अभिलेख विपरित मोही कट्टाको फैसला



सञ्जय कार्की, रौतहट ।

अभिलेख विपरित भूमि सुधार तथा मालपोत कार्यालय गौरले एक ब्यक्तिको जग्गामा कायम रहेको मोही कट्टा गरेको खुल्न आएको छ । भुमी सुधार तथा मालपोत कार्यालय गौरको १ नम्बर मोहीको लगत स्रेस्तामा मोही बखत बहादुर चौहान क्षेत्री रहदा रहदै पनि बेपते बखत बहादुरको नाम बाट मोहीको लगत कट्टा गरेको पाइएको छ ।

०२१ सालको सर्बे नापी अनुसार नापी कार्यालयको फिल्डबुकमा साबिक चन्द्रनिगाहपुर गाबिस–१ स्थीत किता नम्बर २ सय २० को १९ कटठा जमिनमा गोमा कुमारी मगर जग्गा धनी रहेको जग्गाको मोही महलमा किसान बखत बहादुर चौहान क्षेत्री रहको छ तर उक्त जमिन मध्ये खरिद गरेका शंकर राय यादबको कित्ता नम्बर १३८५ को १८ धुर जमिनमा मोही बखत बहादुर चौहानको पुरा नाम भुमी सुधार तथा मालपोत कार्यालय गौरको स्रेस्तामा रहेपनि कार्यालयले थर नराखीकनै गलत प्रक्रिया अपनाउदै मोही लगत कट्टा गरेको पाइएको छ ।

भूमि सुधार तथा मालपोत कार्यालय गौरको स्रेस्ता र नापी कार्यालय चन्द्रनिगाहपुरको फिल्डबुकमा उक्त जमिनको मोही महलमा बखत बहादुर चौहान क्षेत्री रहेपनि लालपुर्जामा बखत बहादुर मात्रै राखेर चन्द्रपुर नगरपालिकाको ४ नम्बर वडा समिति सहितको संलग्नतामा भुमी सुधार तथा मालपोत कार्यालयका कर्मचारीले जग्गाधनी संगको मिलोमतोमा मोही कट्टा गरेको खुलेको हो । मोहीको नाम थर रहदा रहदै भुमी सुधार तथा मालपोत कार्यालय गौरले थर नराखीकनै बेपते मोही भनेर कट्टा गर्दा आफु आश्चर्य चकित परेको कौशल चौहानले बताउनु भयो ।

उहाँले किर्ते कागज बनाएर मोही कट्टा गरिदिदा आफु अन्यायमा परेको बताउनु भयो । भुमी सुधार तथा मालपोत कार्यालय गौरले यस अघि देखिनै सोही प्रक्रिया अपनाउदै सोही किता नम्बर २२०को जमिनको मोही बदर गर्दै कितानम्बर ५७० र ५७१ कायम गरेको र सोही आधारमा पुन कितानम्बर ५७१ बदर गरी कितानम्बर ७५९ र ७६० कायम गरेपछि कायम भएको कितानम्बर ७६० बदर गरी १०१३ र १०१४ कायम गरेको त्यसैगरी कितानम्बर १०१४ बदर गरी कितानम्बर १०३२, १०३३ र १०३४ कायम गदै कितानम्बर १०३४ बदर गरी १०८४ र १०८५ कायम गरेको खुल्न आएको छ ।

सोही १०८५ नम्बर किता नम्बरको १८ धुर जमिनको मोही बखत बहादुर चौहान क्षेत्रीको थर खाली खालेर बखत बहादुर मात्रै जनाएर भुमी सुधार तथा मालपोत कार्यालय गौरले मोही कट्टा गर्ने फैसला गरेको पाईएको छ । भुमी सुधार तथा मालपोत कार्यालय गौरका तत्कालिन कार्यालय प्रमुख सिताराम थापाको ईजलासले ०७६ साल भदौ २ गते आधिकारीक मोही लाई जानकारी नगराइकनै उक्त जमिनको मोही लगत कट्टा गरेर मालपोत कार्यालय चन्द्रनिगाहपुरमा स्रेस्ता जनाउन पत्राचार गरेको पाइएको छ ।

तत्कालिन प्रमुख सिताराम थापा भने हाल मालपोत कार्यालय लगनखेन ललितपुरमा कार्यरत हुनु हुन्छ । यस बिषयको उहा लाई जानकारी गराउदा स्रेस्ता बमोजिमको मुध्दा सुनवाई हुने र यसो भए फाँटवालाले झुक्याएको हुन सक्ने बताउनु भयो । यस्तै चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ का अध्यक्ष अमर आलेले समेत पेश गरेको स्रेस्ता नहेरीकनै बखत बहादुरको ०३२ साल अगाबै कालगतीले मृत्यु भएको र नीजको पत्नी, छोरा, छोरी, दाजु भाई समेत कोही नभएको सिफारिस गरेका छन तर बखत बहादुर चौहान क्षेत्रीको जिल्ला प्रशासन कार्यालय रौतहट बाट ०३५ असोज ११ गते नागरिकताको प्रमाण पत्र बनेको अभिलेखमा उल्लेख रहेको छ ।

वडाअध्यक्ष अमर आलले सिफारिस लिन आउदा आफुले स्रेस्ता नहेरेको तर लालपुर्जामा बखत बहादुर मात्रै रहेकोले सोही आधारमा आफुले सिफारिस गरेको बताउनु भयो । उता बखत बहादुर चौहान क्षेत्रीको नाती कौशल चौहानले ०६४ साल चैत्र ४ गते हजुर बुवाको निधन भएपनि वडा कार्यालयले गैरजिम्मेबार तबरले ०३२ सालम मृत्यु भएको सिफारिस गर्नु दुखद रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्