मनाङीलाई पूर्वमन्त्री गुरुङको राहत



नेपाल समाचारपत्र, काठमाडौं ।

पूर्वमन्त्री एवं कांग्रेस सभापति टेकबहादुर गुरुङ र सांसद चिन्ताबहादुर घलेले मनाङका बाढीपीडितलाई ३० लाख रुपियाँ बराबरको राहत वितरण गर्नुभएको छ । उहाँहरूले मनाङका प्रत्येक घरलाई भोकमरीबाट मर्नु नपरोस् भनेर दाल, चामल, तेल, नुनलगायतका खाद्य सामग्री राहतस्वरूप उपलब्ध गराउनुभएको हो ।

पूर्वमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सांसद चिन्ताबहादुर घलेले निजी स्रोतमा मनाङका चारवटै गाउँपालिकामा राहत वितरण गर्नुभएको हो । उहाँहरूले ४१ हजार केजी खाद्यान्न पहिला लमजुङ सदरमुकाम बेंसीशहरमा राखेर त्यहाँबाट सेनाको हेलिकोप्टरमार्फत पाँचपटक उडान गरी वितरण गर्नुभएको थियो ।

खराब मौसमका कारण मनाङका सबै ठाउँमा खाद्यान्न पुर्‍याउन नसकिएका बाँकी ठाउँमा मौसममा सुधार आउनेबित्तिकै ढुवानी गरिने पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङले बताउनुभयो । त्यसका लागि राहत वितरण टोलीका सदस्यलगायत हेलिकोप्टर र चालक दलका सदस्य लमजुङको बेंसीशहरमै बसेको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

मौसम सफा भएमा सोमबार बिहानै निस्याङको मनाङ, नार्पाभूमि गाउँपालिकाको लागिसमेत गरी कुल ११ उडान भर्ने तयारी गरिएको नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र धलेले बताउनुभयो ।

पिसाङका स्थानीय राम गुरुङले राहत सामग्री बुझ्दै जोखिम मोलेर नै अभिभावक आएको अनुभूति भएको बताउनुभयो । त्यसै गरी नासोँ गाउँपालिकका उपाध्यक्ष कमलमाया गुरुङले सबै पालिका बगाएको र गाउँपालिकाको सबै काम अन्य जिल्लाबाट सञ्चालन गर्नुपरेको अवस्थामा राहत आउँदा खुशी लागेको बताउनुभयो । यसअघि वितरण गरिएको राहतमा आफ्नो असन्तुष्टि रहेको बताउँदै उहाँले भन्नुभयो– ‘अरूले राहतमा राजनीति गरे । तर कांग्रेसले गरेन ।’ असार १ गते बाढी पहिरो गएलगत्तै सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले निजी खर्चमा राहत सामग्रीसहित तल्लो मनाङको ताल, धारापानी र ओडार पुग्नुभएको थियो ।

त्यसै गरी, असार ८ गते पूर्वमन्त्री एवं सभापति टेकबहादुर गुरुङ र नेपाली सेनाको प्राविधिक टोली सदरमुकाम चामे पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्