एमसीसी भित्रिने डर



वि.सं. २०७८ वैशाख १२ गते यसै नेपाल समाचारपत्रमा राष्ट्रप्रति बफादार र समर्पित व्यक्तिको खोजी भन्ने मेरो रचना आयो । यस राष्ट्रमा राष्ट्रचिन्तकहरु देखेर नै मैले राष्ट्रचिन्तकको खोजी गरें । मैले देखेका राष्ट्रचिन्तक को–को हुन् भने, कुलमान घिसिङ, कृष्ण कण्डेल, विभिन्न स्थानका संवाददाता, क्यामेरा म्यान अनि रमेश खरेल, राजेन्द्र बानिया, चन्द्र बानिया, रवि लामिछाने, जीवराम भण्डारी, ऋषि धमला आदि र उहाँहरुका टिम । उहाँहरु सबैको कार्यशैली अतिभन्दा अति राम्रो देखेर नै उहाँहरुलाई राष्ट्रचिन्तक राजनेताको रुपमा लिन पुगें । जुन बेला यस पत्रिकामा यो लेख आएको थियो, त्यसै बेला यो लेखलाई सकारात्मक वा नकारात्मक जसरी हेर्नुभए पनि क्रिया–प्रतिक्रिया त्यतिखेरै आइदिएको भए मैले अघि सारेको नयाँ विकल्पसहित भौगोलिक बनावटअनुसार राष्ट्रको विकास यसरी गर्न सकिन्छ भन्ने भिजन यहाँहरुसमक्ष राख्ने थिएँ । यस भिजनप्रति सकारात्मक प्रतिक्रिया आएको थियो भने हाम्रो टिम यतिखेर दह्रो पक्षमा उभिन सक्थ्यो होला तर अहिले पछि परिएको छ ।

यतिखेर हामीमाझ निरंकुश लाद्न खोज्ने ओली सरकारलाई सर्वोच्चको परमादेशले ढाली त दियो नै, अर्को डर पैदा गरिदिएको छ, त्यो हो एमसीसी । शेरबहादुर देउवा प्रधांनमन्त्री बन्नु नै एमसीसी पास हुनु हो भन्ने शब्दले म आत्तिएको छु । यस एमसीसी राष्ट्रघाती हो भन्ने सुनेको छु । यस्तो मिलिनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गतको एमसीसी पास हुनबाट रोक्न पनि त परमादेश आऊला नि भनी ढुक्क रहौं । यसबारेमा पनि प्रस्ट पारिदिन न्यायकर्मी सबैमा विनम्र अनुरोध गर्दछु ।

सर्वोच्चका न्यायकर्मीज्यूहरु सबैप्रति अति खुशी व्यक्त गर्न चाहन्छु । किनभने मध्यावधि चुनाव रोकियो । यस चुनावमा लाग्ने १५ अर्ब रुपियाँ जोगिँदा ठूलो योजना बन्छ । त्यो योजनाले गर्दा राष्ट्रले ठूलो फड्को मार्नेछ ।

उठौं–उठौँ राष्ट्रवासी सबै उठौं
एमसीसी पास हुनबाट रोकौं ।
कम्युनिस्टहरुको सरकारबाट
निरंकुश भइन्छ कि भन्ने डर
कांग्रेसबाट एमसीसी भित्रिने डर ।

यस किसिमको डर–त्रासमा बाँच्न हाम्रा बाबुबाजेले विवश हुनुपरेन । आज हामी पर्दै छौं । त्यसैले एमसीसी संसद्बाट पास हुनबाट रोकौं ।

– मीठाराम पौड्याल, जफे–६, दोलखा ।

युवामा देखिएको राजनीतिक चेतना

नेपालमा रोजगार दिन नसक्ने सरकार र सरकारमा संलग्न दलहरूले युवाशक्तिको दुरुपयोय गर्दै आएका छन् । आफ्नो दलमा झन्डा बोकाउने र उनीहरूलाई आफू अनुकूल प्रयोग गर्न रोजगारीका सम्भावना बन्द गरिएको छ । नेपालमा युवाशक्तिले इतिहासबाटै धेरै काम गरेका छन् ।

युवा भनेको समाज बदल्ने सकारात्मक ऊर्जाको मुहान हो । समाज विज्ञानको अथाह शक्तिको स्रोत युवा, जसको साहस, जोश अनि बहादुरीले इतिहासको जन्म हुन्छ । नेपालमा परिवर्तनका लागि भएका हरेक आन्दोलनहरूको अग्रभागमा युवाशक्तिले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । नेपाल र नेपाली जनताको विरुद्धमा उभिनेहरूका विरुद्ध हाम्रा पुर्खाहरूले संघर्ष गरे, आफ्नो रगत सुम्पेर माटोको स्वाभिमान बचाए ।

