कमेडीको भेरियन्ट फरक, भाइरस उही हो : राजा राजेन्द्र पोखरेल



नेपाली हास्य व्यग्यको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कलाकार हुन राजा राजेन्द्र पोखरेल। स्टयाण्डअप कमेडी, प्रहसन, क्यारिकेचर, प्यारोडीगायनजस्ता विधामा जम्दै आएका राजा राजेन्द्रले आफ्ना प्रस्तुतिमार्फत दुई दशकदेखि मानिसलाई हसाउदै आएका छन्। विभिन्न रंगमञ्चिय तथा टेलिभिजन कार्यक्रममार्फत समेत दर्शक लाई मनोरञ्जन दिदै आएका राजा राजेन्द्र हास्य विधासंगै गीत गायनमा पनि सक्रिय छन्। गीत गायनमार्फत कला क्षेत्रमा प्रवेश गरे पनि हास्य विधामार्फत लोकप्रियता कमाएका राजा राजेन्द्रले राजनितीज्ञदेखि विभिन्न कलाकारसम्मको क्यारीकेचर प्रस्तुत गरेर समेत लोकप्रियता कामई रहको छन्। जनता टेलिभिजनमार्फत प्रशारण भईरहेको नेपाली कमेडी शोको निर्मातासमेत रहेकाका राजा राजेन्द्रका साथ गरिएको कुराकानी यहाँ प्रस्तुछ छ :

रश्मी थापा

हाल के गर्दै हुनुहुन्छ ?

अहिले कोरोना जोखिले गर्दा धेरै काम रोकिएका छन्। र पनि हास्यव्यङग्य सम्बन्धि टेलिभिजन कार्यक्रमको निर्माणमा लागिरहेको छु। कोरोनालाई छल्दै हास्य कर्म नै गरिरहको छु।

गाईजात्रा पर्वको बेला छ, कोभिड नभईदिएको भए अहिले भ्याई नभ्याई हुन्थ्यो होला है ?

कोभिड नभईदिएको गाईजात्रा कार्यक्रमहरुमा व्यस्त भईन्थ्यो। अहिले त्यो माहोल छैन। वर्षभरीको विभिन्न घटनालाई कन्टेनमा डेभलप गरेर स्टेजमा प्रस्तुत गरी दर्शक हसाउँदाको माहोल छु्ट्टै हुन्थ्यो। अहिले त्यो माहोल मिस गरीरहेको छु। कहिले कोभिड सकिएला र फ्रिली काम गरौंला भन्ने प्रतीक्षामा छु।

गाईजात्राको अवसरमा हास्य कार्यक्रम गर्न नपाउँदा कस्तो महशुष हुँदो रहेछ?

सारै दुःख लाग्छ नि। कोभिडका कारण मानिसका सबैजसो योजना र कार्यक्रम रोकिएको छन्। अन्य कार्यक्रम जस्तै गाईजात्रा कार्यक्रम पनि रोकिएकोमा थप दुःख महसुस हुन्छ। किनभने गाईजात्रा कार्यक्रम भनेको हामी हास्य कलाकारका लागि दशैं सरह हो।

टेलिभिजन र रंगमञ्च कार्यक्रममध्ये कुनमा कार्यक्रम गर्दा राम्रो लाग्छ ?

पक्कै पनि दर्शकको अगाडि प्रत्यक्ष रुपमा कार्यक्रम प्रस्तुत गर्नुमा र टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्नुमा दर्शककै अगाडी कार्यक्रम प्रस्तुत गर्नुुको मज्जा बेग्लै हुन्छ। स्टेजमा प्रस्तुति दिँदा दर्शकले मन पराए कि पराएनन् तुरुन्तै थाहा पाईन्छ र दर्शकको प्रतिक्रिया प्रत्यक्ष देख्न पाईन्छ। त्यसैअनुसार आफुलाई तुरुन्तै परिमार्जन गर्न पनि सकिन्छ। टेलिभिजनमा कार्यक्रम शुटिङ गरेर अलि पछि प्रसारण गर्दा पछि यो कुरा चाहि नराखेको भए पनि हुने रहेछ भन्ने हुन्छ र प्रतिक्रिया पनि अलि पछि मात्र थाहा हुन्छ। त्यसैले मलाई त स्टेज कार्यक्रम राम्रो लाग्छ।

देशमा सधैंभरि गाईजात्रा छ, गाइजात्राको बेला हास्यव्यग्य कार्यक्रम किन चाहियो र भन्नेहरुलाई के भन्नु हुन्छ ?

