आर्सेनल कठिन स्थितिमा



लन्डन, (एजेन्सी)  ।

मिकेल आर्टेटाले जनाएअनुसार आर्सेनल नयाँ सिजनमा खराब शुरूवात गरेर कठिन स्थितिमा रहेको छ । ब्रेन्टफोर्डसँग २–० ले हारेको आर्सेनलले आइतबार चेल्सीसँग पनि त्यति नै गोलअन्तरको हार बेहोरेको हो । आर्सेनलले शुरूवाती दुई खेलमा हार्दा विपक्षी टोलीविरुद्ध एक गोल पनि गर्न सकेन ।

आर्सेनलको प्रिमियर लिग इतिहासमा पहिलोपटक यस्तो खराब शुरूवात भएको छ । टोलीका मेनेजर आर्टेटाले बताए–‘हामी चुनौतीको सामना गरिरहेका छौं । मलाई लाग्दैन कि अगस्ट मै लिग वा अंक तालिकाको टुंगो लाग्छ । हाम्रो शुरूवात पक्कै नराम्रो भएको छ, तर, यो क्रम जारी रहने भन्ने होइन ।’

आर्सेनलले दुई खेलबाट अंकविहीन हुँदै अंकतालिकाको पुछारमा रहेको छ । यस्तो १९९२ अगस्टपछि पहिलोपटक भएको हो । आर्टेटाले खेलाडीको समस्याले यस्तो भएको स्वीकार गरेका छन् । उनीहरूको दुई स्टार खेलाडी एलेक्जान्डर लाकाजेटे र पिइरे एमेरिक औबामेयाङसँगै विलियन र ब्याकअप कीपर एलेक्स रुनारसनले खेलेका छैनन् ।

५० मिलियन पाउन्डमा अनुबन्ध भएका बेन ह्वाइटको कोरोना परीक्षण पोजिटिभ आएकोले पनि खेल्न नसकेको आर्टेटाले बताए । यस्तै थोमस पार्टी, गेब्रियल र एडी नकेटिहा घाइते भएकाले पनि टोलीको प्रदर्शनमा असर परेको उनी बताउँछन् । उनले बताए–‘१९ वा २० वर्षका पाँच युवा खेलाडीले राम्रो खेल्नु सकारात्मक कुरा हो तर, अहिलेको क्षण कठिन छ ।’

प्रतिक्रिया दिनुहोस्