विगतका कामको समिक्षा गर्दै वालिङ



अमृत अर्याल, स्याङजा ।

वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले सामूहिक पहलबाट विकास सम्भव भएको बताउनुभएको छ । वालिङ नगरपालिकाले आयोजना गरेको वडा तथा नगरका विभिन्न शाखाहरुले गत आर्थिक वर्ष २०७७÷०७८ मा गरेका कार्यहरुको वार्षिक समीक्षा कार्यक्रममा बोल्नुहुँदै उहाँले विकासका लागि जनप्रतिनिधि तथा कर्मचारी सबैको सामूहिक पहल आवश्यक रहेको बताउनुभएको हो ।

अघिल्लो आर्थिक वर्षमा भएका गतिविधिहरुको तथ्यांकलाई तुलना गर्दै आगामी आर्थिक वर्षका योजनाहरु बनाउने र त्यसको कार्यान्वयनमा जोड दिंदै अगाडि बढ्नुपर्ने सुझाव उहाँले दिनुभएको छ । “१४ वटै वडा र नगरस्थित रहेका विभिन्न शाखाहरुले गरेका असल अभ्यासहरुको अनुकरण गर्दै आ–आफ्नो क्षेत्रमा रचनात्मक तवरले लागेमात्रै उपलब्धी देखिन्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “यस अगाडिका तथ्याङ्कहरुको तुलनात्मकरुपमा अध्ययन गरेपछि कहाँ छौं, कस्तो अवस्थामा छौं भन्ने जानकारी प्राप्त हुने र आगामी दिनमा लक्ष्य प्राप्तिका लागि नयाँ र रचनात्मक योजना बनाउँदै प्रगति हासिल गर्ने दिशामा अगाडि बढ्न सहयोग पुग्नेछ ।”

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले वडागत तथा शाखागतरुपमा आएका असल अभ्यासहरुलाई निरन्तरता र कमि कमजोरीहरुलाई आगामी आर्थिक वर्षमा सुधार गर्दै लगिने बताउनुभयो । उहाँले समीक्षा गर्ने कार्यले अहिलेसम्मको अवस्थाको बारेमा जानकारी भई अबका लागि योजना बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

नगरपालिकाका १४ वटा वडाको वार्षिक प्रगतिका बारेमा वडा सचिवहरुले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । आईतबार नगरपालिका अन्तर्गतका विभिन्न शाखा प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गर्नुहुनेछ । समीक्षा कार्यक्रमबाट प्राप्त उपलब्धीहरु अभिलेखको रुपमा राख्नुका साथै समग्रमा नगरपालिकाले प्रकाशन गर्ने प्रगति विवरणसम्बन्धी पुस्तिकामा समावेश गर्नेछ ।

नगरपालिकाद्वारा संचालित योजनाहरुको प्रगती, वजेट, खर्च, सिकाई, चुनौतीहरुवारे सम्वन्धित वडाको प्रस्तुती र कार्यक्रम सार्वजनिक गर्नु र सुझावहरु संकलन गरी आगामी वर्षमा सुधार गर्दै लैजानु समीक्षा वैठकको मुख्य उदेश्य रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्