एक­–दुईवटा गीत चल्दैमा गीतकार भइँदैन : रमेश दाहाल



तीन सय बढी गीतका धनी गीतकार हुन् रमेश दाहाल। २०५२ सालदेखि २२ वर्षकै उमेरमा गीत लेखनमा कलम चलाउन थालेका दोलखाको वैतेश्वर गाउँपालिका वडा नं. ५, मैनापोखरीका दाहालको २०५७ सालमा पहिलो गीत फेरि तिम्रो सम्झनाले रेकर्ड भयो। दुई गीत संग्रह प्रकाशन, ३२ ओटा विभिन्न गायक तथा गायिकाको एल्बमका लागि गीत रचना तथा गीतसंगीतका विषयमा अनुसन्धानात्मक लेखहरूसमेत लेख्दै आएका रमेश वर्तमान गीति लेखनका एक चर्चित गीतकार हुन्। पुराना तथा नयाँ पुस्ताका संगीतकार तथा गायक गायिकासँग सांगीतिक सहकार्य गर्दै आएका दाहालको हजार अधिक गीत लिपिबद्ध छन्। नौ वर्षको हुँदै मातृवियोग भोगेका ४३ वर्षीय दाहालले आमाको अभावले पढाइमा प्रभाव पर्ने देखेपछि घर छोडी भागेर चरिकोट पुगेर गरी विद्यालय शिक्षा हासिल गरे। त्यस क्रममा जिल्लास्तरीय कविता, गीत वा वादविवाद प्रतियोगितामा प्रथम हुने रमेशको रुचि र क्षमता बुझेर उनलाई प्रेरणा दिने साथी तथा गुरुका कारणले उनमा गीत लेखनमा गहिरो लगाव भयो। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियरिङ पूरा गरे पनि गीत रचनामा रस बसेका रमेश आफूले लेखेका गीतमा विशिष्टता खोज्छन्।

फेरि तिम्रो सम्झनाले, किनारमा उभिएर जाल हान्ने दाइ, जननी जन्मभूमि, ए झण्डा, रानी खोला, खैरो खैरो कपाल तिम्रो, तिम्रो ओठको आकृति, सुन्दर फूल, तिमीलाई भेटेपछि, मिल्टेरीको जुत्ता, हुन्न हुन्न, खाइदेउ गोरी खाइदेउ, केवल यादमा तिम्रोजस्ता गीत उनलाई चिनाउने गीत हुन्। २०६६ सालमा उनले रेडियो नेपालले स्थापना दिवसको अवसरमा आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा पूर्वको बादल जल्यो बोलको गीत लेखेर उत्कृष्ट गीतकारको पुरस्कार चुमेका उनले दोस्रोपटक २०७७ सालमा पनि रेडियो नेपालकै प्रतियोगितामा बाटाभरिका तगारा बोलको गीतको लागि उत्कृष्ट गीतकारको पुरस्कार चुमे। उत्कृष्ट गीत रचना गरेवापत नै उनले म्युजिक खबर म्युजिक अवार्ड २०७६, सातौं नेसनल क्यापिटल अवार्ड, नाट्येश्वर म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड, जिनियस म्युजिक अवार्ड, औद्योगिक शान्ति नेपाल म्युजिक अवार्डजस्ता अवार्डलाई आफ्नो बनाएका छन्। उनका गीतहरू विभिन्न सांगीतिक अवार्डको उत्कृष्टको नोमिनेसनमा पनि प्रशस्तै परेका छन्। रेडियो नेपालको ‘क’ वर्गका उनै गीतकार दाहालसँग नेपाल समाचारपत्रका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

गीत लेखनमा कसरी आकर्षित हुनुभयो ?

म सानैदेखि गीत खुब सुन्थेँ। पढ्दा पनि रेडियो बजाएर पढ्थें। खासगरी नेपाली आधुनिक गीत खुब मन पथ्र्यो। शब्दलाई खुब केलाएर सुन्थें। कालिञ्चोक माध्यमिक विद्यालय, चरिकोटमा पढ्दा म विभिन्न कविता प्रतियोगितामा भाग लिन्थें। पुरस्कृत भएर प्रमाणपत्रहरू पाउँदा मलाई नियमितता दिन प्रेरणा मिल्यो। पछि नौ कक्षामा पढ्दा मलाई कविताभन्दा गीतमा रुचि बढ्यो। त्यसपछि गीत लेख्न थालें। औपचारिकरूपमा २०५२ सालबाट गीत लेख्न थाले तापनि २०४८ सालतिरैबाट गीत लेख्थें। मेरो गीत लेखनको शुरुवात वियोगान्त गीतबाट भएको थियो। मैले शुरू–शुरूमा लेखेका गीतको कपी नै हराए। शुरूका सिर्जना कतिपय पुनः लेख्न सकें कतिपय बिर्सें।

गीत कति बेला फुर्छ ?

