कोरोना भेरियन्टको त्रास



नेपालमा हरेक दिन कोरोना संक्रमितको परिमाण उकालो लागेको मात्र नभई नयाँ–नयाँ भेरियन्टहरू पनि देखिने क्रम बढेको छ । यही कारणले स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई स्वास्थ्य सुरक्षा अपनाउन सचेत गराए पनि राजनीतिक समूहले नै नियम उल्लंघन गर्दै दैनिक सडकमा खुलेआम जुलुस निकालिरहेका छन् । सर्वसाधारण नागरिकले पनि स्वास्थ्य सतर्कतामा खासै प्राथमिकता दिनसकेको देखिन्न ।

नेपालमा पुनः डेल्टा भेरियन्ट र कप्पा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक सूचना नै जारी गर्दै पुष्टि गरेको छ । सूचनामा उल्लेख गरिएअनुसार नेपालमा हालसम्म तीनवटा भेरियन्ट पुष्टि भइसकेका छन् । प्रमाणित भएको कोरोना भाइरसको नमुना २०७८ जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४७ वटा नमुना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको सेन्टर फर एक्सिलेन्स इन जिनोमिक्स द इन्स्टिच्युट अफ जिनोमिक एन्ड इन्टेग्रेटिभ बायोलोजी (आईजीआईबी) मा सिक्योन्सिङका लागि असार ३० गते पठाएको थियो । तीनैवटा भेरियन्ट छिटो फैलने र जोसुकैलाई जोखिम हुनसक्ने विश्व स्वास्थ्य संगठनले स्पष्ट पारेको छ । विश्व स्वास्थ्य संगठनले यी भेरियन्टहरूलाई भेरियन्ट अफ कन्सर्न र भेरियन्ट अफ इन्ट्रेस्टका नामले चिनाउँदै आएको छ । सिक्वेन्सिङ गर्ने प्रविधि महँगो छ भन्दै सरकारले जटिलता देखाइरहेका बेला काठमाडांै विश्व विद्यालय धुलिखेलले परीक्षण गर्ने तत्परता देखाइरहेको छ । तर, सरकारले त्यसलाई मान्यता दिनुको सट्टा भारत पठाएर प्रमाणित गराएर ल्याउनु अर्को आश्चर्यको विषय बनेको छ । असार ३० गते परीक्षण गर्न भारत पठाएको ४७ वटा नमुनाको परीक्षण भई साउन १२ गते मात्र परिणाम आइपुग्यो । नेपाल सरकारले जीन सिक्वेन्सिङ गर्ने उपकरण खरिद गर्ने प्रक्रिया शुरू गरेको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि कुनै टुंगो लागेको छैन । मुलुकमा महामारीले आक्रान्त पार्दा पनि मुनाफाखोरहरू उत्तिकै सक्रियताका साथ लागिरहने गरेको देखिन्छ । यसलाई नियन्त्रण गर्नुको साटो सरकारले पनि कमिसनको लोभ त्याग्न सकेको छैन ।

नेपालमा रोग फैलिनु, मान्छे मर्नुलाई गम्भीररूपमा नलिएकै कारण ‘मेडिकल उपकरण खरिद प्रकक्रियालाई रोडा, सिमेन्टको दर्जामा राखिएको देखिन्छ । त्यसैले, प्रक्रियाका नाममा समय लगाउने परिपाटीले जरा गाडेको छ । यतिमात्र नभएर तालिम प्राप्त जनशक्तिसमेत नहुँदा थप समस्या आउनेगरेको छ । यस अवस्थाको अन्त्य गर्न छिटोछरितो काम गर्ने–गराउने र तालिम दिने–दिलाउने प्रक्रियालाई सहज र सरल बनाउनु आजको आवश्यकता बनेको छ । नेपालमा यस्ता झन्झटिला प्रक्रियालाई नै स्थिर राखिरहने हो भने कोरोना भाइरस मात्र नभई अन्य रोगको पहिचान गर्न पनि उत्तिकै कठिनाइ रहिरहने छ । नेपाली नागरिकको स्वस्थ भएर बाँच्न पाउने नैसर्गिक अधिकारको नारा केवल राजनीतिक दलहरूको घोषणापत्र र संविधानको किताबमा मात्र सीमित नरहोस् भनेर सबैतिरबाट आवाज उठ्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्