पुनर्निर्माणमा दक्षिण एसियाकै मानवनिर्मित पहिलो सुरुङ



हेटौंडा, (नेस) ।

नेपाललाई संसारभर चिनाउन मद्धत गर्ने हेटौंडास्थित पहिलो सुरुङको पुनर्निर्माण सुरु गर्ने अन्तिम तयारी गरिएको छ । साउन १४ गते विहान ८ बजे चुरियामाई सुरुङको पुनर्निर्माणको शिलान्यास बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबाट हुने भएको हो ।

सन् १९१७ मा दक्षिण एसियाकै मानवनिर्मित पहिलो सुरुङ चुरियामाई सुरुङ बनेको थियो । श्री ३ चन्द्रशमशेरको पालामा नेपाली इञ्जिनियर डिल्लीजंग थापाले इञ्जिनियरिङ गरेको सुरुङलाई सम्पदाका रुपमा संरक्षणका लागि पुनर्निर्माण गर्न थालिएको हो । यसका लागि माउण्टेन इन्फ्रा कम्पनीको बोलपत्र स्वीकृत भएको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब पाँच करोडको अधिकतम् सीमाभित्र सुरुङमार्ग पुनर्निर्माणसम्पन्न गर्नसक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको थियो । प्रदेशमा भौतिक पूर्वाधार अध्ययन केन्द्रका रुपमा विकास गर्न बहुवर्षीय योजना अगाडि बढाइएको छ । पहिरोले एकापट्टिको भाग पुरिएपछि मार्गको करिब २ सय ८० मिटरमात्र बाँकी रहेर अस्तित्व नै नरहने अबस्थामा पुगेपछि प्रदेश सरकार तातिएको हो ।

साबिक नगरपालिकाले क्षेत्र विस्तार भएपछि हाल हेटौंडा उपमहानगरपालिका वडा–१७ मा रहेको एतिहासिक सुरुङ सम्बन्धमा प्रदेश सरकारले चासो लिएको छ । सुरुङमार्गबारे अध्ययन र खोजीका लागि हेटौंडा उपमहानगरपालिकाले पनि गत वर्ष ५० हजार रुपियाँ बिनियोजन गरेको थियो । यसलाई मास्टर प्लानमा समावेश गरिने नगरपालिकाले जनाएको छ ।

दक्षिण एसियामा पहिलो मानवनिर्मित सुरुङबारे नेपाली र विश्व समुदायलाई जानकारी गराएर उनीहरुको ध्यान हेटौंडातर्फ आकर्षित गर्ने उद्धेश्य राखी प्रदेश सरकार अगाडि बढेको हो । हेटौंडा नगरपालिकाले यससम्बन्धि इतिहास, डिजाइनिङ र प्रसिद्ध चुरियामाई मन्दिरबीचको सम्बन्धबारे आबश्यक प्रमाण संकलन गरिसकेको छ ।

तराईलाई देशका अन्य क्षेत्रसँग जोड्ने पूर्वपश्चिम राजमार्ग भएर चल्ने हजारौं सवारीसाधनका यात्रुहरुको खुल्दुली मेटाउँदै राजमार्गमा देख्न सकिने कंक्रिटनिर्मित ठूलो ढिक्का तथा मकवानपुर र बाराको सिमानामा पर्ने एतिहासिक चुरियामाईको मूल मन्दिरबारे सप्रमाण जानकारी सार्वजनिक गरिएको थियो ।

सयौं सवारी र हजारौं यात्रु त्यही बाटो भएर दिनहँु आहोरदोहोर गर्छन् । तर, उक्त कंक्रिटको ढिक्का र यससँग सम्बन्धित नेपालको इतिहास नेपालीलाई नै थाहा छैन । राजमार्गको छेवैमा देख्न सकिने सुरुङको मुख मानिएको कंक्रिट ढिक्का र चुरियामाई मन्दिरमा ठूलो फ्लेक्स राखेर यसबारे जानकारी दिइएको छ ।