जति बेला कुनै विशेष प्रकारको घटना समाजमा भएको देख्छु, मलाई एक प्रकारको पीडा महसुस हुन्छ। कुनै घटना जसले मेरो मष्तिस्कमा घोच्छ, त्यतिबेला गीत लेख्छु। मानिसका प्रेम प्रसंग, बिछोडका प्रसंग र सामाजिक जीवनका पाटाले उत्तिकै छुन्छ। उदाहरणका लागि मलाई छाउपडीका कथाले छुन्छ, बेरोजगारीका कथाले छुन्छ, घर छोडेर परदेशको परिश्रमले छुन्छ। यी सबै घटनाले मलाई घोच्दा गीत फुर्छ र म जतिबेला पनि गीत कोर्छु।

एउटा कुशल गीतकार हुन के गर्नुपर्छ?

गीतको संरचना, संगीतको साधारण ज्ञान, गायक–गायिका छनोटमा बुद्धिमता र अध्ययनशीलता एउटा कुशल गीतकार बन्न आवश्यक गुणहरू हुन्। गीतको संरचना बुझेर गीत नलेख्दा गीतमा विविधता आउँदैन। संगीतको हिसाबले स्वीकार्य गीत बन्न जरुरी छ। त्यसैले, गीतकारमा संगीतकोे साधारण ज्ञान भएमा राम्रो गीत लेख्न सकिन्छ। कुन संगीतकार वा गायक गायिकाले कुन प्रकारको गीत गाउँछन् भन्ने बुझेर सहकार्य गर्दा परिणाम पनि राम्रो आउँछ। साथै, एउटा लेखक अध्ययनशील र जिज्ञासु पनि हुन जरुरी छ।

गीत रचनामा ध्यान दिनुपर्ने कुरा के–के हुन् ?

मानिसको क्षमता वा खुबी केलाई भन्ने यो एउटा अलग कुरा हो। क्षमता वा खुबी अध्ययन तथा अभ्यासले निक्र्योल गर्ने गुण हो। एउटा कुशल गीतकार बन्न लामो समयको अध्ययन चाहिन्छ। गीतकार बन्न एकदिनको अध्ययनले साधना पुग्दैन। असल गीतकार बन्न चाहनेले धेरै कुरा आत्मीकरण गर्न सिक्नुपर्छ। पहिलो कुरा उसले भाषाका विभिन्न पाटासँग सम्बन्ध विस्तार गर्न सिक्नुपर्छ। शब्दहरू कुन–कुन अवस्थामा कसरी प्रयोग गरिन्छ, त्यसको गाम्भीर्यता के हो त्यो जान्न जरुरी छ। एक–दुईओटा गीत लेख्दैमा वा चल्दैमा उ गीतकार भइसक्दैन। किनभने गीतकारले एउटा मात्रै गीत कोर्दैन वा उसले एउटा मात्रै जीवनको आयाम लेखेर पुग्दैन। सफल गीतकार बन्न चाहनेले आफूभन्दा अग्रज वा जुनियर पुस्ताले कसरी शब्दसँग खेलेका छन्, कसरी कथालाई प्रस्तुत गरेका छन् भन्ने बुझ्न जरुरी छ। शब्दहरूको भौतिक उपस्थितिले मात्रै गीत बन्दैन। किनभने शब्दहरूले व्यक्त गरेको कलात्मक परिवेश गीत हो। कुशल गीतकारले त्यो शाब्दिक परिवेशलाई कसरी साधारण मानिसलाई बुझाउँछ भन्ने महत्वपूर्ण छ। त्यसका लागि अध्ययन गर्न, सुन्न र अभ्यास गर्न जरुरी छ।

कस्तो गीत रचना गर्न रुचाउनुहुन्छ ?

