलाकारहरूलाई जीवनयापन गर्न गाह्रो परेको अवस्था छ। द्वन्द्व कलाकार मात्र नभई कतिपय द्वन्द्व निर्देशकहरू पनि पहिलेको तुलनामा कामविहीन अवस्थामा हुनुहुन्छ। कोभिडको असर नघटेसम्म यो कठिन अवस्था सकिन मुस्किल छ।

अहिलेका फिल्ममा कस्ता खालका द्वन्द्वको प्रयोग भइरहेको छ ?

समयको मागअनुसार दर्शकले कस्तो खालको द्वन्द्व मन पराउँछन्, त्यहीअनुसारका द्वन्द्व प्रयोग हुने हो। मैले पनि फिल्मको कथा र सिचुयसनअनुसार कस्ता खालका द्वन्द्व प्रयोग गर्दा फिल्म सुहाउँदो हुन्छ भन्ने हिसाबले सोचेर आफ्नो काम गर्ने तरिकालाई अपडेट गर्दैै आएको छु। सकेसम्म आफूले गरेका काममा राम्रो प्रयोग गरौँ भन्ने लक्ष्यअनुरूप काम गरिरहेको छु। यसमा सफल पनि भएको महशुस गरेको छु।

हिरो बन्ने उद्देश्यले फिल्म क्षेत्रमा आउनुभएको तपाईं द्वन्द्वतिर कसरी जोडिनुभयो ?

हिरो बन्ने रहर त थियो, तर फाइटरका रूपमा द्वन्द्व कलाकारितातिर प्रवेश गरियो। काम गर्दै जाँदा द्वन्द्वमार्फत पनि आफ्नो प्रोफाइल बनाउन सकिने रहेछ, सर्भाइव हुनुका साथै इन्ड्रस्टीमा चिनाउन सकिने रहेछ भन्ने महसुस हुँदै गयो र यतैतिर लागियो। मेहनतका साथ काम गर्दैै जाँदा यो क्षेत्रले पनि मलाई नाम, दाम र काम दिएको छ। मेहनतको फल पाएको छु।

यति धेरै सफल द्वन्द्व निर्देशक बन्छु भन्ने सोच्नुभएको थियो ?

पहिलोपटक फिल्म मर्यादाको सेटमा काम गर्ने बेलामा नै म द्वन्द्व निर्देशकको रूपमा स्थापित नाम बन्न सक्छु भन्ने हल्का हल्का भाइब्स आएको थियो। त्यतिबेलै मैले यो क्षेत्रमा राम्रो काम गरेर यो क्षेत्रलाई माथि उठाउन केही योगदान दिन सक्छु भन्ने आशा पलाएको थियो। आशाअनुरूपको सफलता र सन्तुष्टि पाएको छु।

कलाकारबाट द्वन्द्व निर्देशकसम्मको यात्रामा के-कस्ता कठिनाइ सामना गर्नुभयो ?

कुनै पनि काम जरैदेखि गर्दा त्यो काम र त्यसको प्रवृत्ति बुझ्न र काम गर्न थप सजिलो हुँदोरहेछ। मैले पनि फाइटर ब्वाईका रूपमा कलाकारिता सुरू गरेको थिएँ। द्वन्द्व कलाकार हुँदै द्वन्द्व निर्देशन, त्यसपछि फिल्म निर्देशकसम्मको यात्रामा धेरै कुराहरू सिक्ने र अनुभव गर्ने मौका पाएँ। काम गर्दै जाँदा कठिनाइहरू त आई नै रहन्छन्। तर, कठिनाइ आयो भन्दैमा बीचमै छोड्नुभन्दा पनि ती कठिनाइलाई पार गर्दै गए आफूले चाहेको क्षेत्रमा केही गर्न सकिन्छ। जस्तो पहिले म गुरुहरूका साथ काम सिक्थेँ भने अहिले म अरूलाई सिकाउँछु। अरू कसैले मलाई गुरु मानेर सम्मान गर्छन्।

द्वन्द्व निर्देशनको क्षेत्रमा कतिको प्रतिस्पर्धा छ ? तपाईंको प्रतिस्पर्धी को ?

कम्पिटिसन छ पनि, छैन पनि। मैले गरेका कामहरू चर्चामा आइरहेका हुन्छन्। हिमालले केही नयाँ राम्रो गर्छ भनेर निर्माता निर्देशकहरुले कामको अफर गरिरहेका हुन्छन्। म कम्पिटिसनमा गएको होइन मेरो कामचाहिँ कम्पिटिसनमा गएको हुन्छ। म व्यक्तिगत रूपमा कसैसँग पनि प्रतिस्पर्धा गर्छु भन्ने हिसाबले काम गर्दिनँ। म जहिले पनि आफूले पहिले गरेका काम र अहिले गरेको काममा कतिको फरक छ त्यसलाई अझ राम्रो कसरी गर्ने भन्ने तरिकाले काम गर्छु। आफ्नो हातमा आएको काम केही राम्रो र फरकरूपमा गरौँ भन्ने सोच, जोश र उर्जा ममा सधैँ हुन्छ। त्यही कारण पनि निर्माता निर्देशकहरू हिमालले केही नयाँ गर्छ है भनेर सम्झिनुहुन्छ र लगातार काम दिइरहनुभएको छ।

द्वन्द्व निर्देशन कतिको चुनौतीपूर्ण काम हो ?