उक्त सुरुङमार्ग निर्माण नगरिएको भए चुरे पहाडहुँदै काठमाडौं जोड्ने बाटो बनाउनु बाध्यता थियो । तर, त्यसो गर्नु भौगोलिक हिसाबले सम्भव थिएन । यसकारण सुरुङ खनेर तराईलाई काठमाडौंसम्म जोडिएको थियो ।

सन् १९१७ ताका बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम एतिहासिकस्थल भीमफेदीसँग जोड्ने सडक बनाउने बेला तराईबाट काठमाडौं सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङले त्यस बेला नेपालीहरुको जनजीवनलाई निकै सहज बनाएको थियो ।
पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा लहरैसँग ढुंगाहरु राखिएका छन्, खोपाहरु कुँदिएका छन् । पुरातत्व विभागले सुरुङको ऐतिहासिकता परीक्षण गरिसकेको छ । सुरुङमार्गमा सर्वसाधारणलाई अवलोकन निषेध छ । भुकम्पअघिसम्म हेर्न पाइन्थ्यो । तर, सुरक्षा संवेदनशीलताले बन्द गरिएको छ । उक्त मार्गबाट २०२० सालसम्म सवारी आउजाउ हुने गरेको अग्रजहरु बताउँछन् ।

चुरे पर्वतको काखमा रहेको सुरुङ नेपालीहरुको श्रम, सिप, मेहनत र कला/कौशलको प्रतिविम्ब भएको चुरियामाईका श्यामकुमार बम्जनले बताउनुभयो । गुफामा परिणत भएपछि सुरुङ चर्चामा आउन सकेको छैन । प्रजातन्त्र पुनस्र्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यसक्रममा सुरुङमार्गको बीच खण्डमा विष्फोट गराएर भत्काइयो र त्यसमाथि सडक बनाइयो । सडकछेऊमा देखिएका सुरुङका मुखहरु थुनिए । तर, मन्दिरनजिक सुरुङको मुख्य भाग भने सग्लै छ । सडकपारिको अर्को भागलाई भने कंक्रिटको घर बनाएर बन्द गरिएको छ ।

नेपाललाई राम्ररी चिनेका र सबै ७५ जिल्लामा हिँडेर पुगेका स्वीस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दी हिमालयन किङ्डम अफ नेपाल’ नामक पुस्तकमा सुरुङमार्ग बारे स्पष्ट पार्दै नेपालभन्दा ठूलो भारतले सुरुङ प्रविधि भित्र्याउन नसकेको बेला नेपाल सफल भएकोमा खुशी व्यक्त गरिएको छ ।

नेपालका प्रथम ग्राजुएट सिभिल इञ्जिनियर ब्रिगेडियर जनरल डिल्लीजंग थापाको डिजाइनमा सुरुङ तयार भएको इतिहास छ । थापाले देशका १२ वटा महत्वपूर्ण भौतिक संरचना डिजाइन गर्नुभएको थियो । तत्कालीन नेपालमा बहुचर्चित र प्रयोगमा आएको हेटौंडा—काठमाडौं रज्जुमार्ग ९रोपवे०, १९९० को भुकम्पपछि भत्किएको काठमाडौंको धरहरा र घण्टाघर पुनर्निर्माण, काठमाडौंमा रहेका राणाका दरबारहरु, नेपालको पहिलो रेलवे ९जनकपुर–जयनगर०, राष्ट्रपति भवन शितल निवास र पाँचखाल अड्डाको पुनर्निर्माणका निम्ति डिजाइनिङ गर्नुभएको थियो । उहाँ जगतजंगका नाति हुनुहुन्थ्यो । जगतजंग, राणा प्रधानमन्त्री जंगबहादुरका नाति हुन् ।

थापा, तत्कालीन पूर्वी नेपाल तथा इलामका बडाहाकिम कर्णेल गजराजसिंह थापा तथा श्री ३ जंगबहादुर राणाका ज्येष्ठ सुपुत्री बदनकुमारी थापाका नाति तथा बृक हर्षजंग थापा तथा दीपराजेश्वरी थापाका काहिंला सुपुत्रको रुपमा १९५० मा जन्मिनुभएको थियो । ५२ वर्ष उमेरमा २००२ चैतमा उहाँको निधन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्