सिक्री र औंठीले आफ्नै साथीले लिए प्राण



कृष्णउदास खनाल, वीरगन्ज ।

काठमाडौंबाट सवारीचालक अनुमति पत्र (लाइसेन्स ) बनाउन वीरगन्ज आएका एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरगन्ज ७ रामटोलका २५ वर्षीय राहुल महर्जन र २७ वर्षीय दीप लामा तथा बाराको फेटा ३ का २७ वर्षीय धनन्जय रजकलाई पक्राउ गरेको हो ।

हत्यामा भारत मोतीहारीका ३० वर्षीय रवि सर्राफ भने फरार रहेको प्रहरीले जनाएको छ। सर्लाही लालबन्दी नगरपालिका १ घर भइ हाल काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिनको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। लाइसेन्स बनाउन सुजन गत बुधबार वीरगन्ज आएका थिए ।

बिहीबार बिहान वीरगन्ज ७ रामटोल स्थित सडकमा उनी घाइते र अचेत अवस्थामा फेला परेका थिए। उपचारका लागि नारायणी अस्पतालमा पु¥याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

प्रहरीका अनुसार सुजनले लगाएको सुनको औंठी र सिक्री लुट्नका लागि उनकै साथीहरुले हत्या गरेका हुन्। वीरगन्ज आइपुगेर बुधबार राति सुजनले दीप लामाको कुम्हाल टोल स्थित घरमा साथीहरूसँग बसेर अबेर रातिसम्म बियर खाएका थिए । बियर सकिएपछि थप किन्न जाने बहानमा बा २ ज ५७८५ नम्बरको कारमा सुजनलाई लिएर उनका साथीहरुले रामटोलकै एकान्त स्थानमा लगेर घाँटी थिचेर हत्या गरी सुनको सिक्री, सुनको औँठी, घडी र नगद १० हजार रुपैयाँ लुटेर फरार भएका थिए ।

हत्यामा संलग्न मध्येका ३ जनालाई शुक्रबार पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो । फरार रहेका भारतीय नागरिक रविको पनि खोजी भइरहेको खनालले बताए। पक्राउ परेका तीन जना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्