म्युनिखको पहिलो जित



बर्लिन, (एजेन्सी) ।

जर्मन लिग बुन्डेसलिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिखले नयाँ सिजनमा पहिलो जित दर्ता गरेको छ ।

आइतबार राति भएको खेलमा बार्यनले एफसी कोल्नलाई ३–२ गोलअन्तरले हराएको हो । आफ्नो घरेलु मैदानमा बार्यनलाई जिताउन स्टार फरवार्डद्वय रोवर्ट लेवान्डोस्की र सर्जी गेनाब्रीले गोल गरे । यसअघि नयाँ सिजनको पहिलो खेलमा भने बार्यन बराबरीमा रोकिएको थियो ।

उक्त खेलमा गोल गरेसँगै पोलिस फरवार्ड लेवान्डोस्कीले यो सिजन लगातार तेस्रो खेलमा पनि गोल गरेका छन् । जर्मन सुपर कपको फाइनलमा दुई गोल एक असिस्ट गरेका उनले यसअघि बुन्डेसलिगामा पहिलो खेलमा टिमलाई हारबाट बचाउन पनि बराबरी गोल गरेका थिए । आइतबार राति गरेको गोलसँगै लेवान्डोस्कीलेले बार्यनका लागि खेलेका पछिल्ला १२ खेलमा लगातार गोल गर्न पनि सफल भएका छन् ।

बार्यन र कोल्नबीच चर्को प्रतिस्पर्धा देखिएको खेलमा पहिलो हाफमा कुनै गोल भएन । तर, दोस्रो हाफमा दुवै तर्फबाट गरी ५ गोल भए । बार्यनका लागि ५०औं मिनेटमा लेवान्डोस्कीले गोल गरे । त्यसपछि ५८औं मिनेटमा गेनाब्रीले गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए । तर, त्यसपछि एकाएक दबाबमा देखिएपछि बायर्नले दुई मिनेट भित्रै लगातार दुई बहोर्‍यो ।

खेलको ६०औं मिनेटमा एन्थोनी मोडेस्टले गोल गरेर अग्रता घटाए भने त्यसको दुई मिनेटमै मार्क उठले गोल गरेपछि कोल्नले घरेलु टोलीविरुद्ध २–० को स्थिति उल्टाएर खेल २–२ बनाए । तर, ७१औं मिनेटमा गेनाब्रीले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल बार्यनले ३–२ ले जित्यो । यो जितपछि बार्यनले दुई खेलबाट ४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्