बार्सिलोनाले अंक बाँड्यो



मेड्रिड, (एजेन्सी) ।

स्पेनिस ला लिगाको उपाधि दाबेदार टोली बार्सिलोना एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकिएपछि अंक बाँडेको छ ।

ला लिगाको शनिबार राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बिल्बाओको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा भएका थिए । बिल्बाओका लागि इनिगो मार्टिनेजले गोल गरे भने बार्सिलोनाका मेम्फिस डिपाएले बराबरी गोल फर्काएका थिए । खेलमा शुरूवाती अग्रता घरेलु टोलीले लिएको थियो । खेलको ५०औं मिनेटमा इनिगोले इकर मुनिएनको कर्नरबाट प्राप्त पासमा हेडगोल गर्दै बिल्बाओको उत्साह बढाए । खेलको शुरूवातदेखि बल पोजेसनमा पकड जमाएको बार्सिलोनाले ७५औं मिनेटमा पुगेर बराबरी गोल फर्काएको थियो ।

मेम्फिस डिपाएले सर्जी रोबर्टाेको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बार्सिलोनाका लागि डिपाएको यो डेब्यु गोल हो । २७ वर्षीय डिपाय यसै सिजन फ्रेन्च क्लब लियोनबाट बार्सिलोना आएका हुन् । बार्सिलोनाले ६७ प्रतिशत बल नियन्त्रणमा राखे पनि बिल्बाओले दबाब झेल्यो । घरेलु टोलीको शुरूवाती गोलले पनि बार्सिलोनालाई थप गाह्रो बनाएको थियो । बिल्बाओविरुद्ध नौ वटा पोस्ट प्रहारको अवसर बनाएको बार्सिलोना अन्तमा अंक बाँड्न बाध्य बन्यो ।

खेलको अन्तिम समयतिर भने बार्सिलोना १० खेलाडीमा समेटियो । दोस्रो हाफको इन्जुरी समयमा इरिक गार्सियाले सोझै रोतो कार्ड पाए । बिल्बाओका निको विलियम्सलाई खराब ट्याकल गरेपछि इरिक रातो कार्ड पाउँदै बाहिरिएका थिए । बार्सिलोनाका फ्राङ्की डे जोङ ‘म्यान अफ दी म्याच’ भए । बराबरीसँगै अंक तालिकामा बार्सिलोनाले दुई खेलबाट चार अंक बनाएको छ । बार्सिलोनाले पहिलो खेलमा रियलल सोसिडाडलाई ४–२ गोलले हराएको थियो । अर्कोतिर लगातार दोस्रो बराबरी खेलेको बिल्बाओको दुई अंक भएको छ ।

ला लिगाअन्तर्गत शनिबार राति नै भएको अर्को खेलमा मालोर्काले १० खेलाडीमा सीमित डिर्पोटिभो अलाभेसलाई १–० गोलअन्तरले हरायो । अलाभेसलाई हराउन मालोर्काका फेर निनोले ८०औं मिनेटमा निर्णायक गोल गरे । निनोले साल्भा सेभियाको पासमा गोल गरेका थिए ।

यसअघि ६६औं मिनेटमा अलाभेसका रुवेन डुअर्टे दोहोरो पँहेलो कार्ड पाउँदै बाहिरिएपछि मालोर्कालाई फाइदा पुगेको थियो । मालोर्काका डानी रोड्रीग्वेज ‘म्यान अफ दी म्याच’ घोषित भए । जितसँगै मालोर्काले दुई खेलबाट चार अंक बनाएको छ । अलाभेसले भने लगातार दोस्रो हार खेपेको छ । ला लिगाअन्तर्गत शनिबार राति नै भएका अन्य खेलहरूमा भ्यालेन्सिया र ग्रानाडाले १–१ तथा भिल्लारियल र स्पान्योलले गोलरहित बराबरी खेल्दै समान अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस्