मृगौला पीडितद्वारा सहयोगको याचना



न्युज अफ नेपाल, सुनसरी ।

दुवै मृगौला फेल भएर उपचारको क्रममा रहेकी इटहरी-१९ तरहराकी मालती सुन्दासको परिवारले सहयोगको याचना गरेको छ । विगत तीन वर्षदेखि मृगौलामा समस्या देखिएकी ५४ वर्षीय सुन्दासको हाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले उपचारमा कठिनाइ भइरहेको उनका श्रीमान मुक्ति सुन्दासले जानकारी दिए । विगत लामो समयदेखि मुटुरोगको समस्याबाट पीडित रहेकी सुन्दासका दुवै मृगौलाले समेत काम गर्न छाडेपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । हप्तामा दुई चोटी गर्नुपर्ने डाइलासिस आर्थिक अभावका कारण हाल एकपटक मात्रै गराइरहेको  उनका श्रीमान् मुक्तिले बताए ।

 परिवारसँग भएको सबै घर जग्गा समेत श्रीमतीकै उपचारका  कारण सकिएकाले हाल आफूहरु भाइको घरमा बसिरहेको पनि उनले बताए ।यसअघि उनले आफन्त र ईष्टमित्रलाई समेत खर्चका लागि गुहारेका थिए ।  कोरोना महामारीका कारण जारी लकडाउनले पनि उनलाई उपचार खर्च जोहो गर्न निक्कै अप्ठ्यारो भएको बताए ।

मृगौला पीडितका लागि भन्दै सरकारले केही सहजीकरण गरेको भए पनि महङ्गो औषधिहरु आफै किन्नु पर्ने बाध्यता रहेकोले पनि सहयोगको याचना गर्नुपरेको उनको दुखेसो छ । विगत तीन वर्षदेखि मृगौलामा समस्या देखिएसँगै भारतको सिलिगुडीमा उपचार गराउँदा परिवारसँग भएको रकम सकिएपछि उनलाई उपचार गराउन खर्च अभाव भएको हो ।

५४ वर्षीय सुन्दासको हाल दुवै मृगौलाले काम गर्न छाडेका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएको हुँदा जीवन रक्षाको लागि सहयोग गरी दिन परिवारले अपिल गरेका हुन् ।

सहयोग गर्न चाहनेहरूले उनका श्रीमान् मुक्ति सुन्दासको  सम्पर्क नम्बर ९८०३७२८६२० मा सम्पर्क गरिदिन  अनुरोध गरेका छन् । साथै, उनका श्रीमान् मुक्तिबहादुर दर्जी(मुक्ति सुन्दास)को  नाममा नबिल बैंक तरहरा शाखामा रहेको खाता नम्बर 11910017501676 मा रकम जम्मा गरेर सहयोग गर्न सकिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्