नेपाली क्रिकेट टोली ओमान प्रस्थान



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार ओमानतर्फ प्रस्थान गरेको छ ।

१७ जना खेलाडीको नेपाली टोली आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न त्यसतर्फ प्रस्थान गरेको हो । त्रिकोणात्मक सिरिज खेल्नुअघि नेपाली टोलीले पपुआन्युगिनीसँग दुई एकदिवसीय खेल खेल्नेछ । नेपालले सो खेल भदौ २० र २३ गते खेल्ने कार्यक्रम रहेको छ । नेपालको त्रिकोणात्मक सिरिज भदौ २८ गतेदेखि शुरू हुनेछ । उक्त सिरिजमा नेपालको सामना ओमान र अमेरिकाविरुद्ध हुनेछ ।

उक्त विश्वकप लिग २ अन्तर्गत अंकतालिकामा नेपाल ४ अंकसहित छैटौं स्थानमा रहेको छ । पहिलो स्थानमा ओमान रहेको छ । ओमानले १० खेल खेलेर १६ अंक जोडेको छ । त्यस्तै अमेरिकाले १२ खेलमा १२ अंक लिएर दोस्रो स्थानमा हासिल गरेको छ । यस्तै तेस्रो, चौथो र पाँचौं स्थानमा क्रमशः स्कटल्यान्ड, नामिबिया र यूएई रहेका छन् । अन्तिम स्थानमा पपुआन्युगिनी रहेको छ, जो अंकविहीन रहेको छ । जबकी पपुआन्युगिनीले ८ खेल खेलिसकेको छ ।

उक्त विश्कप लिग २ बाट शीर्ष तीनमा रहने टोलीले आगामी सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउनेछन् । यी सात टोलीमा प्रत्येक टोलीले ३६ खेल खेल्नेछ । नेपालको सन्दर्भमा नेपालले अझै ३२ खेल खेल्न बाँकी रहेको छ । नेपालले अहिलेसम्म ४ खेल खेलेको छ । ओमानमा खेलेपछि नेपालको ८ खेल हुनेछ । प्रत्येक एक टोलीले त्रिकोणात्मक सिरिज ९ चरणसम्म खेल्नेछ । नेपालले विश्वकप लिग २ अन्तर्गत पहिलो चरण नेपालमै गत माघमा ओमान र अमेरिकासँग खेलेको थियो ।

ओमानमा गएको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । त्यस्तै, प्रशिक्षकमा डेभ ह्वाटमोर रहेका छन् । अन्यमा दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषवाकर, विक्रम सोब, रोहित पौडेल, पवन सर्राफ, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल र कुशल भुर्तेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्