आज पनि तिनै वीर नेपाली शहीदहरूका सन्तानले नेपाली जनताको अधिकार र स्वाभिमान लिलाम गर्न तम्सिएका विदेशी शासकका दलालहरूको हर्कतविरुद्ध धावा बोलिरहेका छन् । जनभावनाको सम्मान नगर्ने निरंकुश शासकहरूलाई युवाशक्तिले लाठी र खुकुरीको भरमा सत्ताच्यूत गरेको कसैले बिर्सेका छैनन् ।

अहिले पनि शासकहरूको विरुद्ध कठिन, लामा मोडेलको संघर्ष युवाहरूद्वारा जारी गरिएको छ । भ्रष्टाचार, गुन्डागर्दी, दलाल, तस्कर अनि देशलाई अन्धकारतिर धकेल्नेहरूविरुद्ध आज हरेक नागरिकहरूले संघर्ष गरिराखेका छन् ।

जनताको परिवर्तनको चाहनाका बाधक तत्वको समूल नष्ट गर्ने कामको जिम्मेवारी पनि अहिले युवाहरूकै काँधमा आएको छ । यो काम पक्कै पनि बेरोजगार युवाहरूको लागि चुनोतीपूर्ण नै छ । तर दलाल, तस्करहरूसँग नझुकी नेपाली स्वाभिमानी युवाहरू एक कदम अघि बढिसकेका छन् । यो देशका सचेत युवाहरू योजनाबद्धरूपमा ती प्रवृत्तिका विरुद्ध लडाइँ गर्न तयार भएका छन् । तर ती युवालाई बेरोजगार बनाएर सरकारले निकै ठूलो समस्या निम्त्याउने निश्चित प्रायः छ । सरकारमा कुर्सी टिकाउने मात्रै खेल हुँदा पनि अहिले यो समस्या सिर्जना भएको छ । यसको व्यापकरूपमा विरोध गरेर रोजगारीको अवस्था सिर्जना गर्न युवावर्गले दबाब दिन जरुरी छ ।

– रमन थापा, नेपालगन्ज ।

पर्यटन प्रवद्र्धनमा सरकार गम्भीर बनोस्

प्रकृतिले सम्पन्नशाली नेपालजस्तो पर्यटकीय गन्तव्य बोकेको देशमा पर्यटन प्रवद्र्धनजस्तो अति आवश्यक काममा सबैले चासो दिन जरुरी छ । हामीसँग यति धेरै प्राकृतिक सम्पत्ति छ कि शायद अरु देशहरुसँग विरलै होला । जलस्रोतमा त हामी विश्वकै दोस्रो धनी छौं । केही वर्षअगाडिको मरुभूमि, अहिलेको युएई कत्ति पनि प्रकृतिको स्रोत–साधन नभएको राष्ट्र आज विकसित राष्ट्रको सूचीमा अगाडि बढिरहेको छ ।

पर्यटनलाई मुख्य आम्दानीको स्रोत मान्ने कतिपय मुलुकहरु जस्तै– युएई, कतार, सिंगापुर आदिमा राष्ट्रले नै तारे होटल र पर्यटन प्रवद्र्धनसम्बन्धी संरचनामा लगानी गर्दछन् र आम्दनी बढाउँछन् । तर, हाम्रो नेपालमा धनीहरुले ५ तारे होटलमा लगानी गर्दछन् र उनीहरु नै झन् धनी हुन्छन् ।

नेपालमा पनि राष्ट्रको लगानीमा पर्यटकीय ठाउँहरुमा होटल, पार्क इत्यादि खोल्न सकेमा बीएचएम, टुर एन्ड ट्राभल पढेका ९० प्रतिशत विद्यार्थी नेपालमा स्कोप छैन भन्दै बाहिर जानुपर्दैनथ्यो होला । पर्यटन प्रवद्र्धनजस्तो कार्य गर्दा एकातिर युवाका लागि देशमै रोजगारी सिर्जना हुने र देशको आम्दानीको स्रोतमा पनि वृद्धि हुने भएकाले यी धारणाप्रति सरकारको ध्यानाकर्षण हुन जरुरी छ । अब बन्ने नयाँ सरकार यो विषयमा गम्भीर बनोस् ।

– विकास तिवारी, चितवन ।

प्रतिक्रिया दिनुहोस्