मिडिया अलायन्स नेपालद्वारा शेरचनको निधनप्रति दुख व्यक्त



न्युज अफ नेपाल, काठमाडौँ ।

राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधनप्रति मिडिया अलायन्स नेपालले दुख व्यक्त गरेको छ । शेरचनको निधनप्रति दुख व्यक्त गर्दै अलायन्सले नेपाली मिडिया क्षेत्रले सक्रिय उद्यमी गुमाएको जनाएको छ ।

विज्ञप्ति

सञ्चार उद्यमी शेरचनप्रति भावपूर्ण श्रद्धाञ्जली

भदौ ३, २०७८

नेपालका सुप्रसिद्ध सञ्चार उद्यमी, मिडिया सञ्चालकको संस्था मिडिया अलाइन्सका उपाध्यक्ष, नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्वअध्यक्ष तथा राजधानी राष्ट्रिय दैनिकको प्रकाशन संस्था राजधानी न्युज पब्लिकेशन्स प्रालिका संस्थापक अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट ६७ वर्षको उमेरमा बुधबार दुखद निधन भएको खबरले मिडिया अलायन्स नेपाललाई स्तव्ध बनाएको छ ।

शेरचनको नेपाल एपिएफ अस्पतालमा उपचारका क्रममा निधन भएको र आज बिहीबार ११ बजे उहाँको अन्तिम संस्कार गरिने उहाँको परिवारले जानकारी गराएअनुसार यस क्षेत्रमा समर्पित सबैलाई अन्तिम श्रद्धाञ्जलीका लागि स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै सरिक हुन पनि मिडिया अलायन्स सादर अनुरोध गर्दछ ।

संविधानसभा सदस्यसमेत रही मुलुकको सेवा गरेका शेरचन विज्ञापन बोर्डका सदस्य समेत हुनुहुन्थ्यो । वैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्षसमेत रहेका शेरचनको निधनले उहाँका श्रीमती, तीन छोरा र एक छोरीलाई शोकाकूल बनाएको यस घडीमा अलायन्स शेरचन परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

मिडिया अलायन्स स्वर्गीय शेरचनलाई नेपाली सञ्चार उद्योगका एक अथक योद्धा, आजीवन नेपाली छापा माध्यमको व्यावसायिकताको लागि समर्पित, खासगरी आफ्नो जीवनको पछिल्लो समयमा सम्पूर्णरुपमा नेपाली सञ्चारको वृहत्तर विकास र विस्तारमा केन्द्रित, मिडिया अलाइन्स नेपालको संगठनात्मक सुदृढीकरणका लागि सक्रिय र मूलधारको राष्ट्रिय सञ्चार माध्यमहरुलाई उचाइ दिलाउने कार्यमा लागिरहेका व्यक्तित्वका रुपमा उच्च मूल्यांकन गर्दछ ।

स्वर्गीय शेरचनको आत्माको चिर शान्तिको कामना गर्दै मिडिया अलायन्स उहाँको निधनले नेपाली मिडिया क्षेत्रले सक्रिय उद्यमी गुमाएको ठहर गर्दछ र उहाँबाट अनेक प्रेरणा लिने प्रण गर्दछ ।

–मिडिया अलायन्स नेपाल

प्रतिक्रिया दिनुहोस्