धुलिखेलमा शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको पहिचान र परीक्षण



मोतीराम तिमल्सिना, काभ्रे ।

बालमैत्री घोषणा भएको धुलिखेल नगरपालिकाले नगरपालिका भित्र रहेका शारिरिक अपाङ्गता भएका बालबालिकाहरुको पहिचान गरी उनिहरुको उपचार र सहायता सामाग्री उपचार गरेको छ । नगरपालिकाले अपाङ्ग बाल अस्पतालको सहयोगमा एक दिने शिविर आयोजना गरी पहिचान भएका बालबालिकाहरुलाई स्वास्थ्यसँग सम्वन्धित समस्याका साथै आवश्यकता अनुसारको सहायता सामाग्री उपलब्ध गराएको हो ।

‘धुलिखेल नगरपालिकाले अपाङ्गता भएका बालबालिकाहरुलाई आवश्यक सहयोग उपलब्ध गराउने छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘अपाङ्गता भएका बालबालिकाहरुको अवस्था के छ ? कति बालबालिकाहरु कस्तो अवस्थाको अपाङ्गता भएका छन् ? त्यसको पहिचान गरिएको छ । पहिचान पछि उपचार तथा अन्य सहायता सम्वन्धी योजना निर्माणमा सहयोग पुग्नेछ ।’

धुलिखेल नगरपालिकामा शारिरिक अपाङ्गता भएका बालबालिकाहरुको संख्या १ सय ७१ रहेको छ । त्यसमा कान नसुन्ने, अटिजम भएका तथा आँखा नदेख्ने बालबालिकहरु जोडिएका छैनन । शारिरिक अपाङ्गता भएका बालबालिकाहरुको पहिचान भईसकेकाले अब अन्य समुहका बालबालिकाहरुको पहिचान गरी आवश्यता अनुसारको सेवा उपलब्ध गराउने योजना बनाईएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

एक दिने शिविरमा विभिन्न समस्याका बालबालिकाहरु सहभागि भएका थिए । अपाङ्गता भएका ब्यक्तिहरुको शिविर रहेको जानकारी पाए पछि बयस्क ब्यक्ति पनि हात टेकेर आफन्तको सहयतामा शिविरमा आईपुग्नु भएको थियो । ‘शारिरिक अपाङ्गता भएका बालबालिकाहरुको पहिचान एवं परिक्षणका लागि स्वास्थ्य तथा पुनस्र्थापना घुम्ती शिविर संचालन गरिएको छ’–उपप्रमुख विमला शर्माले भन्नुभयो–‘ उनीहरुले ब्यवसाय संचालन गर्न सकेको अवस्थामा नगरपालिकाको तर्फबाट सिप तथा अन्य सहयोग उपलब्ध गराईनेछ ।

त्यसका लागि नगरपालिकाले अपाङ्ग परिषद् नै गठन गरी कार्य गरिरहेको छ ।’ अपाङ्गता भएका ब्यक्तिहरुको नियमित स्वास्थ्य परिक्षण गर्ने, परिचयपत्र वितरण गर्ने, उनिहरुले प्राप्त गर्ने सहायतामा सहजिकरण गर्ने, सिप सिकाउने, आयआर्जनमा सहयोग पु¥याउने कार्य हुँदै आएको नगरपालिकाले जानकारी दिएको छ ।

शिविरमा अपाङ्ग अस्पतालका चिकित्सकहरुले शारिरिक अपाङ्गता भएका बालबालिकाहरुको परिक्षण गरेका थिए । परिक्षणसँगै आवश्यकता अनुसारको सहयता सामाग्री वितरण गरेका थिए । घुम्ती शिविर धुलिखेलको सञ्जिवनी विद्यालयमा आयोजना गरिएको थियो । आवश्यकता अनुसार अन्य वडाहरुमा पनि शिविर सञ्चालन गर्ने धुलिखेल नगरपालिकाले जानकारी दिएको छ ।

कार्यक्रममा नगरपालिका योजना शाखा प्रमुख पुजा काफ्ले, सामाजिक विकास शाखा प्रमुख विदुर गौतम, वडा अध्यक्षहरु, अस्पतालका नित्रबहादुर देउजा लगायतको सहभागिता रहेको थियो । धुलिखेल नगरपालिकाले स्वस्थ शहर कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रम अन्र्तगत हरेक ब्यक्तिको स्वास्थ्यका बारेमा प्रोफाईल तयार गरी ब्यक्ति स्वस्थ रहन खानपान, रहनसहन जस्ता विषयमा नगरपालिका र नागरिकहरुले गर्नु पर्ने सुधारका बारेमा योजना निर्माण गरी कार्यान्वयनका लागि छलफल प्रारम्भ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्