देशमा हुने गाईजात्रा भनेको वर्षभरी फरक फरक समयमा हुने गाईजात्रा हो, तर गाइजात्रामा प्रस्तुत गरिने गाईजात्रे कार्यक्रम भनेको चाहिँ वर्षभरीको देशभर भएका गाईजात्रालाई एकै ठाउँमा देख्न पाईने गाईजात्रा हो। वर्षभरी देशमा हुने गाईजात्रा भनेको खेतको धान हो भने गाईजात्रा कार्यक्रम भनेको सबै खेतको धान एकै ठाउँमा जम्मा गरिएको भकारीको धान हो।

गायनमार्फत कला क्षेत्रमा प्रवेश गर्नुभएको मान्छे, हास्य विधामा कसरी जोडीनु भयो ?

गायन हास्यव्यग्य भन्दा अगाडिको सौख हो, जुन अझैसम्म निरन्तर छ। पहिलो एलबम ट्रयाजेडीदेखी टेबल फ्यानसम्म आईपुग्दा साँढे दुई दर्जन गीत रिलिज गरेँ, तर सोचे जस्तो गायन चलेन। र पनि गीत गाउने काम चाहिँ जारी छ। सुरुवात गायनबाट भए पनि त्यो बेला हास्यव्यग्य क्षेत्रमा ठाउँ खाली थियो र ममा हास्यव्यग्यको पनि कला रहेछ भन्ने महसुुस भएपछि त्यहि हास्यव्यग्यको क्षेंत्रमा जोडीएँ। स्टेजमा प्यारोडी गीत गाएर नै हास्यव्यग्य क्षेत्रमा प्रवेश गरेको थिएँ। त्यति बेला स्ट्याण्डअप कमेडीमा दरीलो कलाकार थिएनन्। मनोज गजुरेल दाई एक जना हुनुनुन्थ्यो, नारद खतीवडालगायत एक दुईजनाले अन्य कलाकारले पनि लगभग स्ट्याण्डअप कमेडी गर्न छोडीसक्नु भएको थियो। जितु नेपाल दाईहरु पनि स्टयाण्डअप कमेडीमा भर्खरै काम गर्दै हुनुहुन्थ्यो। त्यति बेला मैले स्टयाण्डअप कमेडी सुुरु गर्दा थोरै समयमै सफलता पाएको थिएँ। करिव १ वर्षमा मलाई आयोजकले धेरै कार्यक्रममा अफर गर्नु भएको थियो। त्यो बेला अहिलेजस्तो धेरै कमेडीयन थिएनन्। त्यसकारण कमेडी गर्दा खुल्ला चौरमा गाडी कुदाएको जस्तो हुन्थ्यो।

गीत गाउन सजिलो कि मान्छे हसाउन ?

सजिलोको हिसाबमा भन्ने हो भने गीत गाउनु सजिलो काम हो। गीत गाउँदा शब्द अर्कैैले लेखिदिन्छ, संगीत अर्कैले भरिदिन्छ। आफूले प्राक्टिस गरेर गाउने हो, एउटै गीत धेरै पटक प्रयाक्टिस गरेर गाउन सकिन्छ तर हास्यव्यग्यमा दर्शक र समयको माग नुसारको प्रस्तुति प्रस्तुत गर्न सकिएन भने विभिन्न किसिमका अप्ठेरा स्थिती आउने गर्छन् भने राम्रो प्रस्तुतिका लागि उत्तिकै प्रेसर आउने गर्छ। तर गायनभन्दा हास्यव्यग्यबाट छिटो दर्शकको नजरमा क्लिक हुन सकिन्छ। गायनमा क्लिक नहुन्जेल गाह्रो, क्लिक भएपछि सजिलो हुन्छ भने हास्य विधामा चाहिँ दर्शकको नजरमा क्लिक भएपछि झन् गाह्रो हुन्छ।

गायक भन्दा खुशी लाग्छ कि हास्य कलाकार ?

मलाई हास्य कलाकार भन्दा खुसी लाग्छ। गायन पनि रुचिको विषय भएकोले गायक भन्दा थप रमाउँछु।

प्रहसन र हास्यव्यग्य प्रस्तुतिमा पात्रको चयन अनि विषय वस्तु निर्धारण कसरी गर्नुुहुन्छ ?

दर्शकले के हेर्न चाहेका छन्, समय र परिस्थिती कस्तो छ अनि आयोजकले मबाट कस्तो प्रस्तुति दर्शकलाई देओस भन्ने चाहेको छ भन्ने कुरालाई ध्यानमा राखेर पात्रको चयन र विषय वस्तु निर्धारण गर्छु।

स्टयान्डअप कमेडीमा निकै जम्नु भएको छ, यसको विषयवस्तु कसरी खोज्नु हुन्छ ?

बाटोमा हिँड्दै गर्दा र हाम्रै वरपर र समाजमा देखेको घटना र वस्तुहरु दिनागमा टिपेर त्यसलाई कमेडी शैलीमा प्रस्तुत गर्छु। कहिलेकाहिँ चाहिँ कार्यक्रमस्थलमा पुगेपछि दर्शक कुन प्रकारका छन्, त्यो विचार गरेर त्यहीँ नै पनि विषय निर्माण गर्छु।

तपाईलाई क्यारिकेचर गर्न मन भएको तर गर्नै नसकिएको पात्र पनि छन् कि ?

