रियलले लेभान्टेसँग अंक बाँड्यो



मेड्रिड, (एजेन्सी) ।

स्पेनिस ला लिगा फुटबलमा रियल मेड्रिडले नयाँ सिजन २०२१–२२ को दोस्रो लेभान्टेसँग बराबरी खेल्दै समान अंक बाँडेको छ ।

आइतबार राति भएको दोस्रो खेलमा रियल मेड्रिड लेभान्टेसँग हारबाट मुस्किलले बच्दा ३–३ को बराबरी खेल्दै अंक बाँडेको हो । तुलनात्मक रूपमा कमजोर टिमसँग रियल हारको मुखैमा पुगेर बचेको हो । अवे मैदानमा रियलले खेलमा पहिलो अग्रता लिए पनि पछि त्यसलाई बचाउन नसक्दा तीन गोल बेहोरेको थियो ।

रियलका लागि खेलको पाँचौं मिनेटमा ग्यारेथ बेलले करिम बेन्जेमाको पासमा लो सटमा शानदार गोल गरेका थिए । उनले दुई वर्षपछि ला लिगामा पहिलो गोल गरेका हुन् । त्यसपछि खेलको ४६औं मिनेटमा लेभान्टे खेलमा फर्कियो । रोजर मार्टीले गोल गर्दै खेल १–१ बनाएका थिए । रोजरको प्रहार रियलका गोलकिपर थिबाउट कोर्टुवाको हातबाट फुत्किएर पोस्टमा छिरेको थियो ।

त्यसपछि लेभान्टेले खेलको ५७औं मिनेटमा अग्रता बनायो । जोसे काम्पानियाले तल्लो भागबाट भली सटमा शानदार गोल गरेर खेल २–१ बनाए । त्यसपछि रियलका लागि सब्सिच्युट खेलाडी भिनिसियिर जुनियर नायक बने । टिमलाई हारबाट बचाउन उनैले दुई गोल गरे । उनी ५९औं मिनेटमा इडेन हाजाडको स्थानमा स्थानमा मैदान छिरेका थिए । उनले ७३औं मिनेटमा गोल गर्दै खेल २–२ बनाए ।

तर, रियलले फेरि तेस्रो गोल बेहोर्न पुग्यो । खेलको ७९औं मिनेटमा रोबर पियरले गोल गरेर रियललाई पुनः ३–२ ले पछि पारे । सो गोलपछि रियल हारतर्फ धकेलिएको थियो । तर, भिनिसियसले खेलको ८५औं मिनेटमा करिम बेन्जेमाको पासमा गोल गर्दै खेल ३–३ को बराबरी बनाए । उनले माथिल्लो भागबाट निकै शानदार गोल गरेका थिए । सो गोलपछि खेलमा दुवै पक्षबाट थप गोल भएन र खेल ३–३ को बराबरीमा सकियो । यो बराबरीपछि रियलले दोस्रो खेलबाट ४ अंक जोडेको छ ।

स्पेनिस ला लिगा अन्तर्गतकै अर्को खेलमा साविक उपाधि च्याम्पियन एथ्लेटिको मेड्रिडले भने नयाँ सिजन २०२१–२२ मा लगातार दोस्रो जित निकाल्यो । आइतबार राति भएको सिजनको दोस्रो खेलमा एट्लेटिकोले आफ्नो घरेलु मैदानमा पाहुना टोली इल्चेमाथि १–० गोलअन्तरको साँघुरो जित निकाल्न सफल भएको हो ।

यससँगै डिएगो सिमोनीको टिमले यस सिजनका शुरूआती दुवै खेलमा जित हात पारेको छ । दुवै खेल जित्दा अर्जेन्टिनाका फरवार्ड एन्जल कोरेरिया नायक बनेका छन् । उनले यी दुवै खेलमा गोल गरेका छन् । यसअघिको सिजनको पहिलो खेल २–१ ले जित्दा पनि दुवै गोल कोरेरिया एक्लैले गरेका थिए ।

त्यसपछि दोस्रो खेलमा इल्चेलाई १–० ले हराउँदा पनि एक मात्रै विजयी गोल उनैले गरे । यो सिजन एट्लेटिकोले दुई खेलमा गरेका तीनवटा गोल कोरेरिया एक्लैले गरेका छन् । इल्चेविरुद्धको खेलमा उनले ३९औं मिनेटमा गोल गरेका थिए । सो खेलमा नयाँ खेलाडी रोड्रिगो डे पाउलले असिस्ट गरेका थिए । यो जितपछि एट्लेटिकोले दुई खेल सकिँदा शतप्रतिशत जितका साथ ६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्