म खासगरी सामाजिक भावनाका सकारात्मक सन्देश प्रवाह गर्ने युवा, विकास तथा समानताका गीतहरू लेख्न मन पराउँछु। तर, एक व्यावसायिक गीतकार भएपछि मैले एकै प्रकारका गीत लेख्ने हैन। मसँग मैले लेखेका प्रेम तथा बिछोडका गीतका लागि धेरै संगीतकर्मी आउनुहुन्छ। त्यसैले म आधुनिक गीत विधाभित्र पर्ने प्रेम, सामाजिक र राष्ट्रिय भावनाका गीत बराबर लेख्छु। प्रेम भावनाका गीत मेरा लगभग ५० प्रतिशत छन्। सामाजिक र राष्ट्रिय भावनाका गीत ५० प्रतिशत जति लेखेको छु।

गीत लेखेर गुजारा गर्न सकिन्छ ?

सबैले सक्दैनन्, तर केही गीतकार छांै जसले गीतमै जीवन गुजारा गरेका छौँ। जीवन कसरी गुजारा गर्ने भन्ने पनि हुन्छ। हाम्रो जस्तो सानो मार्केट अनि वर्तमान संगीतको बजारमा पनि मेरो गीत लेखनले जीवन गुजारालाई जति टेवा पुगेको छ, त्यसबाट म सन्तुष्ट छु।

हिजोआज गीति संग्रहको चलन हराएको छ। यस अवस्थामा पनि तपाईं तेस्रो संग्रहको तयारीमा हुनुहुन्छ ?

रेकर्ड गरेर निकालिने श्रव्य सामग्री सधैं सबैको पहुँचमा नहुन पनि सक्छन्। अर्को साहित्यिक समाजले हाम्रा गीतका किताब खोजिरहेका हुन्छन्। हामीले लेखेका गीत उहाँहरूसम्म पुग्न जरुरी छ र यो कुरा गीतको किताब निकालेर मात्रै सम्भव छ। अर्को कुरा रेकर्ड भएर आएका गीतले संगीतको सेवा गरेका हुन्छन् भने गीति सङ्ग्रहले साहित्यको सम्बद्र्धन गरेको हुन्छ। म साहित्यको पनि सेवक हुँ, त्यसैले गीतसङ्ग्रह निकाल्न राम्रो ठान्दछु। २०६२ सालमा बालुवाको घर र २०७५ सालमा हिउँको फूल निकालिसकेपछि अब तेश्रो गीतसङ्ग्रह फूलको केस्रा निकाल्न लागिपरेको छु।

गीत–संगीतमा विकृति बेस्सरी बढ्यो नि ?

म विकासमा विश्वास गर्ने गीतकार भएकोले आजको हाम्रो गीतसंगीत आजभन्दा ५० वर्षअघि जस्तो थियो, आज पनि त्यस्तै हुनुपर्छ भनेर भन्न सक्दिनँ। हाम्रा गीत–संगीत समयको गतिसँगै परिवर्तन हुँदै गएता पनि हाम्रो मानसिकता परिवर्तन हुन सकेको छैन। त्यसैले, हामीले समयको मागसँगै बग्दै गएको संगीतलाई अपजस लगाएका हौँ। यति भन्दाभन्दै पनि म गीत संगीतमा छाडापन स्वीकार गर्न सक्दिनँ। गीत–संगीत समाजको दर्पण भएकोले यसमा पनि अनुशासन हुन जरुरी छ। छाडापनलाई आधुनिकता भन्न सकिन्न।

गीतकारको सूचिमा आफ्नो स्थान कहाँनेर पाउनुहुन्छ ?

मलाई नेपाल सरकारले रेडियो नेपालमार्फत नेपालको ‘क’ वर्गको गीतकारको सूचिमा राखेको छ। तर, महŒवपूर्ण कुरा भनेको म मेरो कामको हिसाबले म आफूलाई मेरो पुस्ताको उच्चस्थानमा पाउँछु।

यो क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई तपाईंको सुझाब ?

मलाई यो क्षेत्रमा आउन सल्लाह माग्नेहरू धेरै छन्। यो क्षेत्रमा आउँदा धैर्यता लिएर आउनुपर्छ। अध्ययन पनि अत्यन्तै जरुरी छ। गीतकारिता एउटा जिम्मेवार पूर्ण काम हो, यसलाई सस्तो लोकप्रियताको लागि भन्दा पनि मनोरञ्जनका साथ साथै समाजलाई सही मार्गमा लैजाने अवसर पनि भएकोले त्यही सोच लिएर मात्र आउन मैले सल्लाह दिने गरेको छु। गीत समाजको ऐना हो। हामीले बाँचेकोे नेपाली समाजलाई नै मनोरञ्जन दिनका लागि गीत–संगीत सिर्जना गर्ने हो।

प्रतिक्रिया दिनुहोस्