त्यस्तो पात्र त खासै छैन। चाहेको जतिको गरेको छु। पुष्पकमल दाहाल प्रचण्ड बाबुराम भट्टराई, माधव नेपाल, केपी ओली सबैको क्यारिकेचर गर्दै आएको छु, दर्शकले मन पनि पराउनु भएको छ। कलाकारहरुमा तक्मे बुढो, माग्ने बुढो मदनकृष्ण श्रेष्ठ, हरीवशं आचार्यलगायतको गरेको छु। जसमध्ये धुर्मुुस र हरी दाईको क्यारिकेचर गर्दा अलि अलि गाह्रो हुन्छ। हरी दाईको क्यारीकेचर गर्दा घाँटीमा अलि अप्ठेरो महसुस हुन्छ, तर गरेको छु। अहिले घाँटीको भोकल कडमा समस्या भईरहेको कारण निको बनाएर अझ धेरै क्यारिकेचर गर्न सकियोस भन्ने लागेको छ।

कमेडी सफल हुनमा के के कुराको ध्यान दिनुपर्छ ?

पहिलो कुरा त तत्काली विषय वस्तु चयनमा ध्यान दिनु पर्‍यो, त्यस विषय वस्तुलाई दर्शकले बुझ्ने र दर्शकको ध्यान जाने हिसाबले तयार गरेर स्तरीय ढंगले दर्शकमाझ पुर्‍याउन सक्नुपर्छ।

हास्यव्यग्यको क्षेत्रमा आफूलाई कहाँ पाउनुहुन्छ?

अहिले म आफुलाई हास्यव्यग्यको क्षेत्रमा विचको स्थानमा पाउछु। हास्य व्यग्यको हामीभन्दा माथिको एक पुस्ता छन्, जो स्ट्याबलिस भईसकेका छन्। त्यसपछि म दिनेश काफ्ले, सुवोध गौतम आदीको पुस्ता आयो। अहिले विभिन्न कमेडी शोमार्फत नयाँ पुस्ता आईरहनु भएको छ। आफूलाई वुढाहरु र केटाहरु भन्दा विचको पुस्तामा पाउँछु। बुढा र केटाहरुको विचको चाहिँ हामी हौँ।

हास्यव्यग्यको क्षेत्रमा तपाईंको प्रतिस्पर्धा कोसँग छ ?

मेरो प्रतिस्पर्धा पहिलेदेखी र अहिलेसम्म आफैसँग मात्र हो। पहिले कस्तो प्रस्तुति दिन्थें र अहिले त्यो भन्दा राम्रो दिऔँ भन्ने सोच राख्छु। हास्यव्यग्यमा कसैको प्रतिस्पर्धी कोही हुँदैन भन्ने लाग्छ। सबैको आ आफ्नो फरक प्रतिभा हुन्छ। कसैको कमान्ड खतरा हुन्छ, कसैको प्रिजेन्टेशन खतरा हुन्छ, कसैको आवाज नै खतरा हुन्छ।

अहिले हास्यवयग्य क्षेत्रको अवस्था कस्तो छ ?

अहिले हास्यव्यग्यको अवस्था धेरै राम्रो छ। अहिले विभिन्न खालका हास्यव्यग्य सम्बन्धि रियालीटी शो चलिरहेका छन्। गायनको रियालीटी शोहरुमा पनि हास्य प्रस्तुति समावेश गरिएको हुन्छ। गीत संगीतको कुरामा पनि हास्य समावेश गरिन्छ। सरकार चलाउने कुरामा पनि हास्यव्यग्य नै चलेको छ। त्यस कारण हास्य व्यग्य क्षेत्रको अवस्था राम्रो छ। आर्थिक हिसाबमा पनि कलाकारहरु हास्य व्यग्यमा मात्र निर्भर हुन सक्ने अवस्था छ।

तपाईले हास्यव्यग्य सुरु गर्दा र अहिलेमा के फरक पाउनु भएको छ ?

लगभग उस्तै उस्तै स्थिती छ। हुन त आफ्नो जमानालाई सबैले राम्रै भन्छन्। दुःखको कुरा गर्दा पनि हाम्रो पालामा जस्तो दुःख कहिल्यै थिएन भन्छन्, सुखको कुरा गर्दा पनि हाम्रो पालोमाजस्तो सुख त कहिल्यै थिएन भन्छन्। आफ्नो परिस्थिती अनुकुल आफ्नो पालोको कुरा गर्ने हो। चाहे जुनसुकै बेला किन नहोस्, त्यहि प्रकारको संघर्ष र च्यालेन्ज हुन्छन्। संघर्ष र च्यालेन्जका भेरियन्ट फरक फरक हुन्छन्, तर भाईरस भने उहि हो।

प्रतिक्रिया दिनुहोस्