नाम नै एक्सन भनेपछि चुनौतीपूर्ण त हुने नै भयो। फिल्ममा सबैभन्दा चुनौतीपूर्ण पाटो नै द्वन्द्वको पाटो हो। जसरी पर्दामा एक्सन सिन हेर्दा मज्जा हुन्छ, त्यसरी नै त्योभन्दा कयौँ गुणा त्यसको सुटिङ गर्दा दुःख र चुनौती हुन्छ। सेटमा विभिन्न खालको चोटपटक लाग्ने दुर्घटना हुने पनि हुन्छन्। तर, सकेसम्म नेपालमा उपलब्ध भएको सेफ्टी मेथडको प्रयोग गरेर काम गरिन्छ।

नेपालमा द्वन्द्व निर्देशनको क्षेत्रमा के—कस्ता समस्या छन् ?

समस्याहरू त भई नै हाल्छन्। त्यसलाई कसरी सम्हाल्दै अघि बढ्ने भन्ने कुराचाहिँ ठूलो हो।

नेपाली फिल्मको द्वन्द्वको पाटोमा चाहेर पनि गर्न नसकेका प्रयोगहरू छन् ?

मैले चाहेको जति गरेकै छु। नेपाली फिल्मको बजेट र बजारअनुसार चाहेर पनि गर्न नपाएको भन्ने त्यस्तो खास कुरा छैन। फिल्मको बजेट अनुसारको कामहरू इमान्दार भएर गर्दै आएको छु। त्यही कारण मानिसहरूको एक प्रकारको विश्वास कमाएको छु।

द्वन्द्व निर्देशन गर्दै आउनुभएको तपाईंले पिंजडा ब्याक अगेनजस्तो प्रेमकथाको फिल्म निर्देशन गर्नुभयो। एक्सन फिल्म निर्देशन नगरेर किन लभस्टोरी फिल्म निर्देशन गर्नुभयो ?

द्वन्द्व निर्देशकको रूपमा पहिचान बनाउँदै आएकोले दर्शकहरूले मैले निर्देशन गरेको फिल्म भयंकर द्वन्द्वले भरिएको हुन्छ भन्ने सोच्नुभएको थियो। त्यो स्वाभाविक पनि थियो। किनभने म फाइट डाइरेक्टर भएकोले सबैले यसले बनाएको फिल्म एक्सन फिल्म हुनुपर्छ भन्ने सोच राख्नु हुन्छ। तर, त्यसको ठीक उल्टो प्रेम कथामा बनेको फिल्म हेरेर दर्शक भावुक भएर हलबाट निस्किनु भयो। एक्सन डाइरेक्टरमा पनि सेन्टिमेन्ट हुन्छ र उसमा एक्सन मात्र नभई लभस्टोरी फिल्म पनि निर्देशन गर्ने प्रतिभा हुन्छ भन्ने कुरा बुझाउन र भर्सटाइलरूपमा प्रस्तुत हुन सकिन्छ भन्ने हिसाबमा पनि लभस्टोरी फिल्म निर्देशन गरियो। जसलाई दर्शकले अपार माया पनि गरिदिनुभयो ।

एक्सन फिल्म निर्देशन गर्नुहुन्छ ?

समयको माग हो। कस्तो प्याटर्न चल्छ र कस्तो फिल्म निर्देशन गर्ने भन्ने कुरा पछि थाहा हुन्छ। एक्सन जनराको फिल्म चल्यो भने एक्सन फिल्म निर्देशन गर्छु, नत्र भने रिटायर्ड लाइफ कुर्सीमा बसेर एक्सन कट नै गर्ने सोच छ।

द्वन्द्व निर्देशन गर्दा दुर्घटनामा पनि निकै पर्नुभयो हैन ?

काम गर्दा त्यो पनि एक्सन फिल्डमा काम भएपछि सानातिना दुर्घटनामा पर्नु सामान्य नै हो। तर, दुई—तीनपटक ठूलै दुर्घटनामा पनि परेको छु। नेपालमै पहिलोचोटि अञ्जुली नामक फिल्ममा कार स्टन्ड मैले नै गरेको थिएँ। कार उडाउँदा घाँटीमा झड्का लागेर अहिलेसम्म पनि समस्या रहेको छ। त्यस्तै, एक्सनकै क्रममा देब्रे हात भाँचिएको थियो भने कारको सिसा ब्रेक गर्ने क्रममा टाउकोमा गहिरो चोट लागेको थियो। काम गर्ने क्रममा चोटपटक लाग्ने क्रम त भई नै रहन्छ, तर कसरी उठेर कामलाई सहज तरिकाले लाने भन्ने आफ्नो हातमा हुन्छ। हामीजस्तो फाइटर अनि फाइट डाइरेक्टरलाई त्यस्तो चोटपटक लागिरहनु सामान्य कुरा हो। त्यस्तो चोटपटक त कति खपियो खपियो।
तपाईं एक्सनको सुटिङ गर्न जाँदा वा स्टन्ट गर्न जाँदा घर परिवारले कत्तिको चिन्ता गर्नुहुन्छ ?

