सल्यानका ६० हजार विद्यार्थीले पढाइबाट बन्चित



न्युज अफ नेपाल, सल्यान ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न भन्दै विद्यालय बन्द हुँदा सल्यानका ६० हजार विद्यार्थी प्रभावित भएका छन् । नयाँ शैक्षिक सत्र सञ्चालन भएको तीन महिना पुगीसक्दा समेत विद्यालय सञ्चालन हुन सकि रहेको छैन । विद्यालय बन्द हुँदा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्ने भनिए पनि पहाडी जिल्ला भएकाले सफल हुन सकिरहेको छैन ।

सदरमुकाम समेत रहेको शारदा नगरपालिकाका केही विद्यालयले वैकल्पिक विधिबाट पठन पाठन गराएको भए पनि जिल्लाका अधिकांश विद्यालय बन्द नै रहेका छन् । लामो समयदेखि विद्यालय बन्द हुँदा जिल्लाका पाँच सय विद्यालयका ६० हजार विद्यार्थी घरायसी कामकाज तथा मजदुरीमा व्यस्त हुँदै आइरहेका छन् ।

वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्ने योजना भएपनि सबै ठाउँमा फोन नलाग्ने हुँदा रोकिएको श्री जनज्योति माध्यमिक विद्यालय दार्मा गाउँपालिका ३ फारुलाका प्रधानाध्यापक मिनराज वलीले बताउनु भयो । उहाँले भन्नु भयोे ‘गत वर्ष त टोलटोलमा गएर पढाउने व्यवस्था गरेका थियौं तर यो वर्ष अहिलेसम्म केही गर्न सकिएको छैन ।’

सामुदायिक विद्यालयमा अधिकांश विपन्न बालबालिकाले अध्ययन गर्ने र सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको जनता माध्यमिक विद्यालय कुमाख गाउँपालिका ३ रोगेचौरका प्रधानाध्यापक गोरख बुढाथोकीले बताए । उहाँले भन्नु भयो, ‘इन्टरनेट सुविधा नहुँदा अनलाइन कक्षा सञ्चालन गर्न समस्या हुनुका साथै कोरोना संक्रमण फैलने जोखिमका कारण विद्यालय खोल्न समस्या भएको छ ।’

विद्यालयमा ७ सय भन्दा बढी विद्यार्थी भएपनि अहिले सम्म पठन पाठन नहुँदा समस्या उत्पन्न भएको उहाँको भनाई छ । शाारदा नगरपालिका १ सितलपार्टीमा रहेको शिवजन माध्यमिक विद्यालयले भने अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेको छ । कक्षा ६ देखि १० सम्म अनलाइनको माध्यमबाट कक्षा सञ्चालन भइरहेको प्राधानाध्यापक हिरालाल नेपालीले बताउनु भयो ।

अनलाइन कक्षा सञ्चालन गरेको भएपनि जम्मा विद्यार्थीको झन्डै ३० प्रतिशत विद्यार्थी मात्र अनलाइनको पहुँचमा रहेको र अन्यलाई जोड्ने प्रयास भइरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्