यसले यस्तो काम गर्छ भन्ने घर परिवार सबैलाई थाहै छ। तैपनि, बेला—बेलामा सुटिङको क्रममा राम्रोसँग विचार गरेर काम गर्नु भनिरहेका हुन्छन्।

एक्सन दृश्यमा सेफ्टी कत्तिको अपनाइन्छ ?

कुनै पनि बिना सेफ्टी वा सामान्य सेफ्टी अपनाएर पनि काम गरिन्थ्यो। त्यो सब हिम्मतको कुरा थियो। अहिले पनि सेफ्टीका सामान उपलब्ध हुन्छन्। नेपालमा उपलब्ध भएसम्मका सुरक्षाका उपायहरू अपनाएर काम गरिन्छ। तर, हलिउड बलिउड फिल्ममा जस्तो सेफ्टी नेपाली फिल्मको सुटिङ गर्न सकिँदैन। एक त त्यस्ता खालका सामान नेपालमा नै पाइँदैन। त्यस्ता सामानहरू अफोर्ड गर्न प्रयास गरिरहेका छौं। पछिल्लो समय भीएफएक्स जस्ता प्रविधिको प्रयोगका कारणले गर्दा पहिलेको तुलनामा धेरै सजिलो भएको छ।

एउटा कलाकारलाई एक्सन अवतारमा प्रस्तुत गर्न द्वन्द्व निर्देशकको भूमिका कत्तिको हुन्छ ?

त्यसमा फाइट डाइरेक्टरको भूमिका एकदमै महत्वपूर्ण हुन्छ। पात्रलाई नेचुरल लुक कसरी दिने र कसरी प्रस्तुत गराउने भन्ने कुरामा फोकस गरेर काम गर्छु। म्युजिकसँग कसरी खेल्ने सेन्टिमेन्टसँग कसरी खेल्ने भन्ने कुरा पनि हुन्छ। पात्रलाई एक्सन अवतारमा प्रस्तुत गर्न म आफैँ नै क्यारेक्टर भएको महसुस गरेर पात्रलाई प्रस्तुत गर्ने गर्छु। हिरो बन्ने सोच भएको मान्छे भएका कारण एक्सनलाई पनि कसरी ब्युटिनेस दिन सकिन्छ भन्ने हिसाबमा काम गर्ने गरिरहेको हुन्छु। ताकि उक्त ट्रेन्ड अरूले पनि कपी गरेर फलो गर्र्दै सिग्नेचरको रूपमा रहोस् भन्ने सोच हुन्छ।

नेपाली फिल्मको स्तर वृद्धिका लागि के गर्नुपर्ला ?

हामीसँग पैसा छैन, त्यसैले भनेजस्तो सिनेमा बनाउन सक्दैनौं भन्ने गरिएको सुन्छु। यो सही पनि हो। तर, स्पटमा खट्नुलाई मात्र काम सम्झने परिपाटीले नराम्रो चलचित्र मात्र बनेको छैन अनावश्यक बजेटसमेत बढेको छ। म अनावश्यक चिज धेरै निर्देशित गर्दिन। स्क्रिप्ट लेख्दा नै अनावश्यक दृश्य सम्पादन हुन्छ। यो कामकै लागि धेरै समय दिनुपर्छ। थोरै शब्दमा धेरै वर्णन गर्ने आलेखको सिर्जना स्पटमा हुँदैन। धेरै समय लगाएर राम्रो सिनेमा बनाउनुपर्छ भन्ने सोच मेरो छ। म फिल्ममा निर्भर व्यक्ति हुँ। अरू व्यापार/व्यवसाय पनि छैन। त्यसैले, अरूले वर्षमा तीनवटा फिल्मबाट लिनेजति पैसा म एउटा फिल्मबाटै लिन्छु।

कोभिडका कारण ठप्प भएको फिल्मको व्यापार फर्काउन के गर्नुपर्ला ?

कोभिडको अवस्था रहेसम्म फिल्मको व्यापार फेरि माथि उठाउन मुस्किल छ। तर, मुस्किल छ भन्दैमा चुप लागेर बस्न पनि मिल्दैन। यसको व्यापार माथि उकास्नका लागि अब परम्परागत शैलीको व्यापारको मात्र भर नपरी वैकल्पिक बजारको खोजी पनि गर्नु जरुरी छ। यो डिजिटल जमाना हो, प्रविधिको सहयोग लिएर नेपाली फिल्मलाई विश्व बजारमा पु¥याउने प्रयास गर्नु जरुरी छ। यसका लागि सामूहिक प्रयासमा